वंशाणुगत रोगको सम्पूर्ण परीक्षण अब नेपालमै
काठमाडौं: वशांणुगत रोगसम्बन्धी सम्पूर्ण परीक्षण अब नेपालमै हुने भएको छ । नोभा इन्टरनेशनल डाइग्नोस्टिकले अत्याधुनिक प्रविधि सहितको ल्याब स्थापना गरेसँगै वंशाणुगत रोगको सम्पूर्ण परीक्षण नेपालमै सम्भव भएको हो ।
ललितपुरको कुसुन्तीमा रहेको ल्याबमा डाउन सिन्ड्रोम, मस्कुलर डिस्ट्रोफी लगायतका वंशाणुगत रोग सजिलै पहिचान गर्न सकिने वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले बताइन । उनले भनिन, ‘नेपालमा यस प्रकारको अत्याधुनिक प्रविधिसहितको नोभा इन्टरनेशनल डाइग्नोस्टिक पहिलो हो जसमा धेरै प्रकारका परीक्षण गर्न सकिन्छ जुन यस अघि भारत लगायत अन्य देशमा पठाउने गरिन्थ्यो ।’
हालसम्म वंशाणुगत रोगसम्बन्धी सामान्य केही परीक्षण बाहेक अन्य सबै परीक्षणका लागि बाहिर पठाउन बाध्य भएको पनि डा ठाकुरले जिकीर गरिन्। देश भित्रै सेवा नभएपछि महंगो शुल्क तिरेर सेवा लिन बिराम्मी पनि बाध्य थिए । तर यो सेन्टरको स्थापनासँगै अब भने कुनै पनि जाँचका लागि विदेश पठाउन नपर्ने पनि डा ठाकुरले दाबी गरिन्। डा ठाकुरकै प्रयासमा वीर अस्पतालमा वंशाणुगत रोगको ल्याब स्थापना गरिएको भए पनि उक्त ल्याबमा सिमीत मात्रामा मात्रै केही जाँचहरु हुँदै आएको छ ।
यस अत्याधुनिक ल्याबमा स्तन क्यान्सर हुन सक्ने सम्भावना छ वा छैन भनेर हेर्ने ब्राका १ र ब्राका २ जाँच, बच्चा खेर गइरहने समस्या किन हुन्छ भनेर गरिने जाँच, पेटमा भएको बच्चामा कुनै रोग छ की छैन भनेर गरिने जाँच यसैगरी आइभीएफ गर्दा कुन चाहिं भ्रुण सबैभन्दा बढी सुरक्षित छ लगायतका जाँच गरिने पनि डा ठाकुरले जानकारी दिइन्।
स्थापनाको अवसरमा नोभाले एक महिनाका लागि आफना सबै बिरामीलाई सबै प्रकारका जाँचमा २५ प्रतिशत छुट दिएको संस्थाका अध्यक्ष डा उज्वल ठाकुरले जानकारी दिए । युवापुस्ताका विशेषज्ञ टिम लिएर स्थापना भएको नोभा इन्टरनेशनल डाइग्नोस्टिकले शनिबारदेखि आफनो सेवा शुरु गरेको हो ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त