आज धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : आज धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस । देशभर यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको उत्पत्ती भएको दिनका रुपमा प्रत्येक वर्ष कार्तिक त्रयोदशीका दिन यो दिवस मनाउने गरिन्छ ।
दिवसको अवसर पारेर आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पत्रकार अन्तरक्रिया गर्दै आयुर्वेदका विविध पक्षका वारेमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गरिएको कार्यक्रममा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले अझै पनि आयुर्वेद जडीबुटी मात्र हो भन्ने आम बुझाई रहेको भन्दै आयुर्वेद जडीबुटी मात्र नभएर यो व्यक्तिलाई कसरी स्वस्थ राखिरहने भन्ने कला सिकाउने विज्ञान भएको जनाए ।
उनले आयुर्वेदले एक जना व्यक्तिलाई निरोगी हुनका लागि अपनाउनपर्ने जीवनशैलीको वारेमा ज्ञान दिई सो अपनाउनतर्फ उन्मुख गराउने र रोग लाग्नैबाट बच्ने उपाय सिकाउने कला भएकाले यसलाई सबैले बुझ्नुपर्नेमा जोड दिए । डा उपाध्यायले भने, ‘अस्पताल मात्र धेरै खाल्दैमा निरोगी नेपाल बनाउन सकिंदैन, त्यसका लागि स्वस्थ जीवनशैली अपनाउन नागरिकलाई प्रेरित गर्न जरुरी छ । जुन कुरा आयुर्वेदमा सम्भव छ । बाल्यकालदेखि नै योग, ध्यान, शारीरिक व्यायाम, उचित आहार विहार जस्ता कुराहरु सिकाउँदै जाने हो भने धेरै जसो नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ, उनले थपे ।’
कार्यक्रममा सहभागी विभागका चिकित्सकहरुले आयुर्वेद चिकित्सा नेपालको मौलिक चिकित्सा पद्धति भएको भन्दै यसलाई अवलम्बन गर्दै आफूलाई स्वस्थ राख्न सबैले पहल गर्नुपर्नेमा जोड दिएका थिए । यसका साथै आयुर्वेदमा अनुसन्धान पनि कम भएको भन्दै यसमा पनि जोड दिन आग्रह गरे ।
आयुर्वेद विभागले देशभर नागरिक आरोग्य कार्यक्रम अन्तर्गत विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, स्वस्थ जीवन कार्यक्रम, जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रर्वधन कार्यक्रम, मातृ शिशु सुरक्षार्थ औषधी वितरण कार्यक्रम जस्ता वृहत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसका साथै एक वर्षभित्र सातै प्रदेशमा व्यायामशाला बनाउने योजना रहेको जनाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’