‘चुरोट सेवन गर्नेमा हृदयघात हुने सम्भावना ८ गुणा बढी’
नेपालमा चुरोटकै कारण युवाअवस्थामै हृदयघात बढ्दो
हेल्थ टिभी अनलाइन \काठमाडौं : युवा अवस्थामै चुरोटको सेवन गर्ने युवाहरुमा हृदयघात हुने सम्भावना नखानेको तुलनामा ८ गुणा बढी हुने विज्ञहरुले बताएका छन्। शहिद गंगालाल ह्दयरोग प्रतिष्ठानका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा चन्द्रमणी अधिकारीले चुरोट सेवन गर्नेमा हृदयघात हुने सम्भावना अन्यको तुलनामा ८ गुणा बढी हुने भन्दै यो कुरा सबैले बुझ्न आवश्यक भएको जनाए । उनले नेपालमा पछिल्लो समय कम उमेरमै चुरोटको सेवन गर्नेको संख्या बढेको र त्यसले गर्दा पहिले पहिले ४० पछि हुने भनिएको हृदयघात २० \२५ कै उमेरमा देखिन थालेको जिकीर गरे । बुधबार एक्सन नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य पत्रकार मञ्च, द यूनियन र एपिक्याटको संयुक्त आयोजनामा गरिएको सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी बहुपक्षीय पैरवी बैठकमा उनले यस्तो बताएका हुन्।
यसैगरी डा अधिकारीले चुरोटको सेवनमा युवा मात्र नभई युवतीहरु पनि निकै अघि रहेको जनाउँदै यसले झनै चिन्ताको विषय थप गरेको बताए । उनले चुरोटको सेवन गर्ने महिलामा पुरुषको तुलनामा झनै बढी जोखिम हुने भन्दै चुरोट सेवन गर्ने पुरुषमा हृदयघात हुने सम्भावना ८ गुणा बढी भए जस्तै महिलामा त्यो भन्दा धेरै १३ गुणा बढी हृदयघातको सम्भावना हुने जानकारी दिए ।

यसैगरी कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि धेरै प्रयासहरु भइरहेको र अहिले पनि त्यो प्रयास जारी रहेको जनाए । उनले यो अभियानमा स्वास्थ्य मन्त्रालय मात्र नभएर सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
उता नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले नसर्ने रोगको प्रमुख कारक तत्व नै सुर्तीजन्य पदार्थ रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबैले आ आफनो स्थानबाट प्रयास गर्नुपर्नेमा जोड दिए । उनले कोभिड भएका र चुरोट सेवन गर्नेमा जटिलता बढी हुने कुरा अनुसन्धानबाट पुष्टि भइसकेको भन्दै यसले गर्ने हानीकाबारेमा व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी नसर्ने रोग विभागकी डा लोनिम दिक्षितले नेपालमा नसर्ने रोग नियन्त्रण गर्ने हो भने पहिलो स्टेपमा सुर्तीजन्य पदार्थमा नै नियन्त्रण गर्नुपर्ने जनाइन्। उनले त्यसका लागि पहिलो कुरा सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने र अर्को कुरा मल्टी सेक्टोरल अप्रोचबाट सबैले प्लेन प्याकिजङतर्फ जान सहयोग गर्नुपर्ने जनाइन्। उनले भनिन, ‘अब ९० प्रतिशत चेतावनीमूलक चित्रतर्फ अल्झिने भन्दा पनि प्लेन प्याकेजिङमै जानुपर्छ । उनले चुरोट सेवन गर्नेहरु धेरै निम्न आय भएकाहरु भएको भन्दै यसमा कर बढाउँदा उनीहरुले खरिद गर्न नसक्ने हुँदा बिस्तारै यसको मात्रा घटाउँदै लानेमा समेत जोड दिइन्।
यसैगरी कार्यक्रममा जुम मार्फत जोडिएका द यूनियनका एशिया प्यासिफिक क्षेत्रिय निर्देशक डा तारासिंह बमले नेपालमा भएका कानूनलाई नै कार्यान्वयन गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिए । उनले लिडरसिप महत्वपूर्ण कुरा भएको भन्दै नीति निर्माण गर्नेहरुले सुर्ती उद्योगको सपोर्टमा नभई आम जनताको स्वास्थ्यलाई ध्यान दिई काम गर्नुपर्ने बताए।
उता कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सुर्ती उद्योगहरुले आफनो व्यापार विस्तार गर्नका लागि विभिन्न उपायहरु अपनाएर झुक्याउने गरेको र त्यसमा सामाजिक उत्तरदायित्वको नाममा आर्थिक सहयोग गरेर लोभ्याउने गरेको पाइएकाे बताएका थिए । उनले कोभिड महामारीका बेला पनि नेपालमा केही ठूला सुर्ती उद्योेगीले नेताहरुलाई नै प्रभावित पारेको भन्दै यसरी सरकारले सुर्ती कम्पनीको कुनै पनि सहयोग लिनु कानून विपरित भएको बताए ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सुर्तीजन्य पदार्थकावारेमा आफूलाई धेरै थाहा नभएको तर यसले बिगार गर्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि धेरैले यसको सेवन गरिरहेको जनाए । यसलाई कम गर्न के गर्नपर्छ भन्ने कुरामा आफूलाई सल्लाह दिन आग्रह गरे । सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न खासै नसकिएको भन्दै उनले यसलाई कसरी अघि बढाउने भन्ने कुरामा आफू अन्यौलमा रहेको बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणको सेवनका कारण प्रत्येक वर्ष २७ हजार भन्दा बढीको मृत्यु हुने गरेको पाइन्छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित