Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बहुगुणी अमिलो फल कागती, यस्ता छन् फाइदा

बहुगुणी अमिलो फल कागती, यस्ता छन् फाइदा

भिटामिन सीको मुख्य स्रोत मानिने कागतीलाई आन्तरिक एवं बाह्य स्वास्थ्य रक्षाका लागि महत्त्वपूर्ण मानिन्छ। कागतीमा ‘सिट्रोन’ नामक पदार्थका साथै क्यारोटिन र साइटिन अम्ल पाइन्छ, जसमा विविध रोग निर्मूल गर्ने शक्ति हुन्छ।

कागती रुचिकारक, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं सौन्दर्यवर्धक फल हो। यसलाई विभिन्न उपचारमा समेत प्रयोग गर्न सकिन्छ। यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ। कागतीको सेवन ठीक तरिकाले गरे मात्र फाइदा लिन सकिन्छ।

कागतीको रसलाई मुलाको रससँग नुन मिसाएर सेवन गर्नाले शारीरिक बनावटमा सुन्दरता प्राप्त गर्न सकिन्छ। अनुहारमा डण्डीफोर हटाएर कान्ति ल्याउन कागती पानी प्रशस्त मात्रामा पिउनुपर्छ। पेट पोल्ने रोगका लागि मरिच र नुनको साथमा कागतीको रस खानाले फाइदा पुग्छ। पेटमा ग्यास भरिएको अनुभव भएमा एक ग्लास पानीमा विरेनुन वा सिँधेनुन र जिराको धुलो राखेर पिउनाले आराम हुन्छ।कागतीको बियाँलाई पिसेर पानीसँग मिसाएर खाँदा पेटमा पर्ने जुका र चुर्ना नाश हुन्छन्।

कागती पानीको नियमित सेवनले रक्तसञ्चारमा सहयोग पुर्याउनुका साथै रगत सफा र शुद्ध पार्छ र हृदयशक्ति बढाउँछ। कागतीको रसमा जिराको धुलो राखेर पिउनाले फाइदा पुग्छ। साथै सवारी साधनमा लामो यात्रामा बान्ता हुनेहरूले कागतीको सिंगै दाना साथमा राख्नुपर्छ। बान्ता होला जस्तो भएमा सुँघ्नाले पनि फाइदा पुग्छ।

खाली पेटमा बिहानै कागतीको रस राखेर नियमित पिउनाले पुरानो कब्जियत समेत हट्छ। साथै यसले मोटोपन घटाउन समेत मद्दत गर्छ।

यसैगरी अन्य धेरै रोगमा यसको प्रयोग गर्न सकिन्छ। गर्मीयाममा अरूचि भएमा खानामा कागतीको रस राखेर खाँदा रूचि बद्छ। कागतीको रसमा सख्खर राखेर खानाले बाडुली रोकिन्छ। कागतीको रसमा चिनी राखेर पिउनाले पित्तरोगलाई फाइदा पुग्छ।

अदुवाको धुलोमा कागतीको रस मिसाएर लेप लगाउनाले दाद र छाला चिलाउने रोग नाश हुन्छ। कागतीले शरीरमा भएका दूषित पदार्थ बाहिर निकाली आन्तरिक शक्तिमा वृद्धि गराउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।