तिहारमा कसरी रहने स्वस्थ? के भन्छन्, चिकित्सक?

सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान चाड तिहार। ‘फूलैफूलको पर्व।’ झिलिमिली बत्तीको पर्व।’ मिठाइहरूको पर्व।’ अनेकौँ विशेषता छन्, तिहार अर्थात् दीपावलीका।
औँसीका दिन सेलरोटी र विभिन्न प्रकारका मिठाइ देवी लक्ष्मीलाई चढाइन्छ। यस्तै भाइटीकाका दिन पनि दिदीबहिनीले आफ्ना हातले बनाएका सेलरोटी, मिठाइ दाजुभाइलाई दिने चलन छ। ‘तिहारमा नबनाएको मिठाइ कहिले बनाउने’ भन्ने भनाइ नै छ।
कतिले त अाफूले बनाउन नसके बजारबाट ल्याएका राेटी, मिठाइ दाजुभाइलार्इ सगुन दिन्छन्। यस्तै सगुनका रूपमा विविध किसिमका मसला (ड्राइ फ्रुट्स) र फलफूल पनि दिइन्छ।
तिहारमा धेरै नै मात्रामा सेलराेटी र मिठाइको प्रयोग हुन्छ, जुन प्रत्यक्ष रूपमा हाम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ। यसरी तिहारमा खानेकुरामा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ। तिहारलाई स्वस्थ बनाउन चिकित्सकहरू यस्तो सुझाव दिन्छन्–
डा.प्रकाशराज रेग्मी, वरिष्ठ मुटुराेग विशेषज्ञ
तिहार रमाइलो गर्ने पर्व हो। रमाइलो त गर्नैपर्यो। तर मुटुरोगीले खानेकुरामा अरुबेला पनि ख्याल गर्नुपर्छ भने चाडबाडमा त झनै ख्याल गर्न जरुरी हुन्छ । हाम्रो चाडबाडलाई भेटघाटमा रमाउने र खानपानलाई पनि एकदमै स्वास्थ्यवर्धक बनाउनुपर्छ।
बजारमा किनेको मिठाइमा सकेसम्म मन नभुलाऊँ। तिनमा विभिन्न किसिमका अखाद्य रासायनिक पदार्थ हुन्छन्। यसले सिधै मानव शरीरमा स्वास्थ्यमा असर पुर्याउँछ। यी धेरै गुलिया हुन्छन्। कुनै पनि दृष्टिले यी स्वस्थकर हुँदैनन्। घरमा बनाएको मिठाइ खाऔँ । सागसब्जीमा जोड दिअाैँ।
डा.भुपेन्द्र बस्नेत, पेट तथा कलेजाेराेग विशेषज्ञ
तिहार भन्नेबित्तिकै मिठाइकै कुरा आइहाल्छ। यसमा गुलियो खानेकुरा हुनैपर्छ भन्ने छ। हामीले बजारमा रंगीचंगी रूपमा राखिएका खानेकुरा कत्तिको स्वस्थकर छ भन्ने कुरा हेर्न जरुरी छ । सकेसम्म घरमै बनाएका खानेकुरा खानु राम्रो हुन्छ। कोक फेन्टाजस्ता पेय पदार्थको सट्टा घरमै तयार हुने कागती पानी या दही, मही प्रयोग गरौँ।
तिहारमा अन्य बेला भन्दा बढी गुलियो खाइन्छ त्यसैले यो बेला अलि बढी पानीको प्रयोग गर्नुस्। बजारका रंगीचंगी मिठाइ र रोटीको पछि नलाग्नसु । यसले ग्याष्ट्रिक बढाउँछ। चाडबाडका बेला धेरै मात्रामा नै मिठाइहरु बनाइने हुँदा अखाद्य वस्तु मिसाइएको पनि हुनसक्छ। धेरै समयअघि बनाइएको पनि हुनसक्छ।
डा.मनिषा मिश्र, मधुमेहराेग विशेषज्ञ
दशैँ तिहार आउनेबित्तिकै हामी एकदमै उत्साहित हुन्छौँ। किनभने यी खानपान गर्ने र रमाइलो गर्ने पर्व हुन्। दशैँमा रातो मासुका विभिन्न परिकारको प्रयोग त्यसपछि तिहारमा रंगीचंगी मिठाई र चिल्ला रोटीहरू प्रयोग हुन्छन्।
चाड त हो नि भन्दै बढी नै खान्छौँ जसले गर्दा केही रोग नभएकालाई त असर हुन्छ भने मधुमेह, उच्च रक्तचापजस्ता रोग भएका बिरामीमा अझ बढी समस्या आउन सक्छ। दशैँपछि प्रत्येक वर्ष मधुमेहका बिरामीमा जटिलता बढ्ने गर्छ। यो वर्ष पनि औषधिको व्यवस्थापन गर्न पाएको छैन, तिहार आइसक्याे। चाडबाड आउँदा हामीलाई पो डर हुन्छ।
त्यसैले मधुमेह रोगीले चिनी नहालेका खानेकुरा ठिक्क मात्रामा खान सकिन्छ। पेटभरि कुनै पनि खानेकुरा नखानस्। मात्रा मिलाएर अलिअलि समय समयमा खाएर चाड मनाउन सकिन्छ। अर्को कुरा शारीरिक व्यायाम गर्न पनि छोड्नु भएन। अरू शारीरिक परिश्रम गर्न नसके हिँडे पनि हुन्छ। बिहान नभ्याए दिउँसो हिँडे हुन्छ।
डा. धर्मेन्द्र कर्ण, छालारोग विशेषज्ञ
तिहारसँग जोडिएको अर्को पक्ष पटाका पनि हो। तिहार लाग्नुभन्दा अघिदेखि नै केटाकेटीहरू पटाका किन्न बाबुआमासँग जिद्दी गर्न थाल्छन्। केटाकेटीलार्इ खुशी पार्न भन्दै अभिभावक पनि पटाका किन्छन्। साना साना बच्चाहरू पनि उत्साहित हुँदै पटाका पडकाउन हिँड्छन् र होशियारी नपुर्याउँदा उनीहरूको पोलाइको शिकार बन्न पुग्छन्।
कतिपय अवस्थामा छालामा मात्र हैन भित्री भागसम्म पोल्न पुग्छ र अंगभंग समेत हुने सम्भावना हुन्छ। त्यसैले साना नानीहरुलाई पटकाबाट टाढै राख्नुपर्छ। दिए पनि कम हानि गर्ने खालका पटाका दिएर आफनो निगरानीमा मात्र पड्काउन दिनुपर्छ।
यदि यसरी पटाका पडकाउँदा पोलिहाले पोलेको अंग चिसो पानीले पखाल्नुपर्छ । त्यसपछि नजिकैको अस्पतालमा लैजानुपर्छ। विशेषगरी साना साना बालबालिका भएका घरमा अभिभावकले सावधानी अपनाउनुपर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा