‘सबै सर्प विषालु हुँदैनन्’
पाल्पा : विशेषज्ञहरूले सबै सर्प विषालु नहुने र तिनले टोक्दैमा मानिसको मृत्यु नहुने बताएका छन्।
प्रदेश ५ र गण्डकी प्रदेशको बिचमा रहेको उत्तरवाहिनी क्षेत्रमा भएको कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै ‘सर्प बचाऊँ सर्पबाट बचौँ’ अभियानका अभियन्ता डा. प्रमोद ढकालले सर्प मानिसको साथी भएको बताए।
‘सर्पले इकोलोजिकल सिष्टममा सहयोग पुर्याइरहेको हुन्छ। हामी सर्प देख्ने बित्तिकै आत्तिन्छौँ। भाग्छौँ। मार्छौँ’, उनले भने, ‘यसरी उत्तेजित हुनु हुँदैन। सर्पले जीवनयापनका लागि हिँडडुल गरिरहेको हुन्छ। यसले केही गर्दैन।’
भेरी अस्पताल नेपालगञ्जका डा. कृष्णप्रसाद आचार्यले सर्पबाट बच्न धेरै कुरा बुझ्न आवश्यक रहेको बताए। उनले भने, यदि सर्पलाई हानिनोक्सानी पुर्याउन खोज्यौँ भने त्यसको प्रतिक्रियास्वरूप टोक्नु वा आक्रमण गर्नु स्वभाविक हो।’
सर्पबाट बच्न झुल लगाएर सुत्ने, अध्याँरोमा लाइट बालेर हिँड्ने, प्वालहरूमा हात नहाल्ने, जुत्ता तथा चप्पल लगाउँदा हेरेरमात्र लगाउने गर्नुपर्ने उनको भनाइ छ।
‘वन जंगलमा जाँदा पूर्वसावधानी अपनाउनु आवश्यक हुन्छ’, उनले भने, ‘सर्पले टोकिहाल्यो भने पनि आत्तिनु हुँदैन। तत्काल नजिकको स्वास्थ्य संस्थामा जानु उत्तम हुन्छ।’ डा. आचार्यले ८० प्रतिशत सर्प विषालु नहुने भएकोले सर्पले टोक्ने बित्तिकै आत्तिनु नहुने बताए।यसकाे उपचार सम्भव रहेको उनकाे भनाइ छ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले ‘इकाेलाेजी सिस्टम’ बुझेर नै परापूर्वकालमा ऋषिमुनिले सर्प संरक्षण गर्न नागपञ्चमी मनाउँदै आएको बताए।
अभियान सञ्चालन गर्दै आएका धार्मिक गुरु चैतन्य कृष्णले नागपञ्चमीलाई अन्तर्राष्ट्रिय सर्प दिवसका रुपमा मनाउन कार्यशाला आयोजना गरिएको बताए। जुलाई २६ नभई श्रावण शुक्ल पञ्चमीलाई सर्प दिवसको रूपमा मान्यता दिनुपर्नै उनकाे भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?