Health TV Online
Health TV Online
Health TV Online

सुर्खेतका पाँच स्वास्थ्य प्रयोगशालामा ‘सिल’

सुर्खेतका पाँच स्वास्थ्य प्रयोगशालामा ‘सिल’

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अवैध रूपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशाला सिलबन्दी गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा गएको संयुक्त टोलीले आइतबार पाँच प्रयोगशालामा सिलबन्दी गरेको हाे।
गत असार १९ र २० गते केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा नेतृत्वको टोलीले सुर्खेतमा सञ्चालित प्रयोगशालाको अनुगमन गरी अवैध भनी किटान गरेर दिएको प्रतिवेदनका साथै प्राप्त पत्रअनुसार अवैधरूपमा सञ्चालित प्रयोगशाला सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए।

प्रशासकीय अधिकृत शर्माका अनुसार वीरेन्द्रनगरस्थित राना पोलिक्लिनिक तथा डाइगोनोष्टिक, बोहरा पोलिक्लिनिक, कर्णाली मेडिकलहल तथा प्याथोलोजी, शिवविहार मेडिकल हल र रम्वादेवी स्वास्थ्य क्लिनिक तथा निरु फार्मेसीमा शिलबन्दी गरिएको हो। प्रयोगशाला सञ्चालनका लागि आधारभूत मापदण्ड पूरा नगरी सञ्चालन भएका प्रयोगशाला सिलबन्दीपश्चात बाँकी कारवाही प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको उनले बताए।

अनुगमनका क्रममा क्लिनिक तथा फार्मेसीमा पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधि बिक्रीवितरण गरेको पाइएकाे छ। यस्तै ल्याब सञ्चालनका लागि आवश्यक पूर्वाधार नै तयार नगरी रगत, पिसाब, दिसा, खकार जाँच गर्ने गरेको र प्रयोगशाला नजिकै फोहर रहेकोजस्ता कमजोरी देखिएकाले शिलबन्दी गरिएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशभक्त गौतमले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार