महिलालाई दुख दिने रोग थाइराइड

थाइराइड भनेको हाम्रो शरीरको एउटा महत्वपूर्ण ग्रन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ । यो ग्रन्थीको काम थाइराइड हर्मोन उत्पादन गर्नु हो । यो हर्मोन रगतमा घुम्दछ र हाम्रो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ । यस ग्रन्थिले मुटु , दिमाग, पेट, आन्द्रा ,छाला आदिको कार्यशैली नियन्त्रण गर्दछ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन आवश्यक पर्दछ ।
थाइराइड रोग कसरी हुन्छ ?
अस्वस्थ खानपान, विषादी प्रयोग गरिएका फलफूल र तरकारीको सेवन, वातावरणीय प्रदूषण जस्ता कारणहरुले थाइराइड ग्रन्थिमा असर पु¥याएमा थाइराइडको समस्या देखा पदर्छ । तनाव, कुपोषण, थाइराइड ग्रन्थिको संरचनागत नष्ट, विकिरण, रोग प्रतिरोधात्मक क्षमता कम भएको र वशांणुगतका कारण पनि थाइराइडको समस्या देखा पर्दछ ।
कसलाई हुन्छ थाइराइडको समस्या ?
विषेश गरी महिलाहरुमा थाइराइडको समस्या बढी हुन्छ । पुरुषहरुको तुलनामा यो रोग १० गुणा बढी महिलाहरुमा देखिने गरेको तथ्यांक छ ।
थाइराइडको समस्या विशेष गरी तिन प्रकारका हुन्छन् । हाइपर थाइराइडिज्म , हाइपो थाइराइडिज्म र थाइराइडको क्यान्सर ।
के हो हाइपर थाइराइडिज्म ?
थाइराइड ग्रन्थिले हर्मोन बढी उत्पादन गर्यो भने त्यसलाई हाइपर थाइराइडिज्म भनिन्छ । यो रोग बढीजसो प्रजनन उमेरका महिलामा देखिन्छ । समयमा उपचार नगरेमा हाइपर थाइराइडिज्मले मुटु र मष्तिष्कमा समेत असर गर्छ । सही तरिकाले उपचार नभएमा यसले ज्यान समेत जोखिममा पार्न सक्छ ।
हाइपर थाइराइडिज्मका लक्षणहरु
घाँटीमा गलगाँड जस्तै बढ्नु , एक्कासि धेरै मात्रामा तौल घट्नु , मुटुको धड्कन तीव्र तथा अनियमित हुनु , हातहरू काम्नु , धेरै पसिना आउनु ,महिनावारी नहुनु वा गडबडी हुनु , पटक पटक दिसा लाग्नु , निन्द्रा नलाग्नु , सास फेर्न गाह्रो हुनु , जोर्नीहरू दुख्नु हाइपर थाइराइडका लक्षणहरु हुन् ।
के हो हाइपो थाइराइडिज्म ?
थाइराइड ग्रन्थिले हर्मोन कम उत्पादन गर्यो भने त्यसलाई हाइपो थाइराइडिज्म भनिन्छ । थाइराइडको समस्यामा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । खासगरी २० देखि ४० वर्ष उमेर समूहका प्रजनन उमेरका महिलाहरुलाई यो रोगले बढीे सताउँछ । हाइपो थाइराइडिज्मको समयमै उपचार नहुँदा महिलाहरुको गर्भ नरहन सक्ने समस्या समेत देखिन सक्छ ।
हाइपो थाइराइडिज्मका लक्षणहरु
घाँटीमा गलगाँडजस्तो बढ्नु , हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुन्निनु ,स्वर धोद्रो तथा भाँसिएको जस्तो हुनु , छाला पहँेलो देखिनु , एक्कासी तौल बढ्नु चिसो सहन नसक्नु , वा बढी चिसो लाग्नु,थकित र कमजोर हुनु , कब्जियत हुनु , महिलाहरुलाई महिनावारी अनियमित हुनु ,स्मरणशक्तिमा ह्रास आउनु हाइपो थाइराइडिज्मका लक्षणहरु हुन् ।
के हो थाइराइडको क्यान्सर?
थाइराइडको समस्यामा देखा पर्ने अर्को जोखिम भनेको थाइराइडको क्यान्सर पनि हो । तर थाइराइड ग्रन्थिमा गिर्खा पलायो भन्दैमा त्यो क्यान्सर नै हुन्छ भन्ने हुदैन । घाँटीमा भएको गिर्खा वा डल्ला पछि गएर क्यान्सरमा भने परिणत हुन सक्छ । त्यो गिर्खालाई शल्यक्रियाबाट फाल्नुपर्ने हुन्छ । थाइराइडको क्यान्सर निको हुने क्यान्सरमध्येमा पर्दछ । तर, त्यसको पहिचान भने समयमा हुन जरुरी छ ।
कसरी बच्न सकिन्छ थाइराइडको समस्याबाट ?
थाइराइडबाट बच्नको लागि समय समयमा थाइराइड हर्मोनको रक्त परीक्षण गर्नुपर्छ । त्यसबाहेक आयोडिनयुक्त नुन तथा खाना खाने, अनावश्यक रुपमा एक्सरे, सीटी स्क्यान पटक पटक नगर्ने, तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने, धेरै चिया, कफी तथा मादक पदार्थको सेवन नगर्ने, नियमित रुपमा ब्यायाम गर्ने , तथा स्वस्थ र सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा