डेंगु फैलिन नदिन सतर्कता अभियान
धादिङ : डेंगु संक्रमण फैलिन नदिन सतर्कता अभियान सञ्चालन गरिएको छ। महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यो वर्ष बेलैमा अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत नीलकण्ठ नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य संस्था, टोलसुधार समिति, सञ्चारकर्मीलगायत सरोकारवालाबीच छलफल गरेको छ।
न्यूनीकरण गर्न र रोग फैलिन नदिन डेंगु रोगसम्बन्धी स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम गरिएको महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेलले बताए।
धादिङमा आव ०७३\७४ मा ७६ जना, ०७४\७५ मा ६ जना र यो वर्षको सुरुवातमै पाँचजनामा डेंगुको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय धादिङका निमिक्त प्रमुख विष्णु रिजालले बताए। धादिङबेंसी बजार क्षेत्रमा डेंगुको संक्रमण भेटिन थालेपछि यसपालि वर्षको सुरुमै सतर्कता अभियान थालेको उनले जानकारी दिए।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यो एक प्रकारको ज्वरो तथा ‘डेंगु एजेप्टाई’ र ‘एडिस एल्बोमेक्टस’ नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। सहरी क्षेत्रमा बढी असर गर्ने भएकाले यसलाई सहरको रोग पनि भनिन्छ। खासमा एडिस एजेप्टाई नामक लामखुट्टेले डेंगु ज्वरो संक्रमित मानिसलाई टोकेपछि उक्त लामखुट्टे संक्रमित हुन्छ, त्यो लामखुट्टेले निरोगी मानिसलाई टोकेपछि डेंगु सर्छ।
डेंगु लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, गिजाबाट रगत आउने, उल्टी हुने, छालामा रगतको धब्बा देखिनेलगायत लक्षण देखिन्छन्। रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिने, लामखुट्टेका लार्भा बढ्न नदिने, वरिपरि पानी जम्न नदिने, पानी ढाकेर राख्नेलगायत उपाय अपनाउन स्वास्थ्यकर्मी सल्लाह दिन्छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?