Health TV Online
Health TV Online
Health TV Online

डब्ल्यूएचओको मान्यतासँगै के पाउँछ तिलगंगाले?

डब्ल्यूएचओको मान्यतासँगै के पाउँछ तिलगंगाले?

काठमाडौं : आँखासम्बन्धी उपचारमा ख्याति कमाएको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आफ्नो सहकार्य केन्द्र अर्थात् ‘कोलाबोरेटिङ सेन्टर’को रूपमा मान्यता दिएको विषयले निकै चर्चा पाएको छ।

उक्त प्रतिष्ठान स्थापना भएको २५ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी सोमबार एक कार्यक्रममा डब्ल्यूएचओको मान्यताको घोषणा गरिएको छ।

डब्ल्यूएचओको वेबसाइटमा उल्लेख गरिएअनुसार सन् २०१९ को जुन १० तारिखदेखि लागु हुने गरी चार वर्षका लागि प्रतिष्ठान डब्ल्यूएचओको सहकार्य केन्द्रका रूपमा रहनेछ।

डब्ल्यूएचओका अनुसार विभिन्न ८० राष्ट्रका ८०० सहकार्य केन्द्रहरूको परिवारमा पछिल्लो पटक तिलगंगा थपिएको छ।

मान्यताको महत्त्व

आँखा उपचार क्षेत्रमा यस्तो मान्यता पाउने तिलगंगा नेपालको पहिलो संस्था हो भने सार्क क्षयरोग तथा एचआईभी\एड्स केन्द्रपछिको नेपालको दोस्रो संस्था हो।

प्राज्ञिक, अनुसन्धान, उपचार र प्रशिक्षणको क्षेत्रमा एउटा उदाहरणीय नमुना भएकोले तिलगङ्गालाई उक्त मान्यता दिएको डब्ल्यूएचओले जनाएको छ।

आँखासम्बन्धी उपचारमा तिलगङ्गा मान्छेको आँखाको नानीझैँ प्रिय रहेको बताइन्छ।

तर जनस्वास्थ्य विज्ञहरूका अनुसार डब्ल्यूएचओको पछिल्लो मान्यताले उक्त प्रतिष्ठानको कान्तिलाई ‘थप तेजिलो’ बनाइदिएको छ।

प्रतिष्ठानले मान्यता पाएपछि त्यसका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइतले उक्त ‘हैसियत पाउनु सानो कुरा नभएको र कसैले दिएको नभई मेहनत गरेर पाएको’ बताएका थिए।

जनस्वास्थ्य मामिलाका जानकारहरूले पनि तिलगङ्गाले डब्ल्युएचओबाट पाएको मान्यता ‘ठूलो उपलब्धि’ भएको बताए।

पूर्वस्वास्थ्य सचिव डा. प्रवीण मिश्र भन्छन्, ‘पहिलो कुरा गुणस्तरीय सेवाको सुनिश्चितता भएको संस्थाको रूपमा देखियो, दोस्रो कुरा यहाँ पाउने तालिम गुणस्तरीय छन् भन्ने भयो।’

जनस्वास्थ्य विज्ञ डा. रीता थापा डब्ल्यूएचओको मान्यतासँगै तिलगंगा अन्तर्राष्ट्रिय ‘रेफरल सेन्टर’को रूपमा सम्मानित भएको बताउँछिन्। जनस्वास्थ्य मामिलाका जानकारहरूका अनुसार तिलगङ्गाले अब डब्ल्यूएचओबाट प्राविधिक, भौतिक संरचना र नीतिगत विकासमा समेत सहयोग पाउन सक्छ।

डा. मिश्र भन्छन्, ‘दक्षिण पूर्वी एशियाका सदस्य राष्ट्रलाई तिलगंगामा तालिम दिलाउने अथवा यहाँबाट सिक्न लगाउने र अरू देशबाट मान्छे पठाउन यो प्रतिष्ठानलाई डब्ल्यूएचओले मान्यता दिन्छ।’

उनले थपे, ‘मेरो बुझाइमा आँखासम्बन्धी अनुसन्धानका लागि भविष्यमा यो संस्थालाई रकमको अभाव हुनेछैन।’

आँखासम्बन्धी सेवा प्रवाह, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनको क्षेत्रमा तिलगङ्गाले आफूसँग सहकार्य गर्ने डब्ल्यूएचओले जनाएको छ।

राम्रो गृहकार्य गर्दै अघि बढे  प्रतिष्ठानले आँखाको उपचारमार्फत् स्वास्थ्य पर्यटनलाई पनि बढाउन सक्ने कतिपयको तर्क छ।

चुनौती र अवसर

डब्ल्यूएचओको मान्यतासँगै तिलगंगाका लागि अवसर र चुनौती दुवै थपिएको विज्ञहरूको भनाइ छ।

तिलगंगाले आँखासम्बन्धी थप अनुसन्धान र आफ्ना सेवाहरू अझ व्यापक गर्न डब्ल्युएचओको भरपर्दो काँध पाएको छ।

अनि चार वर्षका लागि पाएको मान्यतालाई फेरि निरन्तरता पाउन अझ बढी राम्रो काम गर्नु चुनौतीको रूपमा रहेको छ।

प्रतिष्ठानका बानियाँ पनि यसलाई स्वीकार्छन्, ‘हामीमाथि चुनौती र जिम्मेवारी दुवै थपिएको छ। तर हामी सबै लागिपर्‍यौँ भने त्यो मान्यतालाई अवश्य निरन्तरता दिलाउन सक्छौँ।’

तिलगङ्गा आँखा प्रतिष्ठानको प्रतिबद्धता र उसको कामको प्रतिष्ठाले गर्दा सो मान्यतालाई निरन्तरता दिलाउन कठिन नहुने डा. थापाको ठम्याइ छ।

डा. रुइतको नेतृत्वको प्रशंसा गर्दै उनी भन्छिन्, ‘नेतृत्व आदेश वा निर्देशनबाट हुँदैन, आफैँले गर्ने हो। उहाँ आफैँले गरेर उदाहरण बन्नुभएको छ।’

के के गर्छ तिलगङ्गाले?

प्रशासक बानियाँका अनुसार तिलगंगाले उपचारका साथै अनुसन्धान, आँखाको लेन्स निर्माण र विशेषज्ञ डाक्टर समेत उत्पादन गर्दै आएको छ।

आफूहरूले आँखाभित्र मात्रै नौवटा विशिष्ठ सेवा दिँदै आएको बानियाँ बताउँछन्।

बानियाँका अनुसार प्रतिष्ठानले त्यसबाहेक आँखासम्बन्धी बर्सेनि १५\१६ वटा अनुसन्धानपत्र जर्नलहरूमा प्रकाशन गर्दै आएको छ।

करिब एक दर्जन जनशक्तिबाट शुरू भएको अस्पतालसँग ३९ डाक्टरसहित पाँच सयभन्दा बढी जनशक्ति छ।

देशको एक मात्र आँखा ब्याङ्क उसकै हो भने नेपालका विभिन्न १४ जिल्लामा प्रतिष्ठानका सामुदायिक आँखा केन्द्र सञ्चालनमा छन्।

बानियाँका अनुसार तिलगंगाले उत्पादन गर्ने आँखाको लेन्स कैयौँ देशमा निर्यात हुँदै आएको छ।

डब्ल्यूएचओका अनुसार सन् १९९४ मा सञ्चालनमा आएदेखि तिलगंगाले हालसम्म १४ लाखलाई सेवा प्रदान गरिसकेको छ।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार