भरतपुर अस्पतालकाे सेवा विस्तार गर्न माग
चितवन : उपचारका लागि भरतपुर अस्पतालमा आउने बिरामीको संख्या उल्लेख्य वृद्धि भएको छ। बिरामीको संख्या बढे पनित्यसअनुसारको पूर्वाधार नहुँदा व्यवस्थापन गर्न कठिन भएको अस्पतालले जनाएको छ।
सीमित स्रोतसाधनमा धेरै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यतासँगै अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयमा सेवा विस्तारका लागि बजेट माग गरेको छ। गत वर्ष केन्द्रीयस्तरको अस्पतालको मान्यता पाएर पनि बजेट नपाएको यहाँको भरतपुर अस्पतालले २४ करोड रूपैयाँ निकासा गर्न र दरबन्दी थपका लागि प्रक्रिया अघि बढाउन माग गरेको हो।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार बिरामीको चाप निकै बढेपछि उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी अस्पतालको समग्र अवस्थाको बारेमा जानकारी गराइएको हो।
‘आइतबार बहिरङ्ग सेवामा एक हजार ६८८ बिरामीले टिकट काटेका थिए’, उनले भने, ‘ती सबैको एकै दिनमा उपचार गर्न सेवा विस्तार गर्नुपर्ने भएकाले मन्त्रीलाई भेट गरी सेवा विस्तारका लागि आग्रह गरेका छौँ।’
तिवारीका अनुसार मन्त्री यादवले केन्द्रीय अस्पताल भएकाले तत्काल सेवा विस्तारका लागि आवश्यक बजेट विनियोजन गरी अख्तियारी दिने आश्वासन दिएका छन्। केन्द्रीय अस्पतालमा पनि बिरामीको आधारमा बजेट उपलब्ध गराउन माग गरेको तिवारीले बताए।
यसैगरी अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओएनएम) सर्भे गरेर दरबन्दी थप गरिदिन पनि मन्त्रालयमा माग गरिएको छ। कर्मचारी समायोजनपछि यो प्रक्रिया अघि बढ्ने मन्त्री यादवले आश्वासन दिएको तिवारीले जानकारी दिए।
यहाँको सेवा चित्त बुझेकै कारण बिरामी बढिरहेको तिवारीको बुझाइ छ। ‘सेवाग्राहीलाई अस्पतालले साधनस्रोतले भ्याएसम्मको सेवा दिइरहेको छ’, उनले भने, ‘हामीले भएका साधन र जनशक्तिले भ्याएसम्मको सेवा बिरामीलाई दिइरहेका छौँ।’





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित