Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिनीरोग अर्थात् ‘साइलेन्ट किलर’

चिनीरोग अर्थात् ‘साइलेन्ट किलर’

मधुमेहका बारेमा जनचेतना जगाउनकै लागि प्रत्येक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरिन्छ।

अब हामी धेरैलाई थाहा भइसकेको छ, रगतमा चिनीको मात्रा बढ्नुलाई मधुमेह भनिन्छ। मधुमेह अर्थात् चिनीरोग विश्वमा नै दिनप्रतिदिन बढिरहेको छ। नेपालमा पनि यो रोग बढ्दो छ।

कतिपय अवस्थामा चिनीरोग लागेको थाहा नै हुँदैन। कुनै लक्षणबिना नै रोग लागिरहेको हुन्छ। तर बिरामीलाई आफू स्वस्थ छु भन्ने लाग्छ। जब लक्षण देखिन्छ त्यतिबेलासम्म मुटु, मिर्गौला र आँखा जस्ता महत्त्वपूर्ण अंगलाई असर गरिसकेको हुन्छ। त्यसैले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ।

मधुमेहका केही लक्षण यस्ता छन्—

बढी तिर्खा लाग्नु

भोक लाग्नु

वजन घट्दै जानु

आँखा धमिलो हुनु

बढी थकान महशुस हुनु

घाउ छिटो निको नहुनु

हातखुट्टा झमझम हुनु, पोल्नु ।

विश्व स्वास्थ्य संगठनले विश्वमा झण्डै ४२ करोड मानिसलाई मधुमेह रोग रहेको अनुमान गरेको छ। नेपालमा एकीन तथ्यांक नभए पनि ९ देखि १० प्रतिशत मानिसलाई मधुमेह हुनसक्ने अनुमान छ। यो दीर्घकालीन रोग भएकाले एकपटक लागिसकेपछि यसलाई राम्रोसँग नियन्त्रणमा राखेर व्यवस्थापन गर्नुको विकल्प नै छैन। यसको सही उपचार भनेको नै यही हो । यसलाई सही घेरामा राख्नुपर्छ। अन्यथा धेरै दुःख पाइन्छ।

कतिपय अवस्थामा चिनीरोग लागेको थाहा नै हुँदैन। कुनै लक्षणबिना नै रोग लागिरहेको हुन्छ। तर बिरामीलाई आफू स्वस्थ छु भन्ने लाग्छ। जब लक्षण देखिन्छ त्यतिबेलासम्म मुटु, मिर्गौला र आँखा जस्ता महत्त्वपूर्ण अंगलाई असर गरिसकेको हुन्छ। त्यसैले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ।

मधुमेहलाई शुरुदेखि नै लापरवाही गरियो र उपचार गराइएन भने भने यसले भयावह स्थिति निम्त्याउँछ। यसले मुटु, मिर्गौला, आँखा, नसा जस्ता महत्त्वपूर्ण अंगमा असर गर्न शुरु गर्छ। जति अन्य अंगमा असर गर्न थाल्छ उपचार पनि महंगो र झञ्झटिलो बन्दै जान्छ ।

यदि परिवारमा कसैलाई मधुमेह छ भने उसलाई हुनसक्ने सम्भावन धेरै नै हुन्छ। यसैगरी बढी मोटो व्यक्ति शारीरिक परिश्रम नगर्ने , जथाभावी खाना खाने (जंकफुड, फास्टफुड) व्यक्तिलाई हुने सम्भावना बढी हुन्छ।

परिवारमा एक जनालाई मधुमेह छ भने अरुले पनि जाँच गर्न जरुरी छ। अभिभावकले पनि सानैदेखि बालबालिकालाई ‘आउटडोर गेम’का लागि प्रेरित गर्नुपर्छ। ‘एक्सरसाइज’ गर्दा पनि आमाबुबा, छोराछोरी सबै मिलेर गर्दा रमाइलो  हुन्छ। शारीरिक रूपमा सबैलाई फाइदा पनि हुन्छ। मधुमेह भइसकेपछि ‘मलाई के यस्तो रोग लाग्यो’ भनेर खिन्न लाग्न सक्छ। यस्तो अवस्थामा खानेकुरा होस् या औषधि खान परिवारले साथ दिन जरुरी छ।

बढ्दो आधुनिकीकरण, खानेकुरामा विषादीको अत्यधिक प्रयोग, अनियन्त्रित जीवनशैलीका कारणले पनि होला मधुमेहको समस्या विकराल बन्दैछ। शुरुमा नै मधुमेह नियन्त्रण गरियो भने सामान्य जीवनयापन गर्न सकिन्छ। यसो गरे वर्षौँ वर्षसम्म पनि समस्या आउँदैन।

कोही व्यक्ति मोटाउँदै गएको छ भने पेटको गोलाइप्रति ध्यान दिने, फ्याक्ट्रीमा बनेका खानेकुरा जस्तै बिस्कुट, चाउचाउ मिठाइ नखाने र प्राकृतिक खानेकुरा खाने, व्यायाम गर्ने, तनाव न्यूनीकरण गर्ने बानी बसाल्नु पर्छ। यसो गरे मधुमेहबाट बच्न सकिन्छ। मुख्य कुरा ‘मलाई पनि मधुमेह हुनसक्छ’ भनेर सोच्नुपर्छ र त्यही अनुसार सावधानी अपनाउनुपर्छ।

बुढेसकालमा लाग्ने रोग भनिने यो रोग अहिले ३०–३५ वर्षभित्रै मधुमेह देखिन थालेको छ। काम गर्ने र कमाउने उमेरमै यो रोग देखिँदा परिवारमा मात्र होइन, देशको अर्थतन्त्रमै समस्या आउँछ। त्यसैले यसका लागि सरकारले स्वास्थ्यमा सिधै हानि गर्ने खानेकुरा चिनी एवं चिनीजज्य पदार्थ एवं प्याक गरिएका ड्रिक्समा कर बढाउन जरुरी छ।

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।