मधुमेह भएकाले जाडाेमा साेझै नसेक्नुस् हिटरमा गाेडा (भिडियाेसहित)

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी भएको अवस्थालाई मधुमेह भनिन्छ। मधुमेह हुने धेरै कारणमध्ये जीवनशैली पनि प्रमुख मानिन्छ। त्यसबाहेक परिवारमा कसैलाई मधुमेह रोग छ भने अन्य सदस्यलाई हुने सम्भावना बढी हुन्छ ।
अचेल अधिकांश व्यक्ति कामकाजी छन्। कामको भागदौड एवं प्रतिस्पर्धाका कारण अधिकांशले आफ्ना लागि समय नै निकालिरहेका हुँदैनन्। शारीरिक व्यायामको कमी, जंकफुडको बढी सेवन र तनावजस्ता कारणले पनि मधुमेह संसारभर बढिरहेको छ। नसर्ने रोगमध्ये बढी चुनौतीपूर्ण बनिरहेको छ मधुमेह।
मधुमेह यस्तो रोग हो, जसले आफूले मात्र असर गर्दैन, अन्य अंग जस्तै– मुटु, मिर्गौला, आँखा नसा जस्ता अंगमा पनि गम्भीर असर पुर्याउँछ। त्यसैले पनि यो रोग लाग्नै नदिन प्रयास गर्न जरुरी छ। रोग लागि नै सक्यो भने यसलाई नियन्त्रणमा राख्नुपर्छ। अन्यथा यसले जीवनभर दुःख दिन्छ।
मधुमेहका बिरामीले गोडाको विशेष ख्याल राख्नुपर्छ। त्यसैले हामी (डाक्टर) बिरामीलाई प्रत्येक दिन गोडा हेर्नुस्, छुनुस् र स्याहार गर्नुस् भनिरहेका हुन्छौँ। यसो भन्नुको अर्थ मधुमेह भइसकेपछि गोडामा छिट्टै असर गर्छ भन्ने नै हो। यस्ता बिरामीको स्पर्श अनुभूति शक्ति कम हुने भएकाले घाउ चोटपटक लाग्ने सम्भावना धेरै नै हुन्छ। त्यसैले आगो, काँडा वा चोटपटक लाग्नबाट जोगिन जरुरी छ।
यहाँ प्रसंग उठाउन खोजिएको हो जाडोमा तातोका लागि आगो या हिटर ताप्दा आउनसक्ने खतराको।
जाडो महिना शुरु भएसँगै अस्पतालमा गोडा पोलेर ठूलाठूला फोका उठाएर अस्पताल आउने बिरामीको संख्या निकै ठूलो छ। मैले नै दिनहुँजसो यस्ता बिरामी हेरिरहेको छु।
विशेषगरी गाउँघर तिरका धेरै बिरामी सिधै आगोमा गोडा ताप्ने क्रममा पोलेर आउने गरेका छन्। शहरी क्षेत्रका बिरामी पनि हिटरमा हातगोडा तातो बनाउन खोज्दा पोलिएको अवस्थामा आइरहेका हुन्छन्। गोडा सेक्दा स्पर्श अनुभूति शक्ति कम हुने हुँदा कतिको तातो छ भन्ने थाहा नपाएर पोल्ने गरेको छ।
धेरैले चिसो छल्नका लागि अफिस होस या घर बिजुलीबाट चल्ने हिटर, तातोपानीका लागि ग्याँस गिजर लगायत प्रयोग गरेको हुन्छन्। जुन मधुमेहीका लागि निकै खतरनाक हुनसक्छ। मधुमेह रोग लागेकालाई त्यसै पनि कुनै पनि घाउ निको हुन निकै समय लाग्छ। कतिपय त वर्षौँसम्म निको हुँदैन। त्यसैले चिसो लाग्यो भन्दैमा मधुमेहीले सिधै आगोमा हातगोडा सेक्न हुँदैन।
यसरी पोलिएर आएका घाउमा इन्फेक्सन हुने सम्भावना त बढी हुन्छ नै निको हुन पनि निकै समय लाग्छ। त्यसैले मधुमेह भएका बिरामीले चिसो छल्न हिटरमार्फत कोठालाई न्यानो बनाउन त सक्छन्, सोझै ताप्न भने हुँदैन।हिटर वा आगोको सट्टा मनताताे पानी राखेर हट ब्याग प्रयोग गरेको राम्रो। त्यसैगरी न्यानो लुगा लगाएर बस्नु अर्को विकल्प हो।
शरीरलाई न्यानो बनाउन अपनाएका उपायले आफैँलाई हानि गर्नसक्छ भने यस्ता सामग्री किन प्रयोग गर्ने! यो कुरा मधुमेहका बिरामीले बुझ्न जरुरी छ।
हेर्नुहोस् भिडियाे :
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा