Health TV Online
Health TV Online
Health TV Online

नेपालमा पहिलो पटक उत्पादन भएको क्यान्सरको औषधि बजारमा

नेपालमा पहिलो पटक उत्पादन भएको क्यान्सरको औषधि बजारमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमै पहिलो पटक उत्पादन भएको क्यान्सर रोगबिरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) बजारमा आउन सुरु भएको छ । टिजिग फर्मा प्रालिबाट उत्पादित एन्टि क्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आउन थालेको हो । यो संगै टिजिग फार्मा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ ।

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार अहिले नेपाल भित्रै बिक्री बितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ । उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको बताए । वैद्यले आफ्नो कम्पनी क्यान्सर रोगबिरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी भएको दाबी समेत गरेका छन् । टिजिग फार्मा भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याव (एसपीएएल)संग प्रविधि हस्तान्तरण सम्झौँता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्टार्डड र नेपालको प्रविधि हस्तान्तरण सम्वन्धि ऐन अनुसार नै सञ्चालनमा ल्याएका हौँ, संस्थाका कार्यकारी निर्देशक वैद्यले अगाडी थपे, संस्था स्थापनामा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन निर्देशिका, औषधी ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) तथा विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरिएको छ र संचालनमा पनि उल्लेखित सम्पूर्ण ऐन नियमहरुका पालना हुनेछ ।

कार्यकारी निर्देशक वैद्यले टिजिग फर्मामा औषधि उत्पादन, विश्लेषण आदि कार्यका लागि सम्बन्धित विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालको औषधी ऐन र नियमावलीमा रहेका व्यवस्था तथा सम्बन्धित औषधिहरुको ग्रन्थमा गरिएका व्यवस्था बमोजिम हुने गरेको बताए । उनले थप एसपीएएल (डब्लुएचओ जीएमपी, इयुजीएमपी सर्टिफाईड) समेतको व्यवस्थापन तथा निगरानी हुने गरेकाले औषधिको गुणस्तर नियन्त्रण, नियमनमा बलियो आधार बसेको बताए । वैद्यले कम्पनीको उत्पादन विश्वस्तरकै रहने दावी गर्नुका साथै यही कारणले पनि आफ्ना उत्पादन निर्यात हुने बलियो आधार समेत रहेको दावी गरे । टिजिग फार्माबाट उत्पादन हुने एन्टिक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने पनि कार्यकारी निर्देशक बैद्यले बताए । हामीले अहिले उत्पादन गरेका औषधि यस अघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हट्नेछ । उही औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत अवश्य दिनेछौँ। अर्को कुरा नेपालमै उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता समेत हुनेछ। औषधि अभाव होला कि वा नपाइएला कि भन्ने डर हुँदैन, उनले भने ।

यसैबीच टिजिग फर्माले मंगलबार एक औपचारिक कार्यक्रम गरी स्वदेशी तथा विदेशी बजारमा जाने तयारी भएका औषधिको सार्वजनिककरण गरेको छ । क्यान्सररोग विशेषज्ञ, औषधि व्यवस्था विभागका प्रतिनिधिले टिजिगद्धारा उत्पादित क्यान्सर रोग विरुद्धका औषधिको प्रडक्ट लन्च गरेका छन् ।

सो अवसरमा बोल्दै भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक समेत रहो बरिष्ठ क्यान्सररोग विशेषज्ञ डा विष्णुद्धत्त पौडेलले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन हुनु गर्वको विषय रहेको भन्दै यसको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।अर्का क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले विदेशी टेक्नोलोजी र लगानी भित्र्याई क्यान्सर रोग विरुद्धको औषधि उत्पादन हुनु सबैका लागि खुशीको कुरा रहेको भन्दै, टिजिगले उत्पादन गरेका सबै औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनु पर्ने बताए । नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने कुरा पछिल्लो पटक क्यान्सरको औषधि उत्पादन हुनुले प्रमाणित भएको भन्दै स्वदेशी उद्योगको औषधिमा आत्मनिर्भरता हुनुपर्छ भन्ने नीतिमा इट्टा थपेको बताए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका सन्तोष केसीले छ दशक अघिबाट नेपालमा औषधि उत्पादन सुरु भएको इतिहास कोट्याउँदै टिजिगबाट उत्पादित औषधि पछिल्लो उदाहरण भएको बताए । उनले उत्पादित औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार