सुदूरपश्चिममा सुविधासम्पन्न अस्पताल खुल्दै

कैलाली : सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढेको छ। धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महिनादेखि १० करोड बढीको लगानीमा २५ शय्याको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ।
अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा रहेको छ । त्यस्तै वातानुकुलित क्याबिन, दूरबिन तथा दूरबिनविनै शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायत सेवा रहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले जानकारी दिए।
निजी क्षेत्रकै लगानीमा गत असारदेखि धनगढी– ५ मा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको छ। पाँच करोड रूपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आएको उक्त अस्पतालले २५ शय्याबाट सेवा शुरु गरेको र ५० शय्यामा विस्तार गर्ने लक्ष्य रहेको अस्पतालका सञ्चालक तीर्थराज पन्तले जानकारी दिए।
अस्पतालले निकट भविष्यमै किड्नी डाइलाइसिस मेशिन र सिटी स्क्यान सेवा विस्तारका लागि योजना अघि सारेको जनाएको छ। निसर्ग अस्पतालमा सघन उपचार कक्ष (आर्इसीयू), नवजात शिशु उपचार कक्ष (एनआर्इसीयू), बाल सघन उपचार कक्ष (पीआर्इसीयू), क्रृत्रिम श्वासप्रश्वास प्रणाली (भेन्टिलेटर), अत्याधुनिक प्याथोलोजी र डिजिटल एक्सरे सेवा उपलब्ध छ।
यसअघि धनगढीमा निजी क्षेत्रकै लगानीमा मिर्गौला रोगको विशेष उपचारका लागि ‘सिपी’ अस्पताल र आँखाको विशेष उपचारका लागि धनगढी नेत्रालय (आँखा अस्पताल) सञ्चालनमा आइसकेका छन्। अस्पताल स्थापनासँगै गुणस्तरीय तथा थप उपचारका लागि अब यस क्षेत्रका सर्वसाधारणले काठमाडौँ, भारतलगायत विभिन्न ठूला शहरमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा