Health TV Online
Health TV Online

भक्तपुर क्यान्सर अस्पताल : पुरानाे व्यवस्थापन समिति भंग, नयाँ गठन

भक्तपुर क्यान्सर अस्पताल : पुरानाे व्यवस्थापन समिति भंग, नयाँ गठन

भक्तपुर : अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ।

नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र नं १ का सङ्घीय सांसद प्रेम सुवाल र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँ सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्ष रवीन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेको समिति गठन गरेको हो।

नेपाल अर्बुद रोग निवारण संस्थाका नाममा अस्पताल सञ्चालन गरी वर्षौँदेखि अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडाको मिलेमतोमा अनियमितता भएको गुनासो बढेपछि नगरपालिकाले पुरानो समिति खारेज गरी नयाँ समिति गठन गरेको हो।

अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरी गठन गरिएको समितिमा नेपाल अर्बुद रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य छन्। समितिमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षकलाई आमन्त्रित सदस्यका रूपमा चयन गरेको नगरप्रमुख प्रजापतिले जानकारी दिए।

लोकेन्द्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको व्यवस्थापन समितिका पदाधिकारीबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको सञ्चारमाध्यम, कर्मचारी र स्थानीय बासिन्दाबाट व्यापक गुनासो आएको र त्यसविरुद्ध स्थानीय जनता तथा अस्पतालका चिकित्सक एवं कर्मचारीबाट संघर्ष भइरहेको जानकारी पाएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गरिएको नगरप्रमुख प्रजापतिले बताए।

स्थानीय जनताप्रति उत्तरदायी रही बिरामीलाई कम शुल्कमा स्तरीय उपचार गर्नुपर्नेमा व्यवस्थापन समितिमा रहेका केही व्यक्तिले व्यक्तिगत स्वार्थ पूरा गर्न भ्रष्टाचार गरेको नगरप्रमुख प्रजापतिले बताए। यो विषयमा पटकपटक व्यवस्थापन समितिका पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि अस्पतालको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी नगर कार्यपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको उनको भनाइ छ ।

नगरप्रमुख प्रजापतिले अस्पतालभित्र भइरहेको भ्रष्टाचार र आर्थिक अनियमितताको विरोधमा सङ्घर्षरत स्थानीय जनता, भक्तपुर क्यान्सर अस्पताल कर्मचारी, कल्याणकारी समिति र भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको सञ्चालन एवं व्यवस्थापनको जिम्मेवारी लिन नगरपालिकामा लिखित अनुरोध पत्र आएकाे बताए। त्यसपछि अस्पताललाई व्यवस्थित ढङ्गबाट सञ्चालन तथा बिरामीलाई स्तरीय उपचार सेवा प्रदान गर्न पुरानो समिति भंग गरी नयाँ समिति गठन गर्ने निर्णय गरेकाे उनकाे भनाइ छ।

क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाले ११ रोपनी जग्गा प्रदान गरेकाे थियो।  २०५३ मा तत्कालीन नगर प्रमुख प्रेम सुवालसमेत रहेको समिति र त्यसपछि पनि नगरपालिकालाई समितिमा राखे पनि कुनै पनि बैठकमा नबोलार्को नगरपालिकाको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार