Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बिरामीको स्वास्थ्य सुरक्षा : सबैको दायित्व

बिरामीको स्वास्थ्य सुरक्षा : सबैको दायित्व

तपाईँलाई सायद विश्वास गर्न गाह्रो होला, तर विश्व स्वास्थ्य संगठनको आँकडालाई आधार मान्ने हो भने अस्पताल भर्ना भएका हरेक १० मध्ये एक बिरामीको स्वास्थ्य अस्पताल भर्ना भएकै कारणले जोखिममा पर्छ। त्यसैगरी प्राथमिक तथा बहिरंग (ओपीडी) विभागमा उपचार गर्ने १० मध्ये चार सेवाग्राहीको स्वास्थ्य असुरक्षित हुन पुग्छ। यस्तै शल्यक्रिया गर्दा असावधानीवस २५ प्रतिशत बिरामीमा जटिलता आउँछ। यही अनुपातमा विश्वभर नै शल्यक्रिया गरेका करिब ७० लाख बिरामीमा जटिलता उत्पन्न हुन्छ।

विश्वव्यापी रूपमा बिरामीको स्वास्थ्य सुरक्षाको यस्तो भयावह स्थिति रहे पनि यसबारेमा चर्चा गर्न थालिएको भने धेरै भएको छैन। बिरामीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नै चुनौती रहेका गरिब मुलुकहरुमा स्वास्थ्य सुरक्षाको बारेमा कम चर्चा हुनु स्वभाभिक जस्तो देखिए पनि गुणस्तरमा ध्यान नदिई पहुँच मात्र बढाउने हो भने यसले अझ ठूलो समस्या निम्त्याउन सक्छ।

बिरामीको स्वास्थ्य सुरक्षालाई कसरी बुझ्ने?

सेवा प्रवाह गर्दा अपनाउनु पर्ने अत्यन्त आधारभूत बिषय हो, बिरामीको स्वास्थ्य सुरक्षा। स्वास्थ्य सेवा लिने क्रममा हुन सक्ने जुनसुकै सम्भावित जोखिमबाट मुक्त रहनु नै ‘बिरामीको स्वास्थ्य सुरक्षा’ हो। तर विडम्बना के हो भने स्वास्थ्य सेवामा विकसित हुँदै गएका जटिल एवंं जोखिमपूर्ण प्रविधिहरूका कारण सेवा प्रवाहका क्रममा गल्तीहरू हुने सम्भावना पनि बढ्दै गइरहेको छ। असुरक्षित स्वास्थ्य प्रवाहकै कारण विश्वभर बर्सेनि झण्डै २६ लाख बिरामीको मृत्यु हुन्छ। यसो भन्दै गर्दा यसको सम्पूर्ण जिम्मा स्वास्थ्यकर्मीको मात्र हो भनेर बुझ्नु उचित हुँदैन। यो जटिल विषयमा स्वास्थ्यकर्मी, बिरामी, उसको हेरचाह गर्ने व्यक्ति, नीति–कानुन निर्माता र समाज सबैको उत्तिकै दायित्व र भूमिका हुन्छ।

किन जोखिममा हुन्छ बिरामीको स्वास्थ्य?

स्वास्थ्य सेवा अत्यन्त गम्भीर विषय हो। यसका कठोर मापदण्ड र अनुशासन हुन्छन्। यो अत्यन्त व्यवस्थित प्रणालीको रूपमा काम गर्नु जरुरी हुन्छ। स्वास्थ्यकर्मीको शैक्षिक योग्यता मात्र होइन उसले काम गर्ने संस्था पनि मापदण्डअनुरूपको हुनुपर्छ। चिकित्सकले कति समय लगाएर एउटा बिरामी हेर्ने र दैनिक कति जनासम्म हेर्ने भन्ने पनि मापदण्ड पालना हुनु जरुरी छ।

अस्पतालमा भएका ल्याब, एक्सरे तथा अन्य निदानात्मक सेवा कति भरपर्दा छन्, उसले लेखेको औषधि बजारमा कति उपलब्ध छ, कति गुणस्तरीय छ, चिकित्सकले भने बमोजिम नै सही मात्रा, सही समयसम्म बिरामीले औषधि सेवन गर्छ कि गर्दैन भन्ने कुराले ठूलो अर्थ राख्छ। यस्तै आफ्नो स्याहार गर्न नसक्ने बिरामीको हेरचाह गर्ने व्यक्ति कतिको इमान्दार छ, केही जटिलता भएमा बिरामी सल्लाह लिन चिकित्सककोमा आउँछ कि आफूलाई पायक पर्ने व्यक्तिकहाँ गएर परामर्श लिन्छ भन्ने कुराले पनि बिरामीको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको हुन्छ।

नेपालमा के कारणले बिरामीको स्वास्थ्य जोखिममा छ?

विकसित धनी मुलुकहरुको तुलनामा अविकसित गरिब देशहरुमा बिरामीको स्वास्थ्य उच्च जोखिममा रहेको हुन्छ। नेपालजस्तो गरिब तथा विकासोन्मुख देशमा यसका थुप्रै कारण छन्। स्वास्थ्य क्षेत्रमा मापदण्डअनुरूप आवश्यक जनशक्ति हुनुपर्छ। यस्तै बिरामीको अनुपातमा चिकित्सक–नर्स र पर्याप्त शय्या (बेड) हुनुपर्छ। यिनको अभावमा चिकित्सकले चाहेर पनि बिरामीलाई आवश्यक समय दिन सक्दैन। भर्ना भएका बिरामीलाई नर्सले समयमै औषधि दिन सक्दैनन्। आवश्यक भौतिक पूर्वाधार, नवीनतम उपकरण र त्यसलाई प्रयोग गर्नसक्ने दक्ष स्वास्थ्यकर्मी अभावमा गुणस्तरीय सेवा प्रवाह गर्न कठिन हुन्छ।

केही घण्टामै १००–१५० बिरामी जाँच्नुपर्ने बाध्यता भएका केन्द्रीय अस्पतालका स्वास्थ्यकर्मीहरूसँग कस्तो सेवाको अपेक्षा गर्ने हामीले? सेवा प्रवाह गर्दा प्रयोग गर्नुपर्ने मापदण्ड नअपनाई आफूखुसी उपचार गर्ने स्वास्थ्यकर्मी अनि स्वास्थ्यकर्मीले दिएको सल्लाह पूर्णरूपले पालना नगरी नजिकका मेडिकल र छरछिमेकका कुरा सुनेर अनेकौँ प्रयोग गर्न रुचाउने हाम्रो सामाजिक प्रवृत्तिले पनि स्वास्थ्यमा जोखिम थपेको छ। कुनै मापदण्ड प्रयोग नगरी अनुमानकै भरमा बिरामीलाई औषधि बेच्ने पसलेहरूलाई कानुनी दायरामा ल्याएर सजाय गर्न नसक्ने कानुनी र प्रशासकीय संरचना पनि उत्तिकै दोषी छन्।

ढिलो भए पनि शुरुवात

बिरामीको स्वास्थ्य सुरक्षाको बारेमा ढिलै भए पनि बहस शुरु भएका छन्। पहिलोपटक नेपालले पनि गत सेप्टेम्बर १७ मा ‘बिरामी स्वास्थ्य सुरक्षा दिवस’ केन्द्रीय स्तरमा मनाएको छ। आगामी दिनमा यसको बारेमा सबै तहमा चर्चा र बहस हुनु जरुरी छ। र स्वास्थ्य सुरक्षा कुनै एक निकाय वा पेशाको मात्रै जिम्मेवारी नभएर सबैको चासो र सरोकारको विषय बन्नुपर्छ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाले बिरामीको स्वास्थ्य सुरक्षासम्बन्धी मार्गचित्र तयार गरेर छिट्टै नै लागु गर्ने कामको शुरुवात गरिसकेको छ। यसले बिरामीको स्वास्थ्यमा हुने जोखिमलाई न्यूनीकरण गर्न टेवा दिने कुराको आशा गर्न सकिन्छ। बिरामीको स्वास्थ्य सुरक्षामा गरिने लगानीले हाम्रोजस्तो गरिब मुलुकका नागरिकको स्वास्थ्यमा हुने खर्चको बचत गरी समृद्धितर्फ डोहोर्याउन सक्छ।