नेपाल औषधी उत्पादक संघ भन्छ- ‘सिटामोल लगायत कुनै पनि औषधीको अभाव हुन दिंदैनौं’
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधी उत्पादक संघ (एपोन) ले देशमा सिटामोल लगायत कुनै पनि औषधीको अभाव नभएको र हुन नदिने बताएको छ । संघले आज विज्ञप्ति जारी गर्दै बजारमा चलाइएको हल्ला जस्तो सिटामोलको अभाव नभएको र स्वदेशी औषधी कम्पनीहरुले धमाधम बजारमा सिटामोल पठाइरहेको जनाएको हो ।
संघले स्वदेशी औषधी उद्योगीहरुको मानमर्दन गर्दै आयातलाई प्रोत्साहन गर्ने केही व्यक्तिहरुबाट बजारमा सिटामोल अभावको हल्ला चलाएको पनि जनाएको छ ।
नेपालमा वर्षेनी ७ करोड चक्की सिटामोल खपत हुने गरेको र त्यसमध्ये ९९ प्रतिशत नेपाली स्वदेशी उद्योगले नै पूर्ति गरिरहेको संघले जनाएको छ । बढी हल्लाका कारण सर्वसाधारणले आवश्यकताभन्दा बढी औषधी सञ्चय गरेर राखेका कारण सजिलै नपाइएको हुनसक्ने तर अब भने कम्पनीहरुले धमाधम उत्पादन गर्न थालेकाले यसको अभाव हुन नदिने जनाइएको छ ।
पुस महिनामा ४३ लाख चक्की बजारमा पठाइएको र माघ पहिलो साता मात्रै ३५ लाख चक्की र थप ३५ लाख माघ अन्त्यसम्म बजारमा पठाइने पनि संघले जानकारी दिएको छ । संघका अध्यक्ष प्रज्वल जंग पाण्डे र महासचिव विप्लव अधिकारीद्धारा जारी गरिएको विज्ञप्तिमा विश्व बजारमा कच्चा पदार्थको मूल्य तीन गुणा बढ्दा समेत स्वदेशी कम्पनीहरुले १५ वर्ष अघिकै मूल्यमा सिटामोल लगायतका औषधी उत्पादन र बिक्री गरिरहेको उल्लेख छ ।
भुकम्पका बेला होस वा भारतको नाकाबन्दी वा कोरोनाको पहिलो लहर यी सबै समयमा स्वदेशी उद्योगले कुनै पनि औषधीको अभाव हुन नदिएको र अब पनि हुन नदिने विज्ञप्तिमा उल्लेख छ । संघले सर्वसाधारणलाई आफूलाई चाहिनेभन्दा बढी औषधी सञ्चय गरेर नराखिदिन पनि आग्रह गरेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल