क्यान्सर रोग र नर्सको भूमिका

लहरमाया भासिंक, मेट्रोन, नेपाल क्यान्सर अस्पताल
क्यान्सर भन्ने वित्तिकै धेरै जना बिरामी डराउने गरेको पाइन्छ । उहाँहरु उपचारमा आउँदा आत्तिएको भेट्छौं । सुरुमा त उहाँहरुलाई राम्ररी सम्झाउन तथा क्यान्सर लाग्दैमा मरिंदैन यसको समयमै उपचार गरेमा निको हुन्छ भन्ने कुराको जानकारी दिन जरुरी हुन्छ । त्यसपछि उपचारको पाटो त छँदैछ । काउन्सिङ र उपचार दुबैमा नर्सको भूमिका निकै महत्वपूर्ण हुन्छ ।
नर्स भनेको बिरामीका परिवार तथा साथी जस्तै हुन्छन् किनकी जब उपचार सुरु हुन्छ सबैभन्दा बढी समय बिरामीसँग बिताउने भनेकै नर्सले हो ।त्यसैले पनि एक जना बिरामीलाई निको बनाउन नर्सको भूमिका निकै महत्वपूर्ण हुनजान्छ ।
क्यान्सर पनि विभिन्न किसिमको हुन्छ । कस्तो क्यान्सर कुन स्टेजमा आएको छ त्यसको उपचार त्यही अनुसार सुरु गरिन्छ । हुन त हामी नर्सको काम क्यान्सर लाग्नुभन्दा पहिले स्क्रिनिङ देखि नै सुरु हुन्छ । तर अझ बढी भने जब बिरामी अस्पतालमा आउँछन् र उपचार सुरु हुन्छ त्यसबेला अझ बढी हुन्छ । बिरामीको अवस्था अनुसार कसैलाई किमोथेरापी, कसैलाई इम्युनोथेरापी, रेडियोथेरापी, शल्यक्रिया लगायतका उपचार गरिन्छ । त्यसबेला डाक्टरसँगै नर्स पनि सँगसँगै हुन्छन्। बिरामीलाई किमो दिनु परेमा त्यसको डाक्टरले भने बमोजिम मात्रा मिलाउने तथा सही डोज बनाउने र सही तरिकाले सही समयमा बिरामीलाई दिने काम नर्सले नै गर्छन । हुन त हामीले डाक्टरले लेखिदिए बमोजिमकै औषधि दिने हो तर थोरै पनि तलमाथि भयो भने त्यसले काम गर्दैन । त्यसैले पनि नर्स बढी सिपालु हुन जरुरी हुन्छ । त्यसमा हामी सधैं सचेत हुन्छौं ।
क्यान्सरको उपचार यसै पनि जटिल र बढी समय लाग्ने हुन्छ । त्यसैले क्यान्सर बिरामीको रेखदेख गर्ने नर्सले क्यान्सरसम्बन्धी विशेष तालिम लिएको हुनुपर्छ । किनकी यसमा केही बिरामीलाई उपचारका क्रममा शरीरमा डिभाइस राख्नुपर्ने हुन्छ । त्यसको सही प्रयोग गर्न जान्न जरुरी हुन्छ । यसैगरी केही औषधि नसाबाट दिने हुन्छन भने केही औषधि ओरल हुन्छन्। यी सबै जानकारी नर्सले राख्न पर्छ र त्यही अनुसार बिरामीलाई दिनुपर्छ ।
यसैगरी शल्यक्रिया गर्नुपर्ने बिरामीको प्रि अपरेटिभ, इन्ट्रा अपरेटिभ र पोस्ट अपरेटिभका क्रममा पनि नर्सले नै सबै म्यानेज गर्छन्। बिरामी शल्यक्रिया गर्न जाने बेलामा आत्तिएका हुन्छन् त्यसबेला आफन्त पनि भित्र जान पाउँदैनन त्यसबेला नर्स नै आफन्त जस्तै बनेर सम्झाउने, ढाडस दिने काम गर्नुपर्ने हुन्छ । यसैगरी शल्यक्रिया भइरहेका बेला सबै सामान मिलाउने, सही तरिकाले स्ट्रेरलाइज्ड सामान छ छैन जाँच गर्ने काम नर्सले गर्छन । ताकी पछि कुनै इन्फेक्सन वा असजिलो नहोस्।
यसैगरी शल्यक्रिया पछि पनि बिरामीको केयरमा नर्स २४ घण्टा नै खटिएका हुन्छन्। शल्यक्रिया पश्चात आउनसक्ने जोखिमकाबारेमा उनीहरुलाई जानकारी गराइएको हुन्छ । यदि त्यस्ता जोखिम देखिएमा तुरुन्त डाक्टरलाई खबर गर्ने काम नर्सले गरिरहेका हुन्छन ताकी बिरामीको उपचारमा ढिला नहोस्।
यो बेला बिरामीलाई खान मन नलाग्ने, दुखाई हुने लगायतका समस्या हुन सक्छन् त्यसको सही विश्लेषण गर्ने तथा सही व्यवस्थापन गर्ने काम पनि नर्सले नै गर्छन । यसरी एक जना क्यान्सर बिरामी उपचारमा हुँदा होस् वा निको भएर फलो अपमा आउँदासम्म होस् नर्सको भूमिका महत्वपूर्ण मात्र होइन धेरै नै महत्वपूर्ण हुन्छ भन्न सकिन्छ ।
(नर्स लहरमाया भासिंक नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा मेट्रोनको रुपमा कार्यरत छिन्।)
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा