Health TV Online
Health TV Online
Health TV Online

भ्रमकाे पछि नलाग्नुस्, शुरूकाे चरणमा पत्ता लागे निकाे हुन्छ क्यान्सर

भ्रमकाे पछि नलाग्नुस्, शुरूकाे चरणमा पत्ता लागे निकाे हुन्छ क्यान्सर

क्यान्सर भएपछि मृत्यु हुन्छ भन्ने भ्रम हाम्रो समाजमा व्याप्त छ। यो गलत हो। सुरुवातको अवस्थामा पत्ता लाग्यो भने क्यान्सर निको हुन्छ। क्यान्सर भएको हो कि होइन भन्ने यकिन गर्ने एउटा प्रविधि छ। जसलाई ‘बायोप्सी’ भनिन्छ। शरीरको कुनै अंगको मासुको टुक्रा निकालेर जाँच गरिन्छ।

कतिपयमा त बायोप्सी नै गर्नु हुँदैन, यसो गर्दा क्यान्सर फैलिन्छ भन्ने पनि भ्रम छ। क्यान्सरको पत्ता लगाउन  बायोप्सी गर्नैपर्छ। यो गरेपछि मात्र क्यान्सरको उपचार प्रक्रिया अघि बढ्छ। तर बायोप्सी कस्तो ठाउँमा गर्ने वा कसले गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। यो गर्ने सही ठाउँ र सही व्यक्ति हुनैपर्छ।

‘क्यान्सरको उपचार नेपालमा सम्भव छैन, विदेश जानुपर्छ’ भन्ने धेरैको बुझाइ छ। आजको दिनमा जुनसुकै अंगमा हुने क्यान्सरको उपचार नेपालमै हुन्छ। त्यसैले बाहिर जान आवश्यक छैन।

हाम्रो समाजमा कसैलाई केही रोग लाग्दा यस्तो गर्न हुन्छ, यस्तो हुँदैन भनेर सल्लाह दिने धेरै भेटिन्छन्। क्यान्सर लाग्दा पनि आफन्त, छिमेकी र अन्य चिनजानका मानिसले नकारात्मक टिप्पणी गर्ने, नकारात्मक सल्लाह दिने गर्छन्। उदाहरणका लागि धेरै गुलियो खायो भने क्यान्सर हुन्छ, बढ्छ र निको हुँदैन भन्ने भ्रम छ। बिरामीहरू यसबारे बारम्बार हामीलाई सोध्छन्।

चिनी धेरै खाएर क्यान्सर बढ्ने होइन। अरु नै रोग लाग्छ। त्यसैले जुन पदार्थ पनि ‘लिमिट’मा खाएको राम्रो। क्यान्सर हुने प्रमुख तत्व सुर्तीजन्य पदार्थ हो भन्ने सबैलाई थाहा छ। सुर्तिजन्य पदार्थ खाने मानिसलाई भन्दा नखानेलाई कम मात्रामा क्यान्सर हुनसक्छ। धेरै जनाको धेरैथरी कुरा सुनेर अलमलमा पर्नुभन्दा सम्बन्धित क्षेत्रका विज्ञको कुरा सुनेर धारणा बनाउनु वा त्यसअनुसारका क्रियाकलाप गर्नु राम्रो हो।

कतिपयमा विभिन्न किसिमका जडिबुटीले  क्यान्सरको  उपचार हुन्छ भन्ने भ्रम पालेर उपचार नै  गर्दैनन्।  क्यान्सर भर्खर शुरु भएको अवस्थामा नानाथरीका जडिबुटी सेवन गर्ने अनि रोग बढेपछि मात्र अस्पताल आइपुग्ने गरेको धेरै ‘केस’ देखिन्छ। गौमुत्र अर्थात् गहुँत वा जमराको रसले क्यान्सर निको हुन्छ भन्ने पनि पाइएको छ। कतिपय चाहिँ क्यान्सरको उपचार प्रक्रिया जटिल हुने र धेरै सास्ती भोग्नुपर्ने भन्दै यस्ता उपचारमा अल्मलिएर बस्ने गरेको पनि पाइन्छ। हाे सबै उपचारकाे आ आफ्नै महत्व हुन्छ तर विशेषज्ञसँग सल्लाह लिएर मात्र अघिबढ्नुपर्छ ।

‘क्यान्सरको उपचारमा गरिने ‘केमोथेरापी’ले निकै गाह्रो हुन्छ। यसले मानिसलाई छिटै मार्छ’ भन्ने भ्रम पनि फिँजिएको छ। क्यान्सरको उपचार पद्धतिमध्ये केमोथेरापी पनि एक हो। औषधिको रूपमा शरीरमा केमोथेरापी दिइन्छ। त्यो औषधिले काम गर्ने सम्भावना सय जनामा ३० देखि ४० जनामा मात्र हुन्छ। कसैलाइ धेरै राम्रो गर्छ कसैलाई गर्दैन तर यसले हानी गर्ने वा छिटो मार्ने भन्ने हुँदैन ।

कुनै कुनै बेला ५० देखि ६० प्रतिशत काम गर्ने हुन्छ। अन्तिम अवस्थामा प्रयोग हुने केमोथेरापी निकै कडा हुन्छ। यसको विकल्प पनि छैन। केही पीडा त सहनैपर्छ तर समाजमा भनिनेजस्तो मान्छे नै मर्छ भन्ने भनाइ गलत हो। केमोथेरापी क्यान्सर भएका मानिसलाई मार्न होइन, बचाउन गरिने हो उपचार हाे।

दैनिक खानपानमा ध्यान दिने, नियमित जाँच  र शारीरीक व्यायाम गरेर ५० प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ । स्वस्थ रहनको लागि वर्षको एकपटक जँचाउनैपर्छ। लक्षण देखिनु अघि नै पत्ता लगाउन सकियो भने यो रोग निको पार्न सकिन्छ । तेस्रो चौथो अवस्थामा पुगेको पनि  निको भएका छन्।  हामी सबैलाइ थाहा छ क्यान्सर एउटा दीर्घरोग हो। तर समयमा उपचार गरेमा  यसबाट मुक्त हुन सकिन्छ।

भिडियो:

  • डा.सुदिप श्रेष्ठ

    क्यान्सर रोग विशेषज्ञ डा.श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष हुन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?