Health TV Online
Health TV Online
Health TV Online

बजेटमा स्वास्थ्य : यी पनि छन् प्राथमिकतामा

बजेटमा स्वास्थ्य : यी पनि छन् प्राथमिकतामा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार पेस गरेको आगामी आर्थिक वर्ष ०७६ ७७ को बजेटमा यी विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

पछिल्लाे समय महिलाहरूमा बढ्दो सर्भाइकल र स्तन क्यान्सरजस्ता घातक रोग पहिचानको लागि निःशुल्क स्वास्थ्य परीक्षण र सर्भाइकल क्यान्सर विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्न र सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्चित गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिने बजेटमा उल्लेख छ।

मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रास्प्लान्ट केन्द्रको पूर्वाधार निर्माण, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन, सिराहामा क्यान्सर अस्पताल निर्माण गर्ने, बीपी कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रदान गर्न र जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सेवा सञ्चालन गर्न आवश्यक रकम छुट्याइएको छ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको ‘म्याचिङ टेस्ट’ स्थापना गर्न अनुदानको व्यवस्था मिलाउने उल्लेख छ।

केन्द्रीय स्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त राष्ट्रिय निदान केन्द्रको रूपमा स्तरोन्नति गरिने उल्लेख छ। तीन वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्रहरू सञ्चालनमा ल्याउने र सम्बन्धित प्रदेशसँगको लागत सहभागितामा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन गरिने बताइएको छ।

आधुनिक चिकित्साबाहेक आयुर्वेदिक‚ होमियोप्याथिक‚ युनानी‚ अकुपञ्चर‚ आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिको अनुसन्धान, विकास र उपयोगमा जोड दिइने बताइएको छ।

प्राथमिक अस्पतालहरूमा टेलिमेडिसिन शिक्षा पद्धति मार्फत् २४ सै घण्टा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख छ।

सार्वजनिक स्थल र सवारी साधनहरूमा धूमपान तथा मद्यपान पूर्णरूपमा निषेध गरिनेछ। टोलटोलमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ। स्वस्थ नागरिक, स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोग गर्ने बानी विकास गर्न सामाजिक जागरण ल्याइने बताइएकोछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार