Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वस्थ रक्तसञ्चार प्रणालीका लागि योग तथा प्राकृतिक चिकित्सा

स्वस्थ रक्तसञ्चार प्रणालीका लागि योग तथा प्राकृतिक चिकित्सा

शरीरमा अटुट रूपमा बगिरहने रगत नै हाम्रो बाँच्ने आधार हो। त्यसैले रक्तप्रणाली हाम्रो जीवन हो। मुटु रक्तनलीका र रक्तकोशिकाहरू नै यो प्रणालीका रूप हुन् भने शोषण, निस्कासन र पाचन आदि शरीरका सम्पूर्ण प्रणाली रक्तसञ्चार प्रणालीसँग सम्बन्धित हुन्छन्। त्यसैले हामी रक्तसञ्चारको प्रणालीलाई स्वस्थ्य राख्न चाहन्छौँ भने शरीरका सबै अंग स्वस्थ राख्नुपर्छ। यी सम्पूर्ण अंगलाई स्वस्थ राख्न योग तथा प्राकृतिक चिकित्साले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।

योग पूर्वीय संस्कृतिको प्राचिन विज्ञान हो। स्वास्थ्य पनि मानसिक शान्ति प्रदान गर्न सक्ने गुणले गर्दा यो वर्तमान आधुनिक संसारमा पनि फैलिरहेको छ र लोकप्रियता पाइरहेकै छ। विभिन्न प्रकारका योग विधिहरू छन्। अहिले हामी शारीरिक स्वस्थताको निमित प्रयोग गरिने योगका बारेमा चर्चा गर्दैछौँ। योगका आठ अङ्गमध्ये आसन प्राणायाम र ध्यानले शरीर र मनका अवस्थामा विशेष प्रभाव राख्छन्।

योगासनले मांसपेशीहरूलाई नरम र व्यवस्थित पार्छ। निष्कासन अंगहरूको कार्यक्षमतामा वृद्धि ल्याँउछ र मुटुलाई शक्तिशाली बनाँउछ। स्वस्थकर खानपिनको साथै नियमित रूपमा उचित योगासन गर्ने हो भने हामी घातक हृदयरोगबाट बच्न सक्छौँ र हाम्रो रक्तनलीहरू कठोर हुन पाउँदैनन्। प्राणायामले फोक्सोको कार्यक्षमता बढाउनुका साथै रक्त शुद्ध बनाउने र हृदयलाई शान्त राख्ने गर्छ।

हृदय र रक्तनलीसम्बन्धी विभिन्न रोगग्रस्त व्यक्तिहरू, जो तनाव पैदा गर्ने कुरा अथवा आकस्मिक दुर्घटनाका विषयमा सुन्न सक्दैनन् र रोगले अझ बढी सताँउछ, त्यस्ता व्यक्तिलाई के सल्लाह दिइन्छ भने नियमित रूपमा प्राणायाम ध्यान र योगासनको अभ्यास गर्नुस्।

ध्यानले मानसिक तनाव हटाई मन मस्तिष्कलाई शाान्त र आनन्दित पार्ने हुनाले रक्त प्रणालीमा यसको अझ बढी महत्त्व छ किनभने बढ्दो तनावले कुनै पनि व्यक्तिको हृदय र स्नायु कमजोर बन्छ। साथै रक्तसञ्चारमा अत्यधिक दवाब पर्न जान्छ। प्राणायाम र ध्यानको अभ्यास नियमित रूपमा गर्दा धैर्य साहस र आध्यात्मिक शक्ति प्राप्त हुन्छ। त्यसैले हृदय र रक्तनलीसम्बन्धी विभिन्न रोगग्रस्त व्यक्तिहरू, जो तनाव पैदा गर्ने कुरा अथवा आकस्मिक दुर्घटनाका विषयमा सुन्न सक्दैनन् र रोगले अझ बढी सताँउछ, त्यस्ता व्यक्तिलाई के सल्लाह दिइन्छ भने नियमित रूपमा प्राणायाम ध्यान र योगासनको अभ्यास गर्नुस्।

तर याद गर्नुस्, यी कुराहरूबाट शाारीरिक तनाव थकान र मानसिक श्रमको अनुभव भने कति पनि हुनु हुँदैन। अनुभवी योग विशेषज्ञ वा चिकित्सकसँग सम्पर्क राखी मात्र योगासन वा व्यायाम एवं ध्यान आदिको अभ्यास गर्नुहोस्। कतिपय व्यक्तिहरू सामान्य जानकारीको आधारमा गर्छन्। तर अल्पज्ञानको आधारमा जथाभावी वा बुझ्दै नबुझी अभ्यास गर्दा त्यसले लाभको सट्टा ठूलो समस्या थपिन पनि बेर लाग्दैन।
हृदयको कार्यक्षमता बढाउन रक्तलाई शुद्ध राख्न र रक्तनलीलाई स्वस्थ राख्नका निम्ति प्राकृतिक चिकित्सामा पनि अनेकौँ विधि छन्।

रोग लागिसकेपछि निवारणका लागि मात्र नभई स्वस्थ अवस्थामा रोगबाट बच्नका लागि समेत प्राकृतिक चिकित्सा प्रभावकारी छ। प्राकृतिक चिकित्सा अन्तर्गत जलचिकित्साका विभिन्न विधि जस्तै ‘स्टिम बाथ’, ‘हिप बाथ’, ‘स्पाइनल बाथ’ धारापात आदिले छाला एवं विभिन्न ग्रन्थीहरूको निष्कासन क्षमता बढाँउछ र स्नायुविक सबलता प्राप्त हुन्छ। फलस्वरुप रक्तविकार हट्छ र स्फूर्ति प्राप्त हुन्छ।

मृत्तिका चिकित्साका विभिन्न तरिकाहरू सूर्यकिरण चिकित्सा निराहार चिकित्साका विविध माध्यमले समग्रमा सम्पूर्ण शरीरलाई स्वस्थ राख्न मद्दत पुग्छ र पाचन प्रणालीका समस्याहरू (जस्तै कब्जियत, ग्याष्ट्रिक, अपच आदि जसले रक्तविकार पैदा गर्छ। मृगौला र फोक्सोका रोगहरू जसले रक्त शुद्ध हुन बाधा पुर्याँउछ आदिलाई) ती प्राकृतिक उपचारका विधिहरूले हटाउँछन्।

प्राकृतिक उपचार सबभन्दा महत्त्वपूर्ण माध्यम हो। हृदय रोगबाट बच्नका लागि पनि जथाभावी खानु हुँदैन। बोसो एंव चिल्लोयुक्त खाना अप्राकृतिक र विकृत भोजन मद्यपान, धूमपान, रेशा चोकर एंव पोषणरहित अस्वस्थकर ‘फास्ट फूड’को अत्यधिक प्रयोग अत्यधिक वा बेसमयको खानपान जस्ता खानाका बेनियमहरूले गर्दा रक्त अशुद्धि हुन जान्छ। रगतमा चिल्लो तत्त्व अर्थात् कोलेस्ट्रोल वृद्धि हुनुको कारण पनि यस्तै जथाभावी खानपान र श्रमको अभाव हो। दूध ताजा हरिया सागपात, रसदार फलफूल, अंकुरित गेडागुडीहरू, चोकर समेतका खानाहरू सलाद आदिको प्रयोग गर्यौँ र उचित व्यायाम गर्यौ भने हामी धेरै रोगबाट बच्न सक्छौँ।

व्यायामलाई दुई भागमा विभाजन गर्न सकिन्छ। पहिलो छिटो छिटो गर्ने व्यायाम र दोस्रो ढिलो रूपमा गरिने व्यायाम, सुस्त व्यायमलाई प्राय जसो उमेर ढल्के पनि गर्न सकिन्छ। जस्तै– योगासन वा ताइ ची चिनियाँ व्यायाम। यो वृद्ध व्यक्तिका लागि पनि त्यतिकै लाभदायक हुन्छ। युवावर्गले छिटो छिटो गर्ने खालका व्यायामहरू मन पराउने गरेका छन्।

शारीरिक सुगठन पनि प्रचलित छ तर स्थायी स्वस्थताको लागि योगासन नै उचित हुन्छ। साथै संगीतका तालामा गरिने ‘एरोबिक्स’ तथा ‘अक्वाडायनेमिक्स’ व्यायाम पनि राम्रै हुन्छ किनभने यिनीहरूले मानसिक आनन्द दिनुको साथै हृदय एवं फोक्सोको कार्यक्षमता पनि बढाउँछन्। आखिर जे होस हामीले ढिलो या छिटो गर्ने दुवै खाले व्यायाम गर्न सक्छौँ। तर आफ्नो शारीरिक तौल रक्तचाप उमेर र हृदय लगायत अन्य प्रमुख अंगहरूको अवस्थालाई विचार गरेर मात्र व्यायामको छनोट गर्नु बुद्धिमानी हुन्छ। हृदयरोगी र उच्च रक्तचापले पीडित व्यक्तिहरूलाई भने व्यायामको साथसाथै आराम पनि आवश्यकता पर्छ। उनीहरूका लागि विशेष प्रकारको योगासन लगायत प्रातः भ्रमण धेरै राम्रो हुन्छ।

हामीले २४ घण्टामा एक घण्टा त आफ्नो स्वास्थ्यको लागि अवश्य दिनैपर्छ। स्वास्थ राम्रो नभए जीवन कष्टमय हुन्छ। तसर्थ माथि उल्लेख गरिएका कुराहरूमा सजग हुनुस् र जीवनमा त्यसलाई लागु गर्नुस् अनि तपाईँ स्वस्थ मुटु लिएर आनन्दसँग बाँच्न सक्नुहुनेछ र शान्तसँग व्यक्तित्व विकास गर्न सक्नुहुनेछ।

यो लेख सुनिल चन्द्र झाको ‘डाक्टर साहेब भन्नुहुन्छ’ पुस्तकबाट साभार गरिएको हो।