नाक, कान र घाँटीका बिरामी बढे
चितवन : उपचारका लागि आउने क्यान्सरका नयाँ बिरामीमध्ये १४ प्रतिशत भन्दा बढी नाक, कान र घाँटीका हुने गरेका पाइएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोकथाम तथा अनुसन्धान विभागले विश्व टाउको तथा घाँटीको क्यान्सर दिवसका अवसरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो।
सन् २०१५ मा क्यान्सरका नौ हजार ७१८ बिरामीमध्ये एक हजार ४९४ नाक, कान घाँटीका थिए। यसैगरी सन् २०१६ मा १० हजार ७१५ क्यान्सरका बिरामीमध्ये एक हजार ५४१ र सन् २०१७ मा १० हजार ८२९ मध्ये एक हजार ५५९ नाक, कान घाँटीको क्यान्सरका बिरामी अस्पताल भर्ना भएका थिए।
विभागले देशभरका ठूला १२ अस्पतालबाट तथ्यांक संकलन गर्छ। विभागका प्रमुख भोला सिवाकोटीका अनुसार सन् २०१८ को तथ्यांक संकलन हुने क्रममा रहेको छ। उनका अनुसार कुल क्यान्सरका बिरामीमध्ये १४ प्रतिशत हाराहारी यस रोगका बिरामी हुने गरेका छन्। नेपालमा फोक्सो, स्तन, पाठेघरको क्यान्सरपछि नाक, कान घाँटीको क्यान्सर रहेको सो अवसरमा जानकारी दिइयो।
नाक, कान, घाँटीको क्यान्सर रोग खानपानमा ध्यान दिन सकेमा धेरै हदसम्म कम हुने अस्पतालका विशेषज्ञ डा. देजकुमार गौतमले जानकारी दिए। अस्पताल आउने क्यान्सरका बिरामीमध्ये ७० देखि ९० प्रतिशतलाई सुपारी, गुट्खा, सुर्ती र मादक पदार्थ सेवनका कारण हुने गरेको भन्दै उनले यसलाई रोक्न जनचेतना फैलाउन आवश्यक रहेको बताए।
विश्वमा वार्षिक छ हजार नौ सयको क्यान्सरका कारण मृत्यु हुने गरेको जानकारी कार्यक्रममा दिइएको थियो, जसमध्ये नाक, कान घाँटीको क्यान्सरका कारण १५ प्रतिशतको मृत्यु हुने गरेको अनुसन्धान विभागका रजिष्टार डा. गम्भीर श्रेष्ठले जानकारी दिए। मृत्यु हुनेमा ४० देखि ६० वर्षका छन्। नाक, कान घाँटीमा हुने क्यान्सरमा ३२ प्रतिशत क्यान्सर मुखमा हुने गरेको श्रेष्ठले बताए।
नाक, कान, घाँटीमा हुने क्यान्सरको रोग रोकथामका लागि भिटामिन, फलफूल खाने, मासु धेरै नखाने, घाममा धेरै हिँडडुल गर्न नहुने, सुर्तीजन्य वस्तु सेवन गर्न नहुने, मादकपदार्थ सेवन गर्न नहुने श्रेष्ठले जानकारी दिए। अस्पतालका उपनिर्देशक डा. निर्मल लामिछानेले सन् २०१७ मा १५ दशमलव ८७ प्रतिशत नाक, कान घाँटीका बिरामी अस्पताल आएको बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित