Health TV Online
Health TV Online
Health TV Online

औषधि निर्माता कम्पनीले दुर्व्यसन फैलाएकाे अमेरिकी अदालतकाे ठहर

५७ करोड ७२ लाख डलर जरिवानाकाे आदेश

औषधि निर्माता कम्पनीले दुर्व्यसन फैलाएकाे अमेरिकी अदालतकाे ठहर

ओपिओइडको लत लाग्ने संकट निम्त्याउन दोषी रहेको भन्दै अमेरिकी एक अदालतले बहुराष्ट्रिय औषधि निर्माता कम्पनी जन्सन एन्ड जन्सनलाई ५७ करोड ७२ लाख डलर जरिवानाकाे आदेश सुनाएको छ।

न्यायाधीश थाड बाल्कम्यानले जन्सन एन्ड जन्सनले उत्पादन गरेका पेनकिलर(दुखाइ कम गर्ने औषधि) को भ्रामक प्रचारप्रसारमार्फत् सर्वसाधारणलाई ओपिओइडको कुलतमा फसाउन जिम्मेवार भएको ठहर गरेका हुन्।

ओपिओइड निर्माता र वितरकविरुद्ध लगाइएका हजारौँ मुद्दामध्ये सुनुवाइमा गएको यो पहिलो मुद्दा हो। यस्तै खाले अरू दुई हजारवटा मुद्दाको सुनुवाइ आगामी अक्टोबर महिनामा ओहायो राज्यमा हुँदैछ।

‘त्यस्तो कार्यले गर्दा हजारौँ ओक्लाहोमावासीले आफ्नो स्वास्थ्यसँग सम्झौता गरे। ओपिओइड संकट ओक्लाहोमावासीका लागि संघारमै रहेको खतरा हो’, उनले आदेशमा भनेका छन्।

उनले जन्सन एन्ड जन्सनले तिर्ने रकम ओपियोइडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने बताए।

अदालतबाट निर्णय आउनेबित्तिकै जन्सन एन्ड जन्सन कम्पनीले त्यसविरुद्ध पुनरावेदन दिने जनाएको छ।

मृत्युको कारक

अमेरिकाको रोग नियन्त्रण निकायको तथ्याङ्कअनुसार सन् १९९९ देखि २०१७ सम्म ओपिओइडको अत्यधिक मात्राको प्रयोगका कारण चार लाख मानिसहरूको मृत्यु भएको थियो।

सन् २००० यता झण्डै छ हजार ओक्लाहोमावासीले ओपिओइड बढी मात्रामा प्रयोग गरेका कारण ज्यान गुमाएका उक्त राज्यका वकिलहरूले बताएका छन्।

बीबीसी नेपालीबाट

थप समाचार