Health TV Online
Health TV Online
Health TV Online

म्यानमारले लागू गर्‍यो सुर्तीजन्य पदार्थमा ‘प्लेन प्याकेजिङ’, नेपालमा कहिले ?

म्यानमारले लागू गर्‍यो सुर्तीजन्य पदार्थमा ‘प्लेन प्याकेजिङ’, नेपालमा कहिले ?

कल्पना आचार्य \काठमाडौं :  म्यानमार  सरकारले सुर्तीजन्य पदार्थको सेवन नियन्त्रणमा अत्यन्त महत्वपूर्ण मानिने प्लेन प्याकेजिङको नीति लागू गर्ने भएको छ ।

म्यानमारको स्वास्थ्य तथा खेलकुद मन्त्रालयले यही अक्टोवर १२ देखि सुर्तीजन्य पदार्थका बट्टामा कुनै पनि विज्ञापन वा अन्य कुरा राख्न नमिल्ने गरी यसबाट हुने हानीकावारेमा उल्लेख हुने चेतावनीमूलक चित्र मात्र राख्ने नीति लागू गर्ने निर्णय गरेको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै म्यानमारका स्वास्थ्य तथा खेलकुद मन्त्रालयका उप महानिर्देशक डा क्याव कान क्योङले अबदेखि म्यानमारमा सबै सुर्तीजन्य पदार्थको बट्टामा अनिवार्य यो नीति -अनुसार प्लेन प्याकेजिङ लागू गर्नुपर्ने र नगरेमा सरकारले कडा कारवाही गर्ने जनाए । यसअघि त्यहाँ सुर्ती कम्पनीले आ -आफनो हिसाबले चुरोटको नाम, यो हानिकारक कम छ जस्ता अदृश्य विज्ञापनसहितको प्याकेट बजारमा ल्याउने गरेका थिए । अब भने यो निती लागू भएसँगै सबैले प्लेन प्याकेजिङमै जानुपर्ने छ ।

कार्यक्रममा बोल्दै डा क्यावले नसर्ने रोगको मुख्य कारक मानिएको सुर्तीजन्य पदार्थको सेवन कम गराउन यो नीति म्यानमारका लागि कोशे ढुंगा साबित हुने जानकारी दिए । यो नीति अनुसार अक्टोबर १२ देखि १८० दिन भित्र हरेक सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले यो नियम अनुसारको प्लेन प्याकेजिङसहितको सामग्री मात्र उत्पादन गर्न र बजारमा बिक्रि गर्न पाउने छन् । उनीहरुको लागि आफू तयार हुनका लागि यो समय दिइएको बताइएको छ । यस बाहेक बजारमा सुर्तीजन्य पदार्थ बजारमा पाइएमा कडा कारवाहीका साथै सबै सामान जफत हुनेछ ।

प्लेन प्याकेजिङमा सरकारले प्रदान गर्ने ५ फरक फरक किसिमका क्यान्सरसम्बन्धी रोगको चेतावनीमूलक चित्र सुर्ती कम्पनीले छाप्नुपर्ने हुन्छ । जसलाई हरेक तीन वर्षमा परिवर्तन गर्नुपर्ने हुन्छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार म्यानमारमा हरेक वर्ष ६५ हजार ६ सय जनाको सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगहरुबाट मृत्यु हुने गरेको छ । यसैगरी म्यानमारमा २६ दशमलब १ प्रतिशत वयस्कले धुम्रपान गर्ने गरेको तथ्यांक छ । यसमा पनि धुवाँरहित सुर्ती, पान पराग, तम्बाकु खानेको संख्या अझै बढी ४३ दशमलब ८ प्रतिशत रहेको पाइन्छ ।

यसैगरी कार्यक्रममा द यूनियनका एशिया प्यासिफक निर्देशक डा तारासिंह बमले प्लेन प्याकेजिङ सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि सबैभन्दा ठूलो अस्त्र भएको जनाए । उनले सन् २०१२ यता धेरै देशहरुले सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानी घटाउनका लागि प्लेन प्याकेजिङतर्फ उन्मुख भएको बताए । यसमा म्यानमार पनि थपिएको देख्न पाउँदा निकै खुशी लागेको छ, उनले थपे । उनले सबै देशहरुले अब प्लेन प्याकेजिङमा गएर सुर्ती कम्पनीको झूटो प्रचारबाट सेवनकर्तालाई बचाउनपर्नेमा जोड दिए ।

नेपालले ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्ने पहिलो देश भएर अन्तराष्ट्रिय अवार्ड समेत पाएको थियो ।  अहिले प्लेन प्याकेजिङ त कुरै छोडौं सोही नियम पनि देशकै सबैभन्दा बढी चुरोट उत्पादन गर्ने सुर्य नेपाल कम्पनीले लागू गरेको छैन् । यसमा सरकार चुप लागेर बसेको छ । नेपालमा सुर्तीजन्य पदार्थसम्बन्धी कानून राम्रो हुँदाहुँदै पनि राजनितिक दलका नेताहरुको साथ र सहयोग नभएका कारण कानून कार्यान्वर्यनमा समस्या भएको डा बमले जिकीर गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार