Health TV Online
Health TV Online

‘रेडक्रसमाथि राजनीति भयाे’

‘रेडक्रसमाथि राजनीति भयाे’

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले अकस्मात केन्द्रीय सभा स्थगन गर्नुपर्दा मर्माहत भएको प्रतिक्रिया दिएको छ। मंगलबार पत्रकार सम्मेलन गरी रेडक्रसले मंगलबार काभ्रेको बनेपामा बस्ने गरी बोलाइएको केन्द्रीय सभा प्रशासनका कारण स्थगन भएको गुनासो गरेको हो।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले पठाएको निर्देशनात्मक पत्रकै कारण केन्द्रीय वार्षिक साधारणसभा रोकेको बताए। अध्यक्ष थापाले प्रशासन कार्यालयको पत्रबमोजिम साधारणसभा स्थगन गरी स्पष्टीकरण पनि पठाएको जानकारी दिए।

केन्द्रीय वार्षिक साधारण सभा बोलाएर रेडक्रसको वार्षिक बजेट तथा कार्यक्रम, रणनीति र रेडक्रस कानुनको विषयमा छलफल गर्ने योजना भए पनि अदालतमा अन्तिम फैसला हुन बाँकी अवस्थामा जिल्ला प्रशासन कार्यालयले सभा रोक्न निर्देशनात्मक पत्र पठाएकोप्रति उनले आपत्ति जनाए।

५६ वर्ष लामो इतिहास बोकेको र वार्षिक २५ लाख मानिसको सेवामा खट्दै आएको सामाजिक संस्थामाथि राजनीति गर्न खोजिएको छ’, उनले भने, लगातार दुईपटक सभा रोकिँदा हामीले अन्यायमा परेको महसुस गरेका छौँ।’

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनात्मक पत्रका कारण वैशाख २३ देखि २५ गतेसम्मका लागि तयारी भएको ४८ औँ महाधिवेशन र निर्वाचन रारोकिएको थियो। त्यसलगत्तै सरकारले निर्वाचित समिति भंग गरी तदर्थ समिति बनाएपछि रेडक्रसका निर्वाचित पदाधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले सरकारको निर्णयविपरित निर्वाचित समितिलाई नै पूर्ववत अवस्थामा नियमित काम गर्न दिनु भन्दै आदेश जारी गरेको अध्यक्ष थापाले स्मरण गरे। सोही बमोजिम आफूहरुले नियमित कामकारवाही अन्तर्गत साधारणसभा गर्न लागेको उनले बताए।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वा, कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, रेडक्रसको अन्तराष्ट्रिय महासंघका प्रमुख हार्भेलगायत सहभागी थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार