Health TV Online
Health TV Online
Health TV Online

भाइरल ज्वराेका बिरामीले भरिँदै अस्पताल

भाइरल ज्वराेका बिरामीले भरिँदै अस्पताल

बाँके : जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ। गर्मी र वर्षाका कारण भाइरल ज्वरोका बिरामीले अस्पतालका शय्या भरिएका छन्।

उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने लगायतका लक्षण भएका बिरामी धेरै रहेको भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले जानकारी दिए। उनका अनुसार बिरामीको चाप बढेपछि एउटै बेडमा दुई बिरामी राखेर उपचारसमेत गर्नुपरेको छ।

‘मौसमी ज्वरोको समस्या पनि देखिएको छ, फाट्टफुट्टरूपमा स्क्रब टाइफसको समस्या पनि देखिएको छ’, उनले भने, ‘अहिले औसतमा हरेक दिन भेरी अस्पतालमा ४०\५० भाइरल ज्वरोका बिरामी आउने गरेका छन्, बिरामीको चाप धेरै भएकाले कुनै पनि वार्ड खाली छैन।’ अस्पतालको आकस्मिककक्षमा समेत एउटै शय्यामा दुई\तीन बिरामी राखेर उपचार गराउनुपर्ने अवस्था छ।

यी समस्याबाट सबैभन्दा धेरै गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी प्रभावित भएका उनले बताए। बिरामीको चाप धेरै भएकै कारण अस्पतालमा बिरामी थपिए भर्ना गरेर राख्न सकिने अवस्था नरहेको अस्पतालले जनाएको छ।

यो समयमा आउने ज्वरो अन्य समयको भन्दा जोखिमयुक्त हुने हुँदा समस्या देखिनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिएर औषधोपचारमा लाग्न चिकित्सकको सुझाव छ । भाइरल ज्वरोबाट सबैभन्दा धेरै बालबालिका प्रभावित भएका बाल विशेषज्ञ डा. रोमा बोहराले बताइन्।

उनका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा दैनिक ५० प्रतिशत भाइरल ज्वरोबाट प्रभावित बालबालिका आउने गरेका छन्। बालबालिकामा रुघाखोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या अधिक देखिएको डा. बोहराले जानकारी दिइन्। ‘भाइरल ज्वरोकै कारण बालबालिकामा निमोनिया र स्वाइनफ्लुको खतरा बढ्न सक्ने देखिएको छ’, उनले भनिन्।

शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि यसको संक्रमण उच्च देखिएको छ। खासगरी वर्षाको समयमा पिउने पानीको मुहान दूषित हुने कारणले पनि पानीजन्य ज्वरोका बिरामी उत्तिकै बढेको चिकित्सककाे भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार