Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अख्तियारमा उजुरी परेपछि राति सामान झार्दै पाटन अस्पताल

अख्तियारमा उजुरी परेपछि राति सामान झार्दै पाटन अस्पताल

काठमाडौं : बिना टेन्डर करोडौँको सामान खरिद गरिएको भन्दै अख्तियारमा उजुरी परेपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल उपकरण लगायतका सामान राति ल्याउन थालेको पाइएकोे छ।

अख्तियारमा उजुरी परेको एक साता बित्न लाग्दा समेत प्रतिष्ठानका रजिस्टार डा. पारस आचार्य र अन्य केही पदाधिकारीको मिलेमतोमा सामान ल्याउने काम अझै रोकिएको छैन।

स्रोतका अनुसार निक साइमन्स नामक संस्थाबाट अनुदानमा आएको सामान कसैले नदेख्ने गरी राति झार्ने गरिएकाे छ। नियत सफा नभएका कारण यति धेरै र महंगा सामान आएकाे देख्दा कसैले प्रश्न गरी हाल्छ कि भनेर धमाधम रातको समयमा झार्ने गरेको आरोप उनीहरूलाई लागेको छ।

प्रतिष्ठानका रजिष्टार आचार्य, डीन डा. सृजना श्रेष्ठ, अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्मा र अस्पतालका खरिद शाखाका केही कर्मचारीको मिलेमतोमा आफूखुशी सामान खरिद गरिरहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार निक साइमन्सले झण्डै डेढ अर्ब बराबरको सामान पाटन अस्पताललाई दिने सम्झौता भएको छ। तर यही विषयमा रजिष्टार आचार्यलाई सम्झौता कति रकमको भएको भनेर बुझ्न खोज्दा उनने यसबारे खुलाउन चाहेनन्। उनले भने, ‘साइमन्सले हामीले माग गरे अनुसार सामान दिएको हो। तर रकम कति हुन्छ भन्ने थाहा भएन।’ उनले निक साइमन्सले सिधै सामान दिएकाले अनियमितताको प्रश्नै नउठ्ने समेत जिकीर गरे।

तर यता नाम नबताउने शर्तमा एक जना चिकित्सकले भने, ‘अस्पतालले लुकेर सामान किन ल्याउँदैछ, हामी पनि अचम्ममा छौँ। दुई दिनअघि पनि आईसीयू बेडदेखि थुप्रै सामान आएको छ। सामान हेर्दा झण्डै ६०\७० करोड भन्दा बढीको होला।’

अनुदानमा आएको सामानका लागि कम्पनी छान्ने काम अस्पतालका पदाधिकारीले गरेको र पैसा तिर्न निक साइमन्सलाई लगाइएको हेर्दा मेडिकल उपकरण सप्लायर्स कमपनीसँग उनीहरूको  ठूलो साँठगाँठ रहेको स्रोतको दाबी छ। ‘यदि सामान डोनेसनमा आएको हो भने कागजात अस्पतालले किन बनाइदिन पर्यो? कम्पनी छान्ने काम किन गर्न पर्यो? यो सबै कर्मचारीको आँखामा छारो हाल्ने काम भएको छ’, स्रोतले भन्यो।

यसमा निक साइमन्सका कर्मचारीको पनि मिलेमतो भएको हुनसक्ने पनि आशंका गरिएको छ। यही विषयलाई लिएर गत साता अख्तियारमा उजुरी समेत परेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार