Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘आयुर्वेदबाटै पूरा हुन सक्छ समृद्धिकाे सपना’

‘आयुर्वेदबाटै पूरा हुन सक्छ समृद्धिकाे सपना’

हिजोआज एलोप्याथी चिकित्सा पद्धतिभन्दा प्राचीन आयुर्वेद उपचार पद्धतितर्फ मानिसको आकर्षण बढेको छ। नेपाल आयुर्वेदको भूमि हो। प्राचीनकालमा ऋषिमहर्षिहरूले यहीँका जडिबुटीको प्रयोग गरेर आयुर्वेद उपचार पद्धतिको विकास गरेका थिए। त्यो कुराको बोध गरेर आज हामी यो उपचार पद्धतिप्रति आकर्षित हुनु राम्रो कुरा हो।

नेपालमा माइनस १० देखि ४४ डिग्रीसम्मको तापक्रम पाइन्छ। ६ हजार पाँच सय भन्दा बढी फलफूलको प्रजाति हाम्रो देशमा पाइन्छ। ४ हजार फूल नफुल्ने प्रजाति पनि हाम्रो देशमा पाइन्छ। उपचारका लागि प्रयोग हुने विविध किसिमका जडिबुटी हाम्रै वनपाखामा पाइन्छ। १८ सय जति वनस्पति आयुर्वेदमा प्रयोग हुन्छ।

अहिले विद्यार्थीको पनि रोजाइमा पर्न थालको छ, आयुर्वेद। एएचए (आयुर्वेद हेल्थ एसिस्टेन्ट) पढाइ सीटीईभीटीबाट अनुमति प्राप्त गरी पढाइने विषयमध्ये एक महत्वपूर्ण विषय हो। एसईईमा सी ग्रेडसम्म ल्याएका विद्यार्थीले यो पढ्न पाउँछन्। यो विषय पढ्न अंग्रेजी, विज्ञान र गणितमा कम्तीमा दुई जीपीए प्राप्त गर्नुपर्छ।

एएचए विषयमा विद्यार्थीले पहिलो वर्ष विज्ञानमा मात्र केन्द्रित भई पढछन्। दोस्रो वर्षदेखि आयुर्वेदको विषयगत पढाइ हुन्छ। आयुर्वेद पढाइको यो मूलढोका सरह छ। यो कोर्स गरेपश्चात् जडिबुटीलाई प्रशोधन गर्नसक्ने क्षमता अभिवृद्धि हुन्छ। यो तह पार गरेपछि विभिन्न क्षेत्रमा जान सकिन्छ। सरकारी सेवामा पनि विभिन्न अवसर छन्। यो तह पूरा गरेपछि बीएमएस, बी फर्मा, बीपीएच जस्ता विषयमा जाने बाटो पनि खुल्छ।

आयुर्वेदलाई सर्वसुलभ वा विश्वव्यापी बनाउने हो भने हाम्रो देशका तीनै तहका सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। स्थानीय र प्रादेशिक तहमा यसको पढाइ, रिसर्च सेन्टर तथा प्रशोधन केन्द्र स्थापनामा जोड दिनुपर्छ। ठाउँअनुसार जडिबुटी खेतीलाई बढावा दिने खालका कार्यक्रमका लागि बजेट छुट्याउनुपर्छ।

यहाँ उत्पादित औषधिलाई अन्तर्राष्ट्रिय स्तरमा बजार खोज्ने काम पनि शुरु गर्नुपर्छ। आयुर्वेदको पढाइ गुणस्तरीय र विश्वसनीय बनाउने हो भने विदेशका विद्यार्थी पनि यहाँ भित्र्याउन सकिन्छ।आयुर्वेदको विकास विस्तारका लागि राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा गोष्ठी, सेमिनार आवश्यक छ।

हाम्रा गाउँघर वनपाखामा रहेका जडिबुटीको पहिचान गरी यसको खेती, प्रशोधन र बजार विस्तारमा ध्यान दिने हो भने रोजगारीका लागि वर्सेनि हजारौँ युवा विदेश गइरहनै पर्दैन। जडिबुटी उत्पादन गरेर विश्वबजारमा पुर्याउन सके हाम्रो पहिचान पनि कायम हुन्छ। सरकारले लगाउँदै आएको समृद्धि नारा आयुर्वेदबाटै प्राप्त हुन्छ।