‘चिकित्सकले दिएको औषधि नै मेरो जीवनका लागि अभिशाप बन्यो’

२० वर्षअघि म १२ वर्षकी थिएँ। कक्षा ७ मा पढ्थे। खेल्ने, खाने र कुद्ने उमेर थियो। घरपरिवारको साथमा रमाइलोसँग जीवन बितिरहेको थियो। पढाइमा अब्बल भएकाले विद्यालयमा पनि सबैको प्रिय थिएँ।
एक दिन अचानक आँखा दुख्ने र रातो हुने समस्या भयो। एक दुई दिन त केही होइन होला भन्ने लाग्यो पछि झन् झन् रातो भयो र टाउको पनि दुख्न थाल्यो। त्यसपछि मलाई मम्मीले आँखा जाँचका लागि त्रिपुरेश्वरस्थित नेपाल अाँखा अस्पताल लैजानुभयो। आँखा अस्पतालमा चिकित्सकले टाउकोमा समस्या हुनसक्छ भनेर नजिकैको ब्लुक्रस अस्पताल पठाइदिनुभयो।
मलाई त्यो दिन अझै सम्झना छ, मैले ‘मम्मी म आफैँ ठिक हुन्छु। अरु अस्पताल नजाऊँ। त्यहाँ सुई लगाउँछ’ भनेको। तर मम्मीले ‘डाक्टरले टाउकोमा समस्या छ भन्नुभा‘छ, देखाउनुपर्छ’ भन्नुभयो। ब्लुक्रसमा हामीलाई न्यूरोलोजिस्ट डा.दिनेशविक्रम शाहलाई भेट्नु भनेर पठाइएको थियो। हामीले उहाँलाई भेट्यौँ। उहाँले शुरुमा सिटी स्क्यान लगायतका जाँच गर्न लगाएर ‘रिपोर्ट लिएर आउनु’ भन्नुभयो।
हामी तेस्रो दिन रिपोर्ट लिएर डाक्टरलाई भेट्न गयाैँ। उहाँले रिपोर्ट हेरेर ‘तिम्रो टाउकोमा किराको फूल छ, त्यसैले समस्या भएको हो’ भन्नुभयो। योसँगै उहाँले तुरुन्तै उपचार नगरे जे पनि हुनसक्छ भनेर औषधि खानुपर्ने बताउनुभयो। हामीले डाक्टरले सल्लाह भने बमोजिम नै औषधि गर्ने भयौँ। उहाँले ‘टेग्रेटल’ नामक औषधि दिनुभयो। मैले औषधि खान शुरु गरेँ।
औषधि शुरु गरेको एक साता पछि मेरो शरीरमा केही परिवर्तन देखिन थाल्यो। शरीर कालो हुँदै गयो। शरीरको छाला पत्र पत्र भएर निस्कन थाल्यो। आँखा कम देखे जस्तो लाग्यो। मम्मीलाई भनेँ। उहाँले तुरुन्त डा.शाहकोमा लगेर सबै कुरा भन्नुभयो तर डाक्टरले यस्तो केही हुँदैन। औषधिले काम गरेको हो भनेर हामीलाई पठाइदिनुभयो। डाक्टरले भनेपछि होला त भनेर विश्वास गर्नुको विकल्प थिएन। किनकी हामी अझै पनि डाक्टरलाई भगवानकै रूपमा हेछौँ।
रोग बिसेक हुनु कहाँ, समस्या झन् बल्झिन थाल्यो। औषधि निल्न नै गाहो हुन थाल्यो तर, पनि कडा रोग लागेको छ भनेर मैले नटुटाई थुकले भिजाएर मुखमै गलाएर औषधि निलेको अझै याद आउँछ।
शरीरमा भएकाे असह्य पीडाले म रोइरहन्थेँ। कान्ति अस्पतालका डाक्टरले मेरो जीवन रक्षाका लागि धेरै मेहेनत गर्नुभयो। पैतालामा अलिअलि मासु रहेछ। त्यहीँबाट सुई र सलाइन दिइन्थ्यो। असाध्यै दुख्थ्यो। रुन्थेँ तर, आँसु पुछ्नसक्ने अवस्थामा थिइँन। आँसु पुछ्न खाेज्दा हातमा छाला नै आउँथ्यो।
अाैषधिले म झन् झन् थलिँदै गएँ। मेरो आँखा नै बन्द हुन थाल्यो। हिँडडुल गर्न नसक्ने भएँ। मलाई लिएर जान नसकेपछि मम्मी एक्लै गएर डाक्टरलाई ‘मेरो छोरी यस्ती भई। के औषधि दिनुभएको’ भन्दा डाक्टरले ‘अन्तै लैजानु’ भन्ने जवाफ दिनुभएछ। मम्मी रुँदै घर आउनुभयो र मलाई कान्ति बाल अस्पताल लिएर जानुभयो। त्यति बेलासम्म मेरो शरीर पूरै कुहिसकेकोे थियो। जहाँ छोयो त्यहीबाट मासु निस्कने हुन थालेको थियो। म आफैँ होइन कि जस्तो लाग्थ्यो। घरमा यताउता फुरफुर गर्ने म कुजिएँ, चिकित्सकको गलत औषधिले।
कान्तिमा डाक्टरले हेर्ने बित्तिकै औषधिकाे ‘साइड इफेक्ट’का कारण यस्तो भयो भनेर तुरुन्त पहिलेको औषधि फाल्न लगाउनुभयो। त्यसपछि शुरु भयो उपचार। मेरो शरीर नजिक कोही पनि पर्न चाहँदैनथे। सुई लगाउनलाई मासु नै थिएन जहाँ छोयो त्यहीँबाट मासुको पत्र निस्कन्थ्यो। कहीँ ठाउँ नपाएर उहाँहरूले पैतालाबाट सुई लगाउनुहुन्थ्यो। त्यो पीडा सम्झिँदा अहिले पनि मेरो आँखाबाट आँसु आउँछ।
ती दिन सम्झिँदा आज पनि कहाली लाग्छ। शरीरमा जताततै पीडा मात्र हुन्थ्यो। म रोइरहन्थेँ। कान्तिका डाक्टरले मेरो जीवन रक्षाका लागि धेरै मेहेनत गर्नुभयो। पैतालामा अलिअलि मासु रहेछ। त्यहीँबाट सुई र सलाइन दिइन्थ्यो। असाध्यै दुख्थ्यो। रुन्थेँ तर, आँसु पुछ्न सक्ने अवस्था थिएन। आँसु पुछ्न खाेज्दा हातमा छाला नै आउँथ्यो।
कान्ति बाल अस्पतालबाट गएपछि पनि डाक्टरलाई भेटेर कुरा गरौँ भनेर गर्यौँ। तर उहाँले ‘यस्तो त कति हुन्छ, हुन्छ। तिमी जहाँ जाने हो, जे गर्ने हो गर !’ भनेपछि हामी न्यायका लागि लड्ने निर्णयमा पुग्यौँ।
उपचार चल्दै थियो। मेरो जीवन त बर्बाद भयो। अरु बिरामी पनि यसरी बर्बाद नहुन् भनेर म र मेरी आमा कानुनी लडाइँ लड्ने मनस्थितिमा पुग्यौँ। नेपालमा सम्भवतः कुनै चिकित्सकविरुद्ध बिरामीले मुद्दा हालको यो नै पहिलो केस होला। हाम्रो लडाइँमा साथ दियो प्रो पब्लिकले। मेरी आमाले त्यसबेला भोग्नुभएको पीडा असह्य थियो। नेपालमा न्याय पाउन सजिलो छैन।
म त उठ्न सक्ने अवस्थामा नै थिइनँ। मेरी मम्मीले मेरो छोरी जस्तै अरु छोरीको यस्तो अवस्था नहोस् भन्दै गल्ती गर्ने चिकित्सकलाई कारवाही र क्षतिपूर्तिका लागि जिल्ला प्रशासनमा मुद्दा दायर गर्नुभयो। मेरो उपचारमा थुप्रै पैसा लागिरहेको थियो। यो बिचमा मैले एउटा आँखाकाे ज्याेति गुमाएँ।
यता नेपाल मेडिकल काउन्सिलमा पनि मम्मीले मुद्दा दर्ता गराउनुभयो। एकातिर मेरो अवस्था अर्कोतिर न्यायका लागि लडाइँ। अत्यन्त कठिन अवस्थामा पनि म र मम्मीले हार खाएनौँ। जिल्ला प्रशासनले डाक्टरको गल्तीले बच्चीको ज्यान नै जोखिम भएको र अंगभंग भएको भन्दै डा.शाहलाई दोषी देखाएर एक लाख १७ हजार रुपैयाँ जरिवाना तिर्न आदेश दियो। तर उहाँले तिर्न मान्नुभएन।
तिर्दिन भनेर पुनरावेदन जानुभयो। अदालतले पनि उहाँलाई नै दोषी देखाउँदै थप पाँच लाख क्षतिपूर्ति दिन आदेश दियो। त्यो क्षतिपूर्ति रकम लिन हामीलाई वर्षाैँ लाग्यो।
मेडिकल काउन्सिलले एउटा मुद्दा फैसला गर्न साढे तीन वर्ष लगायो। तर चिकित्सकको पक्षमै निर्णय सुनायो। त्यसअघि काउन्सिलका पदाधिकारीले मेरो मम्मीलाई गरेको व्यवहारले हामीले त्यहाँबाट न्याय पाइन्छ जस्तो लागेकै थिएन। आफ्नो मातहतका चिकित्सकको पक्षमा नलागेर हामीजस्तो पीडितका पक्षमा किन लागोस् काउन्सिल!
अहिले पनि मेरो स्वास्थ्यमा अनेकौँ किसिमका समस्या आउँछन्। एक चिकित्सकले गरेको भयानक गल्तीको परिणाम चुपचाप भोग्न बाध्य छु। शारीरिक पीडा त छँदैछ, मानसिक पीडा भइरहन्छ। अाफू यस्ताे भए पनि पीडामा परेकाहरूलार्इ कसरी सहयाेग गर्न सकिन्छ साेचिरहेकी हुन्छु। प्रयास गरिरहेकी हुन्छु।
१२ वर्षमा खोलो पनि फर्किन्छ भन्छन्। १२ वर्षको संघर्षपछि अन्ततः न्याय हामीले पायौँ। तर यो बीचमा मैले र मेरी मम्मीले भोग्नुपरेका मानसिक र शारीरिक पीडा जो कसैले आँकलन गर्न सक्दैन।
एक चिकित्सकले गलत औषधि दिएर मेरो जीवन नै अन्धकारतर्फ धकेलिदिनुभयो। अर्का चिकित्सकले म मर्नै लागेकी बच्चीलाई रातदिन खटेर बचाउनुभयो। त्यसैले सबै खराब हुन्छन्, सबैले गल्ती गर्छन् भन्ने होइन। तर बिरामीको संवेदनशीलता चिकित्सकले बुझ्नुपर्छ जस्तो लाग्छ। एउटा रोग ठिक होला भनेर खाएको औषधिले मेरो जीवनको सबै रंग उडाएर लग्यो। पूरै जीवन अन्धकारमा धकेलिदियो।
उपचारका क्रममा चिकित्सकले दिएको औषधि नै मेरो जीवनका लागि अभिसाप बन्यो। हुन त कुनै पनि चिकित्सकले आफनो बिरामीलाई अप्ठेरो होस् भनेर सोच्दैन। त्यो म पनि बुझ्छु। हरेक औषधिको साइड इफेक्ट हुन्छ भन्ने मलाई थाहा भयो। तर आफ्नो बिरामी प्रति चिकित्सक पनि उत्तरदायी बन्नुपर्छ। मेरो केसमा डाक्टर शाहले शुरुमै ‘यस्तो हुनसक्छ भनिदिएको भए आज म यो अवस्थामा आइपुग्दैनथेँ।
डा.शाहले जानी जानी मलाई औषधि दिनुभएको पनि म भन्दिन तर मेरो शरीरमा जे भयो त्यसबारे उहाँ संवेदनशील नबन्नुभएकै शतप्रतिशत हो। त्यसो भन्दैमा सबै डाक्टर गलत हुन्छन् भन्ने निष्कर्ष मेरो होइन। मेरो केसमा गल्ती भएको हो भन्ने प्रमाणित पनि भयो। कम्तीमा सम्बन्धित डाक्टरले ‘गलत औषधि परेछ, म हेर्छु’ भनेर संवेदनशीलता देखाएको भए कुरा अर्कै हुन्थ्यो। हामी मुद्दा मामिलामा जानु पर्दैनथ्यो।
त्यसैले हाम्राे लडाइँ कुनै एक चिकित्सकविरुद्ध थिएन। उनको प्रवृत्तिविरुद्ध थियो।
मैले मेरो शरीरसँग धेरै लडेँ। पढ्ने र खेल्ने उमेरमा स्वास्थ्यमै सम्पूर्ण ध्यान गयो। अहिले म ३२ वर्षकी भएँ। अहिले पनि मेरो स्वास्थ्यमा अनेकौँ किसिमका समस्या आउँछन्। अहिले पनि मेरो समस्या कम छैन। चिसो सहनै सक्दैन शरीरले।
छालामा एलर्जी भइरहन्छ। फोक्सोमा समेत असर गरेकाले अहिले पनि श्वासप्रश्वासमा समस्या आइरहन्छ। मैले अहिले पनि औषधीमै धेरै पैसा खर्च गरिहनुपरेको छ।
एक चिकित्सकले गरेको भयानक गल्तीको परिणाम भाेगिरहेकी छु। शारीरिक पीडा त छँदैछ, मानसिक पीडा भइरहन्छ अहिले पनि।
बिरामीकाे जीवनसँग खेलबाड गर्ने चिकित्सकविरूद्ध मैले लडेकाे लडाइँ अरूकाे लागि पनि प्रेरणा हाेस् भन्ने चाहनाले अाफ्नाे भनाइ सार्वजनिक रूपमा राखेकी हुँ। अाफू यस्ताे भए पनि पीडामा परेकाहरूलार्इ कसरी सहयाेग गर्न सकिन्छ साेचिरहेकी हुन्छु। प्रयास गरिरहेकी हुन्छु।
यसरी नै अघि बढिरहेकाे छ मेराे जीवनयात्रा!
केसीसँग हेल्थ टिभी अनलाइनकी कल्पना अाचार्यले गरेकाे कुराकानीमा अाधारित।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा