Health TV Online
Health TV Online

नेत्रज्योति संघको उदयपुर शाखामा आधुुनिक उपकरण

नेत्रज्योति संघको उदयपुर शाखामा आधुुनिक उपकरण

उदयपुर : संघीय सरकार स्वास्थ्य विभागले एक करोड रूपैयाँ दिएसँगै नेत्रज्योति संघको उदयपुर शाखामा आधुुनिक उपकरणको व्यवस्थापन भएको छ।

सरकारले आधुनिक मेसिन तथा उपकरण खरिद गर्न व्यवस्थापन गरेको एक करोड रुपैयाँले जापानबाट १६ प्रकारका आधुनिक मेसिन तथा उपकरण खरिद गरेको संघका अध्यक्ष भागवत राउतले बताए।

अपरेसन माइक्रोस्कोप, फेको मेसिन, स्क्यान मेसिन, डेहुमिडिफाइर, आँखा शल्यक्रिया बत्तीसहितका उपकरण, ट्रायल लेन्स र फ्रेम, रेटिनोस्कप, आधुनिक टर्चलाइट, नाइन्टी डी, लेन्ससहितका उपकरण खरिद गरिएको हो। यस्तै भेजिन ड्रम, अटोर्याफिक मिटर, लेन्ससोमिटरलगायत  जापानबाट खरिद गरिएको हो।

२०६७ बाट सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको सहयोगमा प्राथमिक आँखा उपचार केन्द्रका लागि स्थापना गरेर सञ्चालन हुँदै आएको संघले आगामी मङ्सिरदेखि आँखाको शल्यक्रिया मोतियाविन्दु तथा जलविन्दुसहितको उपचार शुरु गर्ने लक्ष्यका साथ विभिन्न आधुनिक उपकरण व्यवस्थापन गरेको सङ्घका सदस्य ज्ञानबहादुर बस्नेतले बताए।

नेत्रज्योति संघलाई आधुनिक ढङ्गबाट व्यवस्थापन गरेर सङ्घको उपचार सेवाको क्षमतामा स्तरोन्नति गर्दै प्राथमिक उपचार सेवाबाट ‘सेकेन्डरी’ सेवा सञ्चालन गर्नका लागि अहिले २० कोठासहितको तीनतले नयाँ भवन निर्माण सम्पन्न हुन लागेको सङ्घ व्यवस्थापन समितिका सदस्य सिर्जना दनुवारले बताइन्।

त्रियुगा नगरपालिकाले उपलब्ध गराएको गाईघाट बोक्सेको एक बिघा जग्गामा जापानी राजदूतावासको ९० लाख आर्थिक सहयोग तथा उदयपुरबाट पूर्वभौतिक निर्माण राज्यमन्त्री मञ्जुकुमारी चौधरीको ४० लाख रुपैयाँ सहयोग र अन्य दाताको आर्थिक सहयोग गरी एक करोड ८१ लाखमा नयाँ भवन निर्माण हुन लागेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार