विपद व्यवस्थापनसम्बन्धी सम्मेलन शुरू

काठमाडौं : आपतकालीन तथा विपद व्यवस्थापनसम्बन्धी सम्मलेन राजधानीमा बिहीवार शुरु भएको छ। ‘पोस्ट हस्पिटल केयर इन इमरजेन्सी’ नाम दिइएकाे सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको हो ।
शुक्रबारसम्म चल्ने सम्मेलनमा भूकम्प, बाढीपहिरो, आगलागी तथा विभिन्न रोगको महामारीजस्ता ठूलो मानवीय क्षति हुनेगरी आउने विपतको बेला अस्पताल तथा स्वास्थ्यकर्मीले कसरी तयारी गर्ने भन्ने विषयमा छलफल हुने स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख चुडामणि भण्डारीले बताए।
‘नेपालमा भूकम्पपछि विपद व्यवस्थापनमा अलि बढी काम गर्न थालिएको छ’, उनले भने, ‘यसलाई कसरी व्यवस्थित गर्दै लग्ने भन्ने विषयमा सम्मेलन केन्द्रित छ।’ विपदमा परिसकेपछि समुदायमा कस्तो खालको सेवा बढी प्रभावकारी हुन्छ भन्ने विषय पनि सम्मेलनमा छलफल गरिने उनले बताए।
सम्मेलनमा अस्पतालका प्रतिनिधि स्वास्थ्यकर्मी एवं विपद व्यवस्थापनमा काम गर्ने सरोकारवालाका निकायहरुको उपस्थिति छ। स्वास्थ्य मन्त्रालयले २०७० सालदेखि हेल्थ इमरजेन्सी अपरेसन सेन्टरमार्फत विपद व्यवस्थापनको काम गरिरहेको छ।
मुलुक संघीय संरचनामा गएपछि प्रदेश तहमा सुदूरपश्चिम, कर्णाली र गण्डकीमा हेल्थ इमरजेन्सी अपरेसन सेन्टर बनिसकेको छ। यसैगरी सातवटै प्रदेशमा सेन्टरमार्फत विपद व्यवस्थापन गर्ने मन्त्रालयको लक्ष्य रहेको भण्डारीले बताए।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा