Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा आकस्मिक अनुगमन

अस्पतालमा आकस्मिक अनुगमन

भक्तपुर : भक्तपुर नगरपालिका अनुगमन समितिले वडा नं १ मा रहेको भक्तपुर क्यान्सर अस्पताल र सल्लाघारीमा रहेको डा. इवामुरा मेमोरियल अस्पतालमा आकस्मिक अनुगमन गरेको छ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार अनुगमन गरेको हो। अनुगमनका क्रममा क्यान्सर अस्पतालले १०० शय्याको स्वकृति लिई १४२ शय्या सञ्चालन गरेको पाइएको छ। यहाँ ३०० कर्मचारी कार्यरत रहेका छन्।

रगत क्रसम्याच मेसिन राख्नुपर्ने ठाउँ र मानव संशाधनको अभावमा सेवा प्रवाह प्रभावित भएको, रेडियो थेरापीमा जनशक्ति अभाव रहेको, व्यवस्थापन समितिमा स्थानीय सरकार नगरपालिकाको प्रतिनिधि नभएको र पार्किङ व्यवस्थापन नभएको पाइएको अनुगमन टोलीले बताएको छ। त्यसको व्यवस्थापन गर्न टोलीले निर्देशन दिएको छ।

क्यान्सर अस्पताल २०५१ मा १५ शय्याबाट शुरु गरी विभिन्न व्यक्तिसँग आर्थिक भौतिक सहयोग लिई भवन, मेसिन उपहारबाट प्राप्त भई सञ्चालन भएको र कर्मचारी सबै अस्पतालकै स्रोतबाट व्यवस्थापन गर्दै आएको अस्पतालका प्रशासक राजाराम तजलेले जानकारी दिए।

त्यसैगरी अनुगमनका क्रममा डा. इवामुरा मेमोरियल अस्पतालमा दुईवटा सिटी स्क्यान बिग्रिएकाले उक्त सेवा उपलब्ध नभएको पाइएको छ।

आकस्मिक कक्ष सञ्चालनमा रहेको तर भेन्टिलेटर नभएको, ठाउँ अभावमा सेवा प्रभावित भएको, बेडसिट फोहोर देखिएको, व्यवस्थापन समितिमा नगरपालिकाबाट प्रतिनिधि नराखेको र सरसफाइमा ध्यान नदिएको पाइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए। अस्पताललाई यी पक्ष सुधार गर्न पनि निर्देशन दिइएको उनले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार