Health TV Online
Health TV Online
Health TV Online

खर्च होइन, सुस्वास्थ्यका लागि लगानी हो ‘इन्फ्लुयन्जा’विरूद्धकाे खोप

खर्च होइन, सुस्वास्थ्यका लागि लगानी हो ‘इन्फ्लुयन्जा’विरूद्धकाे खोप

हाम्रो देशमा जाडोको मौसममा र हरेक वर्ष विश्वमा इन्फ्लुयन्जा रोगका कारण ज्येष्ठ नागरिकहरू बिरामी हुने र मृत्युवरण गर्छन्। त्यसमा पनि कुनै पनि अङ्गको दीर्घरोग भएका ज्येष्ठ नागरिकहरू फ्लु संक्रमण र जटिलताको चपेटामा पर्छन्।

नेपालमा योसम्बन्धी आधिकारिक तथ्याङ्क नभए पनि विश्वव्यापी रूपमा हरेक वर्ष ३० देखि ५० लाख मानिसहरू कडा किसिमको ‘फ्लु’को शिकार हुन्छन्, जसमा ३ देखि ६.५ लाख मानिस यसकै कारण मृत्युवरण गर्छन्। यस रोगको प्रकोपबाट सबैभन्दा बढी प्रभवित हुनेमा ६५ वर्षभन्दा उमेर र बालबालिकाहरू नै हुन्छन्। विभिन्न प्रजातिका इन्फ्लुयन्जा भाइरसका कारण मानिसहरुलाई इन्फ्लुयन्जा नामको कडा किसिमको श्वासप्रश्वासको रोग लाग्छ।

यो भाइरस ४ प्रकारको हुन्छ। ए, बी, सी र डी। हामीले सुन्दै आएको र हाम्रो देशमा नै विभिन्न समयमा महामारीको रूप लिने बर्डफ्लु, स्वाइनफ्लु इन्फ्लुयन्जा भाइरस–’ए’को कारणले हुन्छ।

लक्षणहरू–

एक्कासी ज्वरो आउने, प्रायजसो सुख्खा खाकी लाग्ने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, शरीर थाक्ने, घाँटी दुख्ने, रुघा लाग्ने लगायत लक्षण देखिन्छन्। धेरैजसो मानिस एक हप्ताभित्रमा नै बिनाऔषधि उपचार पनि यो रोगबाट मुक्त हुन्छन्। तर कुनै–कुनै अवस्थामा इन्फ्लुयन्जाले कडा किसिमको श्वासप्रश्वाससम्बन्धी रोग लागेर बिरामीले मृत्युवरण गर्नेसम्मको अवस्था आउन सक्छ।

इन्फ्लुयन्जा रोगको सबैभन्दा प्रभावकारी रोगथामको उपाय खोप नै हो। विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार ६५ वर्षभन्दा बढी उमेरका हरेक ज्येष्ठ नागरिक, विभिन्न अङ्गका दीर्घरोग भएका व्यक्तिहररू, कुनै पनि ‘स्टेज’का गर्भवती महिला, ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिका र स्वास्थ्यकर्मीहरूले इन्फ्लुयन्जाविरूद्धकाे  खोप लगाउनुपर्छ।

रोगको यो किसिमको जटिलतालाई विशेष गरी ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता कम भएका, एचआईभी\एड्सपीडित, क्यान्सरको उपचार भइरहेका, स्टेराइड जन्य औषधी खाइरहेका, दीर्घरोग लागेका बिरामीहरूमा बढी देखिन्छ।

इन्फ्लुयन्जाको सङ्क्रमणको नै कारण दम रोग बल्झिने समस्या पनि ज्येष्ठ नागरिकमा देखिन्छ। यो रोग विशेषगरी मान्छेहरूको बढी भिडभाड हुने स्थलमा एकजनाबाट अर्कोमा छिटो सर्छ। यो रोगबाट प्रभावित व्यक्तिले सावधानी नअपनाई खोक्दा वा हाच्छिउँ गर्दा एक मिटर भित्रका अन्य व्यक्तिहरूमा यो रोग सर्छ।

निदान–

धेरैजसो फ्लुका बिरामीको निदान बिरामीहरूको लक्षणका आधारमा हुन्छ। शङ्कास्पद बिरामीको घाँटी, नाक आदिबाट नमुना लिई विशेष प्रविधि (पीसीआर) मार्फत फ्लुको जीवाणु पत्ता लगाई रोग लागेको ठम्याउन सकिन्छ।

उपचार–

धेरैजसो अवस्थामा फ्लु एक हप्तादेखि १० दिनभित्र आफैँ निको हुने कारणले यसका लागि नै विशेष उपचार गर्नुपर्दैन। यसबाट प्रभावित मानिसबाट अरुमा नसरोस् भन्नका लागि सम्भव भएसम्म सार्वजनिक स्थानमा नगई घरमा नै आराम गर्नुपर्छ। झोलयुक्त खानेकुरा र पेयपदार्थ सेवन गर्नुपर्छ। ज्वरो आएको खण्डमा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्छ।

माथि उल्लेखित गरिए जस्तै रोगको उच्च जोखिम भएका व्यक्तिहरुलाई फ्लुको लक्षण देखिए तुरुन्तै नजिकको स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ। यो रोग बल्झिएर निमोनिया नै भएको खण्डमा बिरामीलाई अस्पतालमा नै भर्ना गरेर उपचार गर्नुपर्छ।

रोकथाम

इन्फ्लुयन्जा रोगको सबैभन्दा प्रभावकारी रोगथामको उपाय खोप नै हो। विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार ६५ वर्षभन्दा बढी उमेरका हरेक ज्येष्ठ नागरिक, विभिन्न अङ्गका दीर्घरोग भएका व्यक्तिहररू, कुनै पनि ‘स्टेज’का गर्भवती महिला, ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिका र स्वास्थ्यकर्मीहरूले इन्फ्लुयन्जाविरूद्धकाे  खोप लगाउनुपर्छ।

अन्त्यमा,

ज्येष्ठ नागरिकहरू याे रोगबाट बढी नै सङ्क्रमित हुने भएकाले उनीहरूमा यो रोग बल्झेर कडा किसिमको निमोनिया हुने जोखिम उच्च हुन्छ।  त्यसैले उनीहरूको स्वास्थ्यप्रति परिवारका अन्य सदस्यले विशेष सतर्कता अपनाउनुपर्छ। याद राख्नुहाेस्, खोप खर्च होइन, सुस्वास्थ्यको लागि लगानी हो। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी होइन र!

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?