Health TV Online
Health TV Online
Health TV Online

साँघुरो हुँदै भरतपुर अस्पतालकाे आकस्मिक कक्ष

साँघुरो हुँदै भरतपुर अस्पतालकाे आकस्मिक कक्ष

चितवन : दैनिक दुई हजारभन्दा बढी बिरामीको उपचार गर्दै आएको भरतपुर अस्पतालमा आकस्मिक कक्ष साँघुरो हुँदा एउटै शय्यामा तीन जनासम्म बिरामी राखेर उपचार गराउनुपर्ने अवस्था छ।

साँघुरो कक्षका कारण निकै कठिनाइका साथ काम गर्नु परेको अस्पतालको आकस्मिक कक्षका प्रमुख राजकुमार ढुङ्गानाले बताए। अस्पतालका सबै विभाग व्यवस्थित भइसक्दा पनि आकस्मिक कक्षको व्यवस्थापन हुन नसकेको उनको भनाइ छ।

अस्पतालमा आउने बिरामीको आधारमा आकस्मिक कक्ष निकै सानो र अव्यवस्थित रहेको छ। पुरानो, जीर्ण र साँघुरो भवनमा आकस्मिक कक्ष सञ्चालन हुँदै आएको छ। आकस्मिक कक्षमा एउटा चरण (सिफ्ट) मा एक चिकित्सक, एक प्यारामेडिक्स र एक जना नर्सिङ कर्मचारीको दरबन्दी छ।

दैनिकजसो शय्या नपाएपछि बिरामी र आफन्तले कर्मचारीहरुसँग झगडा गर्ने गरेको ढुङ्गानाले बताए। अस्पतालको कूल श्ययाको १० प्रतिशत अर्थात् ६० शय्याको आकस्मिक कक्ष हुनुपर्ने भए पनि स्थापनादेखिको १२ शय्यामा खुम्चिनु परेको ढुङ्गानाको भनाइ छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बिरामीको चापअनुसारको आकस्मिक कक्ष नभएको स्वीकार गरे। आकस्मिक कक्षसँगै प्रयोगशालासमेत आवश्यक हुने भए पनि यस्तो व्यवस्थापन हुन नसकेको उनकाे भनाइ छ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आकस्मिक कक्षमा एक महीनामा तीन हजार पाँच सय हाराहारी बिरामी उपचारका लागि आउने गर्छन् । दिनको समयमा बहिरङ्ग सेवामा समेत जाने भए पनि राति आकस्मिक कक्षमा बिरामीको चाप बढी हुन्छ।

थोरै शय्याको साँघुरो आकस्मिक कक्ष भएकाले धान्न मुस्किल भएको उहाँको भनाइ छ। अस्पतालको बहिरंग सेवामा एक दिनमा एक हजार सात सयसम्म बिरामीको उपचार गरेको पौडेलले दाबी गरे।

२०१३ सालमा १५ शय्याबाट शुरु भएको भरतपुर अस्पताल केन्द्रीय स्तरको बनेसँगै हाल ६०० शय्या सञ्चालनमा छ। अस्पतालले १४ वटा विभागमार्फत सेवा दिँदै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार