नेपाल औषधी उत्पादक संघ भन्छ- ‘सिटामोल लगायत कुनै पनि औषधीको अभाव हुन दिंदैनौं’
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधी उत्पादक संघ (एपोन) ले देशमा सिटामोल लगायत कुनै पनि औषधीको अभाव नभएको र हुन नदिने बताएको छ । संघले आज विज्ञप्ति जारी गर्दै बजारमा चलाइएको हल्ला जस्तो सिटामोलको अभाव नभएको र स्वदेशी औषधी कम्पनीहरुले धमाधम बजारमा सिटामोल पठाइरहेको जनाएको हो ।
संघले स्वदेशी औषधी उद्योगीहरुको मानमर्दन गर्दै आयातलाई प्रोत्साहन गर्ने केही व्यक्तिहरुबाट बजारमा सिटामोल अभावको हल्ला चलाएको पनि जनाएको छ ।
नेपालमा वर्षेनी ७ करोड चक्की सिटामोल खपत हुने गरेको र त्यसमध्ये ९९ प्रतिशत नेपाली स्वदेशी उद्योगले नै पूर्ति गरिरहेको संघले जनाएको छ । बढी हल्लाका कारण सर्वसाधारणले आवश्यकताभन्दा बढी औषधी सञ्चय गरेर राखेका कारण सजिलै नपाइएको हुनसक्ने तर अब भने कम्पनीहरुले धमाधम उत्पादन गर्न थालेकाले यसको अभाव हुन नदिने जनाइएको छ ।
पुस महिनामा ४३ लाख चक्की बजारमा पठाइएको र माघ पहिलो साता मात्रै ३५ लाख चक्की र थप ३५ लाख माघ अन्त्यसम्म बजारमा पठाइने पनि संघले जानकारी दिएको छ । संघका अध्यक्ष प्रज्वल जंग पाण्डे र महासचिव विप्लव अधिकारीद्धारा जारी गरिएको विज्ञप्तिमा विश्व बजारमा कच्चा पदार्थको मूल्य तीन गुणा बढ्दा समेत स्वदेशी कम्पनीहरुले १५ वर्ष अघिकै मूल्यमा सिटामोल लगायतका औषधी उत्पादन र बिक्री गरिरहेको उल्लेख छ ।
भुकम्पका बेला होस वा भारतको नाकाबन्दी वा कोरोनाको पहिलो लहर यी सबै समयमा स्वदेशी उद्योगले कुनै पनि औषधीको अभाव हुन नदिएको र अब पनि हुन नदिने विज्ञप्तिमा उल्लेख छ । संघले सर्वसाधारणलाई आफूलाई चाहिनेभन्दा बढी औषधी सञ्चय गरेर नराखिदिन पनि आग्रह गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित