Health TV Online
Health TV Online

अस्पतालमा पनि डेंगुकाे डर : झुल टाँगेर उपचार

अस्पतालमा पनि डेंगुकाे डर : झुल टाँगेर उपचार

झापा : दमकमा तीन महिनाअघि देखा परेको डेंगु रोग अझै नियन्त्रणमा आएको छैन। अहिले दमकका विभिन्न अस्पतालमा डेंगुका बिरामीको सङ्ख्या १२० नाघेको छ।

दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार बिरामीहरूकाे उपचार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका  भइरहेकाे छ। डेंगुको संक्रमणले महामारीको रूप लिएपछि अहिले बिरामीलाई अस्पतालमा झुल टाँगेर राखिएको छ। लामखुट्टेबाट जोगाउन बिरामीलाई झुल टाँगेर उपचार शुरु गरिएको लाइफलाइन अस्पतालमा कार्यरत डा. खुश्वु प्रियाले बताइन्।

‘डेङ्गुका बिरामीलाई टोकेको लामखुट्टेले अरुलाई नटोकोस् र डेङ्गु नसरोस् भनेर झुल टाँगेर अपचार शुरु गरेका हौँ’, उनले भनिन्। डा. प्रियाले दमक आसपासको क्षेत्रमा यो रोगको सङ्क्रमण फैलिएकाले सबैलाई सचेत रहन आग्रह गरिन्। तीन वर्षअघि पनि दमक क्षेत्रमा डेंगु रोग देखापरेको थियो।

डेंगु रोग फैलिएपछि दमक नगरपालिकाले दमक अस्पतालमा आएका सबै बिरामीको निःशुल्क उपचार गराउँदै आएको छ । निजी अस्पतामा पनि संक्रमितको निःशुल्क उपचारको पहल गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए। ‘डेंगुको सङ्क्रमण भेटिए दमक अस्पताल पठाइदिन आग्रह गरेका छौँ’, उनले भने।

नगरपालिकाले प्रदेश सरकारसँग डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक पहलको माग गरेको छ। अहिले दमक अस्पतालमा २४, एडभान्समा ३४, आम्दामा ३१ र लाइफलाइनमा ३१ डेंगु सङ्क्रमितको उपचार भइरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार