डिप्रेसनबारे जानौँ र खुलेर कुरा गरौँ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा संसारभर विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछ। यो वर्ष २०१७ को नारा ‘डिप्रेसन बारेमा जानौँ र खुलेर कुरा गरौँ’ अर्थात् ‘लेट्स टक’ नाराका साथ विश्व स्वास्थ्य संगठनले यो विश्वभरिका आफ्ना सदस्य राष्टहरूमा डिप्रेसनको बारेमा जनमानसमा रहेको परम्परागत धारणा र भ्रमलाई हटाई यो रोगको बारेमा सकारात्मक चेतना अभिवृद्धि गर्ने तथा स्वास्थ्य जीवनका लागि यस सम्बन्धी चेगनामूलक तथ निरोधात्मक उपाय अवलम्बन गर्ने उद्देश्यका साथ मनाएको थियो।
विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार डिप्रेसन अर्थात् उदासीनताको रोग विश्वका ३० करोड भन्दा बढी व्यक्तिहरू अर्थात् विश्व जनसंख्याको करिब चार प्रतिशतलाई यो रोगले सताएको देखिन्छ। संयुक्त राज्य अमेरिकामा मात्रै हरेक वर्ष दुई करोड व्यक्ति डिप्रेसनबाट पीडित हुन्छन्। यसमध्ये पुरुषको दाँजोमा महिलामा दोब्बर बढी उदासीन रोगले प्रभावित पार्ने गर्दछ।
डब्लुएचओको अध्ययनअनुसार आगामी २०३० मा विश्वव्यापी रुपमा मानिसलाई अशक्ततामा पुर्याउने पहिलो कारण एचआईभी एड्सपछिको दोस्रो कारण डिप्रेसन हुन्छ भनेर भविष्यवाणी गरेको छ। पछिल्लो एक दशक विश्वभर डिप्रेसन रोगबाट प्रभावित मानिसको संख्या करिब १५ प्रतिशतले वृद्धि भएको देखिन्छ।
विश्वमा हरेक ४० सेकेण्डमा एक जना व्यक्तिको मृत्यु आत्महत्याबाट हुने गर्छ। यसमध्ये ७० प्रतिशतभन्दा बढीको कारण कडा खालको डिप्रेसन हो। १५ देखि २९ वर्ष उमेरका व्यक्तिहरूको अकाल मृत्यु हुने कारणहरूमा आत्महत्या दोस्रो प्रमुख कारणमा पर्छ। यदि हामीले समयमा नै रोकथाम प्रयास गरेको खण्डमा आत्महत्या रोकथाम गर्न सकिने वैज्ञानिक तथ्य हामी सामुन्ने छ।
डिप्रेसन एक प्रकारको मानसिक रोग हो। मानसिक रोग भन्नेबित्तिकै जनमानसमा यी रोगहरूप्रति मिथ्या तथा गलत धारणाहरू विद्यमान छन् जसलाई नहटाएसम्म डिप्रेसन रोगको पहिचान, उपचार तथा यसबाट उत्पन्न हुने जटिलतालाई काम गर्न सकिँदैन। डिप्रेसनलाई चिन्नका लागि सबभन्दा पहिले यस प्रकारको रोग पनि हुन्छ भन्ने जानकारी सर्वसाधारण जनमासमा हुनुपर्दछ। बेलाबखत दिक्क जसलाई पनि लाग्छ। उदास पार्ने घटनाहरू जसको जिन्दगीमा पनि घट्न सक्छन्।
विश्वमा हरेक ४० सेकेण्डमा एक जना व्यक्तिको मृत्यु आत्महत्याबाट हुने गर्छ। यसमध्ये ७० प्रतिशतभन्दा बढीको कारण कडा खालको डिप्रेसन हो। १५ देखि २९ वर्ष उमेरका व्यक्तिहरूको अकाल मृत्यु हुने कारणहरूमा आत्महत्या दोस्रो प्रमुख कारणमा पर्छ। यदि हामीले समयमा नै रोकथाम प्रयास गरेको खण्डमा आत्महत्या रोकथाम गर्न सकिने वैज्ञानिक तथ्य हामी सामुन्ने छ।
भनाइ छ, चिन्ता नहुने त मान्छे नै हुँदैन। तर जे कुराको पनि सीमा हुन सक्छ। कुनै घटना विशेष वा ‘टेन्सन’ वा बिना कारण निरन्तर दुई हप्ता वा सो भन्दा बढी समयसम्म हामीलाई दुःखी वा उदास महसुस भइरहन्छ, जब उक्त व्यक्तिमा जाँगर नहुने, शरीरमा ताकत नभएको महसुस हुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, जिउ भारी भइरहने, निन्द्रा खराब हुने, खान मन नलाग्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीनदेखि चारवटा लक्षण हुन्छन् र जब यी लक्षणले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्छ, त्यस अवस्थामा उक्त व्यक्ति उदासीनताको रोग वा सामान्य बोलिचालीको भाषामा डिप्रेसनबाट पीडित भएको शंका गर्नु पर्ने हुन्छ।
कडा खालको डिप्रेसनमा यी लक्षण बाहेक हीनताबोध, आत्मग्लानि हुने वा आफैँलाई हानी पुर्याउने वा आत्महत्या गर्ने सोच आउने हुन सक्छ।
डिप्रेसनबाट पीडित विभिन्न मानिसरूपमा लक्षण फरक फरक तीव्रताको साथ हुनसक्ने भएकोले पीडित व्यक्तिमा उनीहरूको लक्षणमा पनि एकरूपता नभेटिन सक्छ।
हाम्रो मुलुकमा अझै पनि मानसिक रोग भन्ने वित्तिकै पागल हो कि भन्ने स्टिगमा(गलत सोच) जोडिएको हुँदा यो रोगको पहिचान नहुने या समयमा नै उपचार र उचित समयावधिसम्म उपचार नहुनुले यसको जटिलता झन् बढेको पाइएको छ।
तनाव अर्थात् स्ट्रेस नहुने शायद कोही पनि नहोला अझ हाम्रो मुलुक प्राकृतिक विपत्ति, राजनीतिक अस्तव्यस्तता, आर्थिक अनिश्चितता, सामाजिक असुरक्षा, बेरोजगार, गरीवी, कुपोषण, पारिवारिक कलह, अव्यवस्थित शहरीकरण, सामाजिक विभेद इत्यादिको कारण हामीमा प्रशस्त तनाव उत्पन्न भइराखेको देखिन्छ।
तनावले हाम्रो शरीरमा स्ट्रेस हार्माेन जस्तै कार्टिसोल, एड्रिनालिनको स्तर बढाउँदैछ जसका कारण ब्लड प्रेसर, सुगर, थाइराइडको समस्या आउनुको साथै निरन्तर तनावले गर्दा डिप्रेसनका लक्षण देखा पर्न सक्छ र यस बखत मस्तिष्कको कोषबाट निस्कने सेरोटिन नामक रासायनिक पदार्थको कमी हुन जान्छ। एकातिर स्ट्रेस हार्माेन बढ्ने र अर्कोतिर सेरोटिनको कमी भयो भने डिप्रेसनको लक्षण झन् बढ्न सक्छ।
डिप्रेसन कडा मानसिक रोग होइन तथापि यस्लाई समयमा नै उपचार नगरेको खण्डमा यसबाट व्यक्तिहरुमा विभिन्न किसिमका नोक्सानहरु जस्तै काम गर्न सक्ने क्षमतामा कमी, स्मरण शक्ति कमी भएर पढाइको रिजल्टमा ह्रास, आर्थिक नोक्सानी तथा करिब १५ प्रतिशत बिरामीको मृत्यु हुन सक्ने सम्भावना हुन्छ। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख भए अनुसार डिप्रेसनबाट पीडित व्यक्तिको उपचार खर्चको लागि एक डलर लगानी गरेको खण्डमा यसबाट चार डलर बराबरको उत्पादकत्व दिन्छ भन्ने आँकलन छ।
त्यसैले होला डब्लुएचओले विश्वभरका आफ्ना १७४ सदस्य राष्ट्रहरुमा यो सालको विश्व स्वास्थ्य दिवसको नारा ‘डिप्रेसनको बारेमा जानौँ र खुलेर कुरा गरौं (लेट्स टक डिपे्रसन)’ भनेर विभिन्न कार्यक्रमका साथ मनाएको थियो। जसरी हामी अन्य शारीरिक रोगहरु जस्तै ब्लड प्रेसर, सुगर, क्यान्सरको बारेमा चर्चा गर्छौँ, एक आपसमा कुराकानी गर्छौँ ठीक त्यस्तै किसिमले डिप्रेसन र अन्य मानसिक रोगहरूको बारेमा पनि सर्वसाधारणमा जानकारी हुनु, कुराकानी हुनु जरुरी देखिन्छ।
यदि आफूलार्ई डिप्रेसन लागेको जस्तो भान भएमा आफ्नो मनको कुरा आफूले विश्वास गर्ने व्यक्तिसँग कुराकानी गर्नुहोस् अर्थात् मनका कुरा पोख्नुहोस्। यसो गर्दा मन हलुका हुन सक्छ। कुनै स्वास्थकर्मी, डाक्टर वा मनोसामाजिक कार्यकर्ता जो नजिक छ, सम्पर्क गर्नुहोस्। उहाँहरुले सहि सल्लाह, सहि ठाँउ वा विशेषज्ञकोमा जाने सल्लाह दिनुहुन्छ। अाफूलाई मन् लाग्ने वा गरिरहेको काम कुरा गर्नुहोस्। आफन्त वा साथीहरुको संसर्गमा बस्नुहोस्। नियमित रूपमा थोरै भए पनि व्यायाम र हिँड्डुल गरिरहनुहोस्। नियमित खानपान र सुत्ने बानीलाई कायम राख्नुहोस्।
जाँडरक्सी या कुनै लागुपदार्थ सेवन नगरौँ, यसो गर्दा डिप्रेसनले झन् च्याप्न सक्छ। यदि आफ्नो जिन्दगी नै बेकार भएको महसूस भएर आत्महत्या सम्बन्धी सोच आइरहेमा वरपर कसैसँग सहयोग लिनुहोस्। यसका लागि सहयोग लिन त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग अन्तर्गत हटलाइन ९८४००२१६०० फोनमा कुरा गर्न सक्नुहुनेछ। अनि यो याद गरौँ की डिप्रेसनको लागि उपलब्ध वैज्ञानिक तथ्यबाट पुष्टि भइसकेको असरदार आधुनिक औषधीको सेवन तथा मनोविमर्श डिप्रेसन उपचारको अभिन्न अंग हो। जस्को प्रयोगले डिप्रेसनका लक्षणहरूबाट केही हप्तामा नै आराम महसुस गराउँछ, काम गर्न जाँगर पलाउँछ, निन्द्रा, भोक जागेर आउँछ तथा जीवनप्रति सकारात्मक सोच उत्पन्न गराउँछ।
नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई जनताको मौलिक हकको रूपमा स्थापित गरिसकेको सन्दर्भमा र नेपालको स्वास्थ्य नीति २०७१ ले पनि सबै नेपाली नागरिकहरु डब्लुएचओको स्वास्थ्यको परिभाषा अनुरूप शारीरिक, मानसिक र सामाजिक र भावनात्मक रुपमा स्वास्थ्य रही उत्पादनशील र गुणस्तरीय जीवनयापन गर्न सक्षम हुनेछन् भन्ने भावी सोच (भिजन) राखेबाट पनि यस वर्षको नारा ‘डिप्रेसनको बारेमा जानौ र खुलेर कुरा गरौं’ अहिले हाम्रो मुलुकको लागि समसामयिक देखिन्छ।
१० वर्ष भन्दा लामो समयदेखि राजनीतिक अस्थिरता, रोजगारीको लागि युवाहरुको ठूलो जमात विदेश पलायन, जनमासमा बुढाबुढीको बढ्दो अंश, गरीबी, बेरोजगार तथा अव्यवस्थित शहरीकरण, घरेलु तथा लैंगिक हिंसा, सामाजिक विभेद, भूकम्प जस्ता प्राकृतिक विपत्तिको कारण धनजनको क्षतिले निम्त्याएको पीडा आदि जस्ता कारणले नेपालमा डिप्रेसनबाट पीडितको संख्या बढ्दै गएको अनुभव गरिएको छ।
मानसिक तथा मनोसामाजिक समस्याबाट पीडित बालबालिका, किशोरकिशोरी, प्रजनन् उमेर समूहको महिला, गृहणी महिलाहरु, पिछडा व्यक्ति तथा समुदाय बढी जोखिममा रहेको हुनाले राष्ट्रले त्यस्ता व्यक्ति वा समुदायलाई केन्द्रविन्दुमा राखी प्रवर्धनात्मक तथा निरोधात्मक कार्यक्रम सञ्चालन गर्नु र डिपे्रशनबाट पीडितलाई सर्वसुलभ रुपमा देशको प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला तथा अञ्चल अस्पतालहरूमा नै सेवा उपलब्ध गराउन राज्यले समय सापेक्ष उचित कार्यक्रम बनाई तत्काल लागु गर्नुपर्ने देखिन्छ।
वास्तवमा मानसिक स्वास्थ्यको क्षेत्रमा राष्ट्रिय बजेट वृद्धि गरी मानसिक स्वास्थ्य समस्याको रोकथाम, उपचार र पुन: स्थापना काम गर्न सकियो भने त्यसले निश्चित रूपमा व्यक्ति, परिवार र राष्ट्रको उत्पादकत्व बढाउँदछ। डिप्रेसन पनि मानसिक स्वास्थ्य समस्या मध्येको एक प्रमुख रोग भए पनि उपचार नगरेमा डिप्रेसन घातक हुन सक्छ भने अर्कोतिर सही उपचारले धेरैको मुहारमा मुस्कान फर्काउन सकिन्छ। विश्व स्वास्थ्य दिवसले हामी सबैमा यो रोगप्रतिको सकारात्मक सोच विकास र चेतना मिलोस् भन्ने कामना गर्न सकिन्छ।
डा. सुनिल चन्द्र झाकाे ‘डाक्टर साहेब भन्नुहुन्छ…’ किताबबाट
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा