नेपालमा दुवै डोज खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी बनेको पाइयो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ६८ दशमलब ६ प्रतिशतमा कोभिड -१९ को एन्टिबडी बनेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ संक्रमणको दोस्रो राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणको नतिजा अनुसार देशभर ६८ दशमलब ६ प्रतिशत नमुनामा कोभिड १९ एन्टिबडी देखिएकोछ भने पूर्ण खोप पाएका ९० प्रतिशतमा एन्टिबडी बनेको पाइएको छ ।
मन्त्रालयले कोभिड १९ संक्रमणको अवस्थालाई सुक्ष्म विश्लेषण गर्नका लागि ६ महिना भन्दा माथिका उमेर समूहका १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरेको थियो । वि स २०७८ असार २१ देखि साउन ३० गतेसम्म संकलित नमुनामा अध्ययन गरिएको थियो । सो सर्भेबाट प्राप्त नतिजा अनुसार देशभर ६८ दशमलब ६ प्रतिशत नमुनामा कोभिड १९ एन्टिबडी देखिएको हो ।
यसमा तराई, पहाड, हिमाल, गाउँ, शहर सबैलाई समेट्ने गरी नमुना संकलन गरिएको थियो । यसैगरी कोभिड विरुद्धको एक मात्र डोज लगाउनेमा ८० प्रतिशत एन्टिबडी बनेको पाइएको छ भने दुबै डोज लिएकामा ९० प्रतिशत एन्टिबडी पाइएको अध्ययनमा उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले यो अध्ययनले नेपालमा हामीले लगाइरहेको कोभिड विरुद्धको खोप अत्यन्त प्रभावकारी रहेको भन्ने पुष्टि भएको जनाए । उनले यो अध्ययनको प्रारम्भिक नतिजा भए पनि यसले कोभिड विरुद्धको खोपले काम गरिरहेको भन्ने संकेत गरेको र नेपालमा ६८ प्रतिशत भन्दा बढी मानिसलाई कोरोना संक्रमण भइसकेको पुष्टि भएको बताए ।
उनले खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न नछोड्न पनि आग्रह गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण