बढ्दैछ बालबालिका तथा युवामा मानसिक समस्या

काठमाडौं : पछिल्लो समय बालबालिका तथा युवामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ।
सात बालबालिकामध्ये एक तथा पाँचमध्ये एक युवामा याे समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे प्रक्षेपण छ। ‘कुन उमेर समूहका बालबालिका तथा युवामा मानसिक स्वास्थ्य समस्या छ’, आधिकारिक रूपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन।
स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखामा कार्यरत डा. वासुदेव कार्कीले पछिल्लो समय युवायुवती तथा बालबालिकामा समेत मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको जानकारी दिए।
पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा ४० प्रतिशत छ। ती समूहभित्रका करिब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ। डा. कार्कीका अनुसार बाल्यकालमा नमीठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, सामाजिक विभेद, साथीबाट खिसिट्युरी, आर्थिक विपन्नता लगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्छन्।
‘ससाना, बोझ एवं तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयासरत युवामा मानसिक स्वास्थ्य समस्या बढेकाे हाे’, मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेलले भने।
मानसिक स्वास्थ्य समस्या कम गर्न अभिभावकले बालबालिका तथा युवायुवतीका कुरा सुन्ने र सम्भव भए पूरा गर्ने बानी र नभए के कारणले नहुने हो जवाफ दिनुपर्ने प्याकुरेलकाे भनाइ छ।
मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्याबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको पाइएको छ। नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३४६ व्यक्तिले आत्महत्या गरे। तीमध्ये दुई हजार ८५४ पुरुष, २ हजार २०० महिला, १११ बालक र १३९ बालिका थिए ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा