Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नियमविपरीत सञ्चालित मेडिकलमै हुन्छ निर्वाध उपचार

नियमविपरीत सञ्चालित मेडिकलमै हुन्छ निर्वाध उपचार

जाजरकोट : गाउँगाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ। मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान भए पनि यहाँका धेरैजसो मेडिकल पसल नियमविपरीत सञ्चालन भइरहेका छन्।

स्वास्थ्यसम्बन्धी सामान्य तालिम लिएकाले पनि मेडिकल सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायले यसतर्फ कुनै चासो नदिँदा गाउँ–गाउँमा अवैध तरिकाले खुलेका मेडिकलले उपचार गरिरहेका छन्। त्यसरी खुलेका कतिपय मेडिकलले साइनबोर्डसमेत राखेका छैनन्।

सरकारी स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी र औषधि नहुँदा सर्वसाधारण उपचारका लागि अवैधरूपमा खुलेका निजी मेडिकल धाउन बाध्य छन्।

चिकित्सकको अनुमतिबिना कडा खालका एन्टिवायोटिक औषधि बिक्री गर्नै मिल्दैन, तर जाजरकोटका मेडिकलवालाले आफैँ बिरामी जाँच गर्ने र मनोमानी तरिकाले औषधि दिने गरेका छन्। धेरैजसो मेडिकल सञ्चालकले अहेबको कोर्ष पढेका छन्। उनीहरूले बिरामीको स्वास्थ्य परीक्षण नै गर्न मिल्दैन। जिल्ला अस्पतालका भूपेन्द्रप्रकाश मल्लका अनुसार फार्मेसी पढेकाले मेडिकल राख्न पाउँछन् तर उनीहरूले पनि बिरामीको उपचार गर्न पाउँदैनन्।

जाजरकोटवासी स्वास्थ्य सेवा र पहुँचको हिसाबले निकै पछाडि छन्। तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य केन्द्र  छन् । भौगोलिक विकटताले स्वास्थ्य संस्था पुग्न छ घण्टा बढी समय लाग्छ।

छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने केही ठाउँबाहेक अन्य गाउँमा सडकको पहुँच पुग्न सकेको छैन। जिल्लाका ८० प्रतिशत भू–भागका बासिन्दा पैदल हिँड्नुको विकल्प छैन। नजिकै रहेका मेडिकलमा गएर उपचार गर्नुपर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका–४ रावतजिरीका प्रसाद बोहोराले बताए।

स्वास्थ्य संस्था स्थानीय तह मातहतमा हस्तान्तरण भएसँगै स्वास्थ्य क्षेत्र झनै तहसनहस भएको सरोकारवालाको भनाइ छ। स्थानीय तहले अवैध तरिकाले खुलेका मेडिकल व्यवस्थित गर्नतर्फ चासो नदेखाउँदा उनीहरूको मनोबल बढेको छेडागाड नगरपालिका–८ का अर्जुन अधिकारीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार