चाडबाडमा यसरी मिलाउनुस् खानपानकाे सन्तुलन

नेपालीहरूको महत्त्वपूर्ण चाड हो दशैँ। खानपानका दृष्टिले पनि दशैँ उत्तिकै महत्त्वको मानिन्छ। धेरैलाई थाहा नभएको वा भएर पनि त्यति विचार नगरिएको पक्ष के भने, दशैँमा हाम्रो खाना निकै नै अस्वस्थकर हुन्छ।
दशैँ र मासु एकअर्काका परिपूरक हुन् भने फरक पर्दैन, शाकाहारीलाई छाडेर। यो समयमा घरघरमै खसीबोका आदि काट्ने, त्यो नभए बजारबाट बढी नै मासु ल्याएर विभिन्न परिकार बनाएर खाने चलन छ। चाडपर्व भन्नेबित्तिकै टन्न खानेकुरा बनाएर खाने गरिन्छ। झन् दशैँ त खाने पिउने चाड। खाने पिउने बहानमा स्वास्थ्य बिग्रेकोचाहिँ हामी पत्तो पाउँदैनौँ वा पाएर पनि वास्ता गर्दैनौँ।
एकातिर शरीरलाई आवश्यक पर्नेभन्दा बढी खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ। अर्कोतिर मासुलाई धेरै दिनसम्म राखेर बासी बनाएर खाँदा पनि नकारात्मक असर पुग्छ। अर्को चिल्लो र पिरो ज्यादा हुँदा पनि त्यसले शरीरलाई असर गर्छ। खानाको अनियमितताले दशैँतिहारजस्ता चाडबाडपछि धेरै मानिस अस्पताल भर्ना हुनुपर्ने तथ्य हाम्रासामु छ।
दुईचार दिन चाडपर्व मनाएर, रमाइलो गरेर त्यसले शरीरलाई दीर्घकालीन असर गर्ने भयो भने पक्कै पनि राम्रो हुँदैन। त्यसैले दशैँको समयमा खानाको मात्रा मिलाएर खाना खान अति आवश्यक छ। मासुबाट छाला हटाउनुस्। मासु पकाउँदा तेलको मात्रा एकदमै कम प्रयोग गर्नुस्। चिल्लो खानेकुरा मुटु र रक्तचापका लागि हानिकारक हुन्छ। बरु उसिनेर पकाउनुस्। ध्यान दिनैपर्ने कुरा के भने, एकपटक पकाएको तेल फेरि प्रयोग नगर्नुस्। मासु पकाउँदा बोसोको मात्रा अत्यन्तै कम गर्नुस् वा हटाएर नै पकाउनुस्। मासु खाँदा हरेक दिन तीन चार टुक्रा मात्र खाने गर्नुस्।
त्यसैगरी दशैँलगायत भोजभतेरमा प्रयोग हुने अर्को पदार्थ हो, पनिर। यसमा पनि चिल्लोको मात्रा धेरै हुन्छ र पनिर पनि धेरै खाने नगर्नुस्। तीन चार टुक्रा खानुस्। मासुको धुनमा दशैँमा सागपातहरूलाई हेलाँ गरिन्छ। त्यो नराम्रो बानी हो। सागपातको तरकारी पनि खानुस्। सागपात, मुला, गाँजर, काँक्रोको प्रयोग गरेर सलाद बनाउनुस्। हरियो केराउजस्ता काँचै खाइने गेडागुडी प्रयोग गर्नुस्। मासु खाँदा सलाद पनि प्रशस्त खानुस्। यसले मासुलाई पचाउन सहयोग गर्छ।
दीर्घरोगीहरूले त खानपानमा झनै बढी विचार पुर्याउनु पर्छ। खाना व्यवस्थापनसँगै शरीरलाई व्यायाम पनि आवश्यक छ। चाडपर्व भनेर अल्छी नबन्नुस्। व्यायाम गर्नुस्। हिँड्नुस्। दौडधुप गर्ने समय नभए घरैमा व्यायाम गर्नुस्। घर, करेसाबारी र बगैँचा आदिमा व्यस्त रहनुस्। परिश्रम गर्नुस्।
चाडबाडको बहानामा ढिलो खाने नगर्नुस्। खाना खाएको २ घण्टा नसुत्नुस्। ढिलो खाँदा कोलेस्ट्रोलको समस्या हुने र शरीरमा बोसो लाग्ने सम्भावना धेरै नै हुन्छ । चाडपर्वमा खाएपछि शारीरीक व्यायाम गर्न एकदमै आवश्यक रहन्छ।
अचेल हामी आधुनिक हुने नाममा पश्चिमाहरूको अन्धाधुन्द अनुकरणमा लागिपरेका छौँ। चाडपर्व वा कुनै पनि जमघटमा कोक, फ्याण्टा, वियर, वाइन खानैपर्छ भन्ने मान्यता विकास भएको छ। पूर्वीय सभ्यतामा महत्त्व रहेको दूध, दही मोहीलाई पन्छाएर बजारमा पाइने चिसो पेय पदार्थमा हामी लोभिएका छौँ। यो एकदमै गलत हो। बजारबाट ल्याएका चिसो पेयभन्दा बरु घरमै बनाएको कागतीपानी उपयुक्त हुन्छ।
दशैँजस्ता चाडपर्वमा स्वास्थ्य रक्षा गर्न यी कुरामा ध्यान दिनैपर्छ। नभए चाडपर्व सकिनेवित्तिकै अस्पतालको यात्रा गर्नु र शरीरमा दीर्घरोग निम्त्याउनुको विकल्प रहँदैन।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा