कस्तो मेहन्दी लगाउने ? यस्तो छ छालारोग विशेषज्ञ डा कर्णको सल्लाह

हेल्थ टिभी अनलाइन : नेपालमा साउन महिना सुरु भएदेखि महिलाहरुले हातभरी र खुट्टामा पनि मेहन्दी लगाउने चलन छ । अझ हिन्दु तथा मुस्लिम समूदायमा विशेष गरी खास पर्व एवम शुभ कार्यमा महिलाहरुले सुन्दर फुलबुट्टा भरेर हातमा मेहन्दीको प्रयोग गर्ने प्रचलन पाइन्छ । यसको प्रयोग हातमा मात्र नभएर कपालमा पनि लगाउने गरिन्छ । मेहन्दी नेपाली महिलाहरूमा सौन्दर्यका लागि अनिवार्य तत्त्व जस्तै बनिसकेको छ। तर विचार नपुराइ मेहन्दी लगाउँदा पछुताउनुपर्ने अवस्था पनि आउन सक्छ। बजारमा पाइने सबै मेहन्दी स्वस्थकर हुन्छ भन्ने छैन। त्यसैले हाेस पुराउन जरूरी हुन्छ ।
विभिन्न पर्व उत्सवमा यसरी मेहन्दी लगाउनु आफैमा नराम्रो होइन । तर मेहन्दीको गुणस्तर कस्तो छ भन्नेमा भने ध्यान पुराउन जरुरी हुन्छ । मेहन्दी लगाउँदा हातखुट्टा कलरफूल हुन्छ र गाढा रंगले हेर्दा आकर्षक र सुन्दर देखिन्छ। तर यही राम्रो हुनका लागि लगाइने मेहन्दी यदि गुणस्तरहीन तथा खराब केमिकलयुक्त भएमा यसले छालामा मात्र होइन हाम्रा महत्वपूर्ण अंग मुटु, मिर्गौलामा समेत असर पार्न सक्छ ।
कस्तो मेहन्दी राम्रो त ?
यदि तपाइँ साउनमा वा कुनै चाड पर्वमा मेहन्दी लगाउन चाहनुहुन्छ भने प्राकृतिक रुपमा पाइने मेहन्दीको बोटबाट पात टिपेर ल्याएर लगाउनु सबैभन्दा उत्तम हो । यसले हाम्रो छालालाई कुनै हानी गर्दैन । यसमा पानी वा तेल मिसाएर पेस्ट बनाएर लगाउन सकिन्छ । यो २ देखि ६ घण्टासम्म राखेमा मेहन्दीको आफनो रेड ब्राउन कलर आउने हुन्छ जुन आफैमा प्राकृतिक कलर मानिन्छ । यो पहिले पहिले टिका चन्दनमा पनि प्रयोग हुने गर्दथ्यो । यसमा ल्वाङ, नरिवलको तेल, कसैकसैले रङ गढा बनाउनका लागि चियापत्तीको पानी, कफी जस्ता कुराहरुपनि मिसाउने गरेको पाइन्छ । यो मिश्रण पनि प्राकृतिक नै हो । प्राकृतिक रुपमा बनाइने मेहन्दीको रंग ओरन्ज रेड र खैरो हुन्छ र हुनुपर्छ ।
केमिकलयुक्त मेहन्दीकाे छालामा गम्भीर असर
प्राकृतिक मेहन्दी आफैमा राम्रो मानिए पनि अहिले बजारमा यसप्रकारको मेहन्दी पाउनै छोडेको छ भन्दा पनि हुन्छ । विभिन्न किसिमको केमिकल मिसाइएका मेहन्दी बजारमा पाइन्छन्। जसले गर्दा मेहन्दी लगाउनेलाई छालाको एलर्जीदेखि घाउखटिरा हुनेसम्मको समस्या आउने गरेको छ । कहिलेकाहीं शरीरका भित्री अंगहरुमा समेत यसले असर पार्न सक्छ।
अहिले बजार पाइने मेहन्दीमा पारा–फेनाइलानेदायमाइन नामक कडा खालको केमिकल मिसाइएको हुन्छ। जसले मेहन्दीको रंग गाढा बनाइदिन्छ। त्यसैले व्यापारीहरुले तुरुन्त रङ ल्याउन र गाढा बनाउन खराब केमिकलको बढी प्रयोग गर्ने गरेको पाइन्छ । यसले धेरैलाई छालामा तत्कालिन र दीर्घकालिन असर पारेको देखिन्छ । विकसित देशहरुमा मेहन्दीमा कति केमिकलको मात्रा राख्ने भन्ने मापदण्ड तोकेको हुन्छ तर हामीकहाँ त्यस्तो कुनै मापदण्ड छैन् । त्यसैले उपभोक्ता आफै सचेत हुन जरूरी छ ।
मेहन्दीको एलर्जी छ छैन् भन्ने थाहा पाउन सुरुमा थोरै मेहन्दी लिएर कानको पछाडी, काखीमा वा खुट्टामा लगाएर केही घण्टा राखेर हेर्न सकिन्छ । यदि यी भागमा लगाउँदा रातो भएमा, चिलाएमा त्यस्ता व्यक्तिले मेहन्दीको प्रयोग गर्न हुँदैन । कतिले त मेहन्दीमा पेट्रोल तथा मट्टीतेल मिसाउँदा गाढा रङ आउँछ भनेर प्रयोग गरेको पनि सुनिन्छ । यो त झनै घातक हुनजान्छ ।
यसरी अत्यधिक रसायनयुक्त मेहन्दीको प्रयोग गर्दा शरीरमा तत्कालिन र दीर्घकालिन असर देखाउन सक्छ।
तत्काल देखिने असरहरुमा :
मेहन्दी लगाएको भाग चिलाउने,
छालामा रातो डाबर आउने
घाउ, खटिरा आउने
छाला सुख्खा हुने
घाउ, खटिराबाट पानी आउने
गन्धले टाउको दुख्ने
दीर्घकालिन देखिने असरहरुमा :
पूरै जीउमा डाबर आउने
हातखुट्टा सुन्निने
ज्वरो आउने
कालो दाग बस्ने
छालामा मासु बाहिर उठेर आउने
आँखा रातो हुने, पोल्ने
यदि मेहन्दीको एलर्जी भएमा तुरुन्त चिकित्सक अझ छाला रोग विशेषज्ञसँग परामर्श लिएर उपचार गराउनुपर्छ । पहिले नै छालामा समस्या भएका सुख्खा छाला भएका, कुनै क्रिम तथा फरफ्युमको एलर्जी भएकाले यस प्रकारको मेहन्दीको प्रयोग गर्नै हुँदैन । यदि गर्ने परेमा प्राकृतिक मेहन्दीको पातको पेस्ट बनाएर लगाउन सकिन्छ ।
(प्राडा धर्मेन्द्र कर्ण वरिष्ठ छालारोग विशेषज्ञ हुन्।)
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा