केमो दिन ठिक्क पारेको बिरामी अस्पतालबाट भागेपछि…

बिरामीलाई निको पार्न चिकित्सकको महत्त्वपूर्ण भूमिका हुन्छ। यसमा दुईमत छैन। बिरामीको हेरचाह एवं उनीहरूको मनोबल बढाउन त्यतिकै भूमिका हुन्छ नर्सको। कुनै पनि रोग निको हुँदा वा बिरामीले पुनर्जीवन पाउँदा चिकित्सकको नाम सबैतिर आउँछ तर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सको नाम कमैले लिएको पाइन्छ।
हामी नर्सहरू दिनरात नभनी काम गर्छौँ। कहिलेकाहीँ दिक्क लाग्छ तर अरुले नदेखे पनि बिरामीले देखाएको सद्भावले हामीलाई सँधै हौसला बढ्छ। मेरो हकमा म अहिले नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा कार्यरत छु । यहाँ मेरो भूमिका मेट्रोन भएकाले बिरामीलाई हेर्ने मात्र होइन उनीहरूको सम्पूर्ण पक्षको व्यवस्थापन पनि गर्नुपर्छ।
यो क्यान्सर अस्पताल भएकाले पनि यहाँ नर्सको भूमिका अलि बढी हुन्छ । क्यान्सरका कतिपय बिरामी आफैँ आफनो काम गर्न नसक्ने हुन्छन्। हामी उनीहरूलाई सम्पूर्ण सेवा बेडमै दिन्छौँ, जुन काम घरमा भए परिवारका सदस्यले गर्नुपर्छ। यस्ता बिरमीलाई सर्वप्रथम त मैले कुन बिरामी कस्तो खालको हो वर्गीकरण गर्छु। ‘प्यालिएटिभ केयर’ दिने खालका बिरामीलाई छुट्टै राख्नुपर्छ। यस्ता बिरामीलाई हामीले उनीहरूको बिग्रिँदो स्वास्थ्य अवस्था बुझेर मात्र सेवा दिनुपर्ने हुन्छ। प्रत्येक दिन त्यसको योजना बनाउनुपर्छ।
एकपटक त केमो दिन ठिक्क पारेको बिरामी डराएर अस्पतालबाट भागेछन्। हामीले उनलाई सम्झाइबुझाइ गरी फकाएर ल्यायौँ। आठ वर्षको बच्चालाई देखाउँदै ‘ल हेर्नुस् तपाईँभन्दा कति सानो बच्चाले त किमो लिइरहेकाे छ’ भन्दै सम्झाउँदा उनले माने। मेरो जीवनको अविस्मरणीय घटनामध्यकै एक हो, त्यो।
अरु सामान्य बिरामीलाई विशेष हेरचाह नभए पनि केही फरक पर्दैन। तर मैले पहिले काम गरेका संस्था भन्दा यहाँ अलि बढी जिम्मेवारी छ। अझ एउटै बिरामीलाई मधुमेह, उच्च रक्तचाप धेरै प्रकारका रोग छ भने औषधि एवं खानपानमा अझ बढी ‘केयर’ गर्नुपर्ने हुन्छ।
उनीहरुलाई चिकित्सकले भने अनुसार औषधि र खानपान परामर्श दिनुपर्ने हुन्छ। नसकने बिरामीलाई हामी कपाल काटिदिने, बेडमै नुहाइदिने गर्छौँ। उहाँहरुको सरसफाईमा ध्यान दिने काम पनि नर्सले नै गर्नपर्ने हो। चिकित्सकले बिरामी हेरेर औषधि लेख्ने, र जीवनशैलीको बारेमा परामर्श दिएर गएपछि प्रत्येक दिन बिरामीसँग अन्तरक्रिया गर्ने कुराकानी गर्ने काम नर्सको हो।
चिकित्सकबाहेक हामी दिनहुँ बिरामीकहाँ पुगेर कसलाई के समस्या छ भनेर बुझ्छौँ अनि त्यसअनुसार बिरामीलाई ‘साइकोलोजिकल सपोर्ट’ गर्ने, बिरामीको आर्थिक अवस्था कमजोर छ भने आफैँ प्रशासनमा गएर मिल्न सक्नेसम्मको शुल्क छुट गराइदिने पनि गर्छौँ। कतिपय बिरामी अब म मर्छु भनेर डराउँछन्, त्यस्ता बिरामीको मनमा आएको कुरा सुन्छौँ अनि त्यसपछि हामी परामर्श दिन्छौँ जसले गर्दा उहाँहरुको डर कम हुन्छ र मनमा सकारात्मक सोच आउँछ।
एकपटक त केमो दिन ठिक्क पारेको बिरामी डराएर अस्पतालबाट भागेछन्। हामीले उनलाई सम्झाइबुझाइ गरी फकाएर ल्यायौँ। आठ वर्षको बच्चालाई देखाउँदै ‘ल हेर्नुस् तपाईँभन्दा कति सानो बच्चाले त किमो लिइरहेकाे छ’ भन्दै सम्झाउँदा उनले माने। मेरो जीवनको अविस्मरणीय घटनामध्यकै एक हो, त्यो। कतिपय बिरामी सुई लगाउन मान्नुहुन्न। उहाँहरूलाई सम्झाइबुझाइ गर्दै सुई दिनुपर्ने हुन्छ।
पछिल्लो समय त कतिपय बिरामी इन्टरनेटमा उपचारको ‘साइड इफेक्ट’ पढेर आउँछन्। उपचार शुरु गर्न पाएको हुँदैन, आफूलाई सबै साइड इफेक्ट भएको छ भन्ने भ्रममा पर्छन्। यस्ता बिरामीलाई सम्झाउन असाध्यै गाह्रो हुन्छ। अझ मैले काम गरिरहेको अस्पतालको कुरा गर्ने हो भने त त्यो बेला गाह्रो हुन्छ जुनबेला बिरामीको आफन्तले बिरामीलाई क्यान्सर छ भनेर नभन्नु भनेका हुन्छन्। कसरी गोप्यता कायम गर्ने भन्ने पिरलो हुन्छ।
आफैँले महिनौँसम्म स्याहारसुसार गरेको, औषधि खुवाइरहेको बिरामी भेट्न जाँदा उनी त बितिसके भन्ने सुन्दा असाध्यै मन दुख्छ। तर के गर्नु मन बलियो बनाउँदै उनीजस्तै सेवा खोजिरहेका अन्य बिरामीको सेवामा जुट्नुपर्छ।
मैले नर्स ठूलो भन्न खाजेको पटक्कै होइन तर नर्सले गर्ने व्यवहार र सेवाका कारण धेरै बिरामीलाई उपचारमा सहज भने पक्कै हुन्छ। या सबैले बुझ्न जरुरी छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा