Health TV Online
Health TV Online
Health TV Online

झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा अन्तराष्ट्रिय स्तरको क्यान्सर उपचार सेवा

झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा अन्तराष्ट्रिय स्तरको क्यान्सर उपचार सेवा

हेल्थ टिभी अनलाइन \झापा : झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले राजधानीबाहिर रहेर पनि अन्तराष्ट्रिय स्तरको क्यान्सर उपचार सेवा दिइरहेको दावी गरेको छ । २० महिनाअघि  स्थापना भएको उक्त अस्पतालले आफूहरुले देशमै नभएको उत्कृष्ट र अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा दिएको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पूर्वाञ्चल क्यान्सर अस्पतालमा देशमा नभएका अत्याधुनिक उपकरण पहिलोपटक ल्याएर क्यान्सरमा उत्कृष्ट सेवा दिइरहेको जनाए । उनले क्यान्सर उपचारमा चाहिने केमोथेरापी, रेडियोथेरापी तथा शल्यक्रिया तीनवटै सेवा एउटै छतमूनि दिन सफल भएको बताए । उनले भने, ‘राजधानीबाहिर उपचार सेवा राम्रो हुँदैन भन्ने भ्रम चिर्न हामी सफल भएका छौं र जसले गर्दा अहिले काठमाडौंबाट रिफर भएर पूर्वाञ्चल क्यान्सर अस्पतालमा बिरामी आउने क्रम बढेको छ ।’

उनले आफूहरुले छोटो समयमै धेरै बिरामीलाई सेवा दिन सकेको समेत जिकीर गरे । नेपालमा पेट सिटी स्क्यानको निकै आवश्यकता महशुस गरी झण्डै ५० करोड लगानी गरेर पेट सिटी स्क्यान समेत ल्याइएको उनले जानकारी दिए । तर सो पेट सिटीस्क्यान मेशिन भने सरकारी ढिलासुस्तीका कारण अनुमति नपाउँदा सञ्चालनमा आउन सकेको छैन् ।

राजधानीबाहिर रहेर पनि अहिले नेपालमा भएका क्यान्सरका बिरामीमध्ये २० प्रतिशत बिरामीलाई आफूहरुले सेवा दिएको अस्पतालका मेडिकल डाइरेक्टर डा बिरेन्दकुमार यादव बताउँछन्। उनले भने, ‘एकिन तथ्यांक नभए पनि नेपालमा वर्षेनी ३० देखि ३५ हजारको हाराहारीमा क्यान्सर बिरामी थपिने गर्छन्। यीमध्ये २० प्रतिशत बिरामी पूर्वाञ्चल क्यान्सर अस्पतालमा आएर सेवा लिइरहेका छन्।’ राजधानीका क्यान्सर अस्पतालभन्दा आफूहरुकहाँ केही सस्तो भएकाले पनि सोही सेवाका लागि किन महंगो तिरेर काठमाडौं नै जाने भन्दै बिरामीहरु घर नजिककै अस्पताल आउन चाहेको उनले जिकीर गरे ।

पूर्वका सबै बिरामी तथा भारत नजिक पर्ने भएकाले भारतबाट समेत बिरामीहरु उपचार गर्न आउने गरेको डा यादव बताउँछ्न। अस्पताल स्थापना भएको २० महिनामा २८ हजार भन्दा बढी क्यान्सरका बिरामीको सेवा गरेको अस्पतालले जनाएको छ ।

क्यान्सरको विशिष्टिकृत सेवा दिने उक्त अस्पतालमा १० जना त आ आफनो क्षेत्रमा विशेषज्ञता हासिल गरेका अब्बल डाक्टरहरुको टिम नै रहेको छ । २४ सै घण्टा सेवा दिने उक्त अस्पतालमा सबै डाक्टर फूल टाइम काम गर्ने भएकाले जुनसुकै बेला जस्तोसुकै अवस्थामा आएका बिरामीलाई सेवा दिन अप्ठेरो नपर्ने र बिरामीले डाक्टर कुरेर बस्नुपर्ने समस्या नभएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरी बताउँछन्।

उनले पूर्वाञ्चल क्यान्सर अस्पतालले जटिल भन्दा जटिल शल्यक्रिया गरिरहेको भन्दै क्यान्सर उपचारका लागि झापाबाट काठमाडौं मात्र हैन् कहीं पनि जान नपर्ने जिकीर गरे । उनले पछिल्लो समय क्यान्सरका बिरामी काठमाडौं लगायतका देशका अन्य अस्पतालबाट रिफर भएर पूर्वाञ्चलमा आउने क्रम निकै बढेको समेत बताए ।

अस्पतालमा पेटसिटी स्क्यान, एमआरआई, डेक्सा, सिटी, म्यामोग्राम लगायतका क्यान्सर पत्ता लगाउन चाहिने र उपचारमा चाहिने सम्पूर्ण सेटअप र उपकरण उपलब्ध भएको अस्पतालले जनाएको छ । नेपालमा क्यान्सर उपचारको क्षेत्रमा नमूना अस्पताल बनाउने लक्ष्यसहित आफूहरु अघि बढेको अस्पतालको भनाई छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार