Health TV Online
Health TV Online
Health TV Online

बालबालिकाले पुससम्ममा कोरोना विरुद्धको खोप पाउने

बालबालिकाले पुससम्ममा कोरोना विरुद्धको खोप पाउने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही मंसीर पुससम्ममा बालबालिकाले पनि कोरोना विरुद्धको खोप पाउने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले अहिलेसम्म बालबालिकाले कोरोना विरुद्धको खोप नपाएको जिकीर गर्दै अब भने उनीहरुलाई पनि खोप दिइने भएको जनाएका हुन्। उनले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्नाको खोप दिन लागिएको जनाए ।

उनका अनुसार नेपालमा हालसम्म तीन प्रकारको कोरोना खोप कोभिशिल्ड, जोन्सन एण्ड जोन्सन र भेरोसेल लगाइएकोमा यी तीनैवटा खोप १८ वर्ष माथिका नागरिकका लागि मात्र तयार भएकाले बालबालिकाले कोरोना विरुद्धको खोप पाएका छैनन्। अमेरिका लगायतका केही विकसित देशहरुमा बालबालिकाका लागि पनि खोप तयार भइरहेको र ती खोपहरु निकै सिमित मात्र कम्पनीले उत्पादन गरिरहेको पनि अधिकारीले जनाए । अब भने सरकारले फाइजर खोप ६० लाख डोज र मोडर्ना खोप ४० लाख डोजका लागि खरिद प्रक्रिया अघि बढाएको छ । सोही खरिद प्रक्रिया अन्तर्गत मंसीर पुसम्ममा खोप आइपुग्ने र सोही बमोजिम बालबालिकालाई खोप दिने गरी कार्ययोजना मन्त्रालयले बनाएको सह प्रवक्ता अधिकारीले जनाए ।

मन्त्रालयको तथ्यांक अनुसार नेपालमा बुधबारसम्म ६२ लाख ६२ हजार ७८० जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् भने ५७ लाख ५२ हजार ८५३ जनाले पूर्ण खोप लगाएका छन्। मन्त्रालयका अनुसार १२ देखि १८ वर्ष ४९ लाख बालबालिका छन् र उनीहरुलाई अब खोप दिइने लक्ष्य रहेको छ ।

नेपालमा बालबालिकाले कोरोना विरुद्धको खोप नपाएका कारण उनीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकोे भन्दै विद्यालय पनि खुल्न सकेका छैनन्। त्यसैले धेरै विद्यालयले अनलाइन मार्फत कक्षा सञ्चालन गरिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार