बकुलहर अस्पतालमा अन्तरङ्ग सेवा
चितवन : पूर्वी चितवनमा रहेको सरकारी बकुलहर रत्ननगर अस्पतालमा भदौदेखि बिरामी भर्ना सुविधा दिइने भएको छ। १५ शय्याको सो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेका अनुसार सो क्षेत्रका बिरामीलाई सुविधा दिलाउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको हो। अस्पतालमा स्थानीयवासीले धान्याञ्चल महायज्ञ लगाएर निर्माण गरेको एउटा भवन रहेको छ।
यसैगरी शान्ति मेड नामक गैरसरकारी संस्थाका डा. रुथले हालै ६ करोड रूपैयाँ लगानी गरेर अर्को भवन बनाएका छन्। चर्मरोग विशेषज्ञ डा. रुथको नेतृत्वमा अन्य दुई चिकित्सकबाट अस्पतालमा छालाको बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ। दैनिक छालाका मात्रै एक सय बिरामी उपचारका लागि आउने गरेको डा. बगालेको भनाइ छ।
यससँगै दाँत, प्रसूति र बालबालिकालाई लक्ष्य गरी बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ। अस्पतालले ४५ जनाको मिर्गौलाको डायलासिससमेत गर्दै आएको छ। अस्पतालमा प्रसूति सेवासमेत सञ्चालन हुँदैआएको छ। मासिक ३० भन्दा बढी महिलाले प्रसूति सेवा लिने गरेको उनले जनाकारी दिए।
नवजात शिशु उपचार केन्द्रसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको डा. बगालेले बताए। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउन पहल गरिएको उनकाे भनाइ छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त