भरतपुर महानगरलाई गुट्खामुक्त बनाइने
चितवन : भरतपुरलाई आगामी वर्षदेखि गुट्खामुक्त महानगर बनाइने भएको छ। महानगरकी प्रमुख रेणु दाहालले असार १० गते बस्ने महानगरको नगरसभामार्फत घोषणा गरी गुट्खा बिक्रीवितरणमा रोक लगाइने बताइन्।
महानगरमा सोमबार आयोजित सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी बहुपक्षीय पैरवी कार्यक्रममा दाहालले सुर्तीजन्य पदार्थको प्रयोग र बिक्रीवितरण नियन्त्रण गर्ने अभियानस्वरूप आगामी नगरसभाबाट गुट्खा नियन्त्रण गर्ने घोषणा गरिन्।
‘हामीले सूर्तीजन्य पदार्थको नियन्त्रणमा हामीले काम गरिरहेका छौँ। कतिपय अवस्थामा परिणाम देखिएको छैन’, उनले भनिन्, ‘अब परिणाम देखिनेगरी काम गर्छौँ’, यो निर्णयमा साथ दिन उनले सबैलाई आह्वान गरिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको पैरवी बैठकमा सहभागी सरोकारवाला निकायका अधिकारीहरूले सुर्तीजन्य पदार्थको प्रयोगले भइरहेको हानि र यसको नियन्त्रणका लागि बनेको कानुन कार्यान्वयनबारे बोलेका थिए।
केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण तथा स्वास्थ्य प्रवर्धन शाखाका प्रमुख डा.भक्तबहादुर केसीले विश्वभर सुर्तीजन्य पदार्थको सेवनकै कारण वर्षेनि ७० लाखभन्दा बढी मानिसले ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गरे।
कार्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सक्रिय एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले विश्वभर रहेका सुर्तीजन्य पदार्थका प्रयोगकर्तामध्ये ८० प्रतिशतभन्दा बढी नेपालजस्ता अल्पविकसित मुलुकमा रहेको बताए।
बीपी कोइराला क्यान्सर अस्पतालका चिकित्सक डा. भोला शिवाकोटीले अस्पतालमा आएकामध्ये ३० प्रतिशतभन्दा बढी सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर भएका बिरामी रहेको तथ्यांक प्रस्तुत गरे। नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनकै कारण मात्र वार्षिक २५ हजारभन्दा धेरैले ज्यान गुमाइरहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’