Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नखानुस् ‘अत्यधिक प्रशोधित’ खाना : स्वास्थ बिग्रिन्छ, आयु घट्छ

नखानुस् ‘अत्यधिक प्रशोधित’ खाना : स्वास्थ बिग्रिन्छ, आयु घट्छ

तपाईँले कस्तो खाना खाइरहेको छु भन्ने जान्नुभएको छ?

के तपाईँलाई आंशिक रूपमा प्रशोधित र अत्यधिक प्रशोधन गरिएको खानामा भएका भिन्नताबारे थाहा छ? अनि तिनले के फरक पार्छ भन्ने ज्ञान छ?

‘प्रशोधित खाना’ भन्ने शब्दावली हिजोआज चलनमा छ। फ्रान्स र स्पेनमा गरिएका दुईवटा अध्ययनले त्यस्ता खानाको सम्बन्ध स्वास्थ्यमा असर पार्नुका साथै अल्पायुमै ज्यान जान सक्ने देखाएको छ।

उक्त अध्ययनले दैनिक रूपमा १० वर्षसम्म प्रशोधित खानाको चार अंशसम्म खाने मानिसलाई हेरेको थियो। उनीहरूमा मृत्युको जोखिम दैनिक एक अंश वा कम प्रशोधित खाना खानेभन्दा ६२ प्रतिशत बढी हुने देखिएको छ।

अनि थप एक उच्च प्रशोधित खानाको अंश थप्दा मृत्यु हुने सम्भावना १८ प्रतिशतले बढ्ने देखिएको छ। उच्च प्रशोधित खानासँग जोडिएको अर्को नराम्रो असर भनेको हृदयाघात वा स्ट्रोक हुने धेरै जोखिम रहनु हो।

यस्तो थाहा हुँदाहुँदै पनि ब्रिटेनजस्ता केही मुलुकमा मानिसहरू आफ्ना लागि आधाभन्दा बढी क्यालोरी उच्च प्रशोधित खानाबाटै पाउँछन्।

त्यसो भए हामीले निकै जोखिमपूर्ण खानालाई हाम्रो भोजनमा कसरी समेट्दै तिनको गुणस्तर बढाउने?

खानाका वर्ग

कुन कुरा के हो भन्ने थाहा पाउने काम निकै गाह्रो हो। कहिलेकाहीँ चीज र ताजा पाउरोटीलाई पनि प्रशोधित वर्गमै राखिन्छ। तिनले समेत स्वास्थ्यमा उस्तै जोखिम सिर्जना गर्छन्।

ब्रजिलको साउ पाउलो युनिभर्सिटीअन्तर्गत रहको स्कूल अफ पब्लिक हेल्थले नोभा नाम दिइएको एउटा खाद्य वर्गीकरण प्रणाली विकास गरेको छ।

त्यसले हामीले किन्ने खानेकुरालाई चार समूहमा विभाजन गरेको छ। उक्त वर्गीकरणमा प्रशोधन नगरिएकोदेखि उच्च प्रशोधन गरिएका खानेकुरा राखिएको छ।

समूह १ : अप्रशोधित, न्यून प्रशोधित

यी त्यस्ता खानेकुराहरू हुन् जसमा रेसा, भिटामिन र खनिजको मात्रा उच्च हुन्छ। यस वर्गमा ताजा फलफूल, तरकारी, बदाम, गेडागुडी र अण्डा, माछा र दूधजस्ता जनावरबाट उत्पादन हुने पदार्थ छन्।

कम प्रशोधित खानेकुराहरू सुकाउन, जमाउन, भुट्न, उसिन्न वा ‘पास्चराइजेसन’ गरेर राख्न सकिन्छ तर त्यसमा अन्य पदार्थ मिसिएको हुँदैन।

यसमा जमाएर राखिएका फलफूल र तरकारी, माछा र ‘पास्चराइस्ड’ दूध, शतप्रतिशत ताजा फलफूलको जुस, चिनी नमिसाइएको दही, मसला र सुकाइएका बुटीहरू पर्छन्।

समूह दुई : खाना पकाउने प्रशोधित सहयोगी सामग्री

याे वर्गमा तेल, मोटोपनयुक्त बटर, भिनेगर, चिनी र नुन पर्छन्।

यी पदार्थ एक्लै खाइँदैन वा धेरै खाइँदैन। अर्थात् अन्य खानेकुरासँग मिसाएर खाइन्छ।

समूह तीन : प्रशोधित

प्रशोधित खानेकुराहरू खासगरी समूह एक र दुईमा रहने खाद्यपदार्थ मिसिएर बनेका हुन्छन्।

तिनमा सुकाएर वा सेकेर राखिएका मासु, चीज, ताजा पाउरोटी, नुन वा चिनी मिसाइएका बदाम, सिरपमा मिलाएर टिनका बट्टामा राखिने फलफूलहरू, बियर र वाइन आदि पर्छन्।

प्रशोधन गर्नुको मुख्य उद्देश्य खानाको आयु वा स्वादलाई लामो समयसम्म राख्नु हो।

समूह चार : अत्यधिक प्रशोधित

अत्यधिक प्रशोधन गरिएका खानेकुरामा प्रयोग हुने सामग्रीहरू हामीहरूले घरमा पकाउने खानेकुरामा प्रायस् प्रयोग गर्दैनौँ।

तपाईंँ ती सामग्रीको नाम पनि नजान्न सक्नुहुन्छ किनकि तिनमा धेरै रसायन, रङ, गुलियोपन र धेरै समय जोगाउन विशेष पदार्थ हुन्छन्।

विकसित विश्वमा दैनिक खानपानमा प्रयोग हुने अत्यधिक प्रशोधन हुने खानाहरू यस्ता छन्–

औद्योगिक उत्पादनका पाउरोटी

पहिल्यै प्याकेटमा राखिएका खाना

बिहान खाजामा प्रयोग हुने खाद्यान्न

ससेज र अन्य प्रशोधित मासु

चकलेट

बिस्कुट

पेस्ट्री र केक

औद्योगिक उत्पादनका चिप्स

सफ्ट ड्रिङ्स र फलफूलका जुस

नुनिला स्न्याक्स

प्रशोधित चटनी

रसायनमा राखिएका गेडागुडी र सुप

विभिन्न खालका मासु

सोयबिनका उत्पादन

दुग्ध उत्पादन

कुन खानेकुरा अत्यधिक प्रशोधन गरिएको हो भनेर थाहा पाउने काम सहज छैन। किनकि बनाउने तरिकाले कहिले त्यही खाना आंशिक रूपमा प्रशोधित हुन्छ भने कुनै प्रशोधित हुन्छ र कुनै अत्यधिक प्रशोधित।

जस्तै : गहुँको पिठो, पानी, नुन र ढुसीलाई प्रशोधित गरेर तयार पारिएको रोटी तर त्यसमा प्रयोग हुने रसायन र रङले त्यसलाई अत्यधिक प्रशोधित गराउँछ

सादा ओट्स, कर्न फ्लेक्स र आंशिक प्रशोधन गरेर रेशादार बनाइएका गहुँका उत्पादन। तर जब त्यसमै उत्पादकहरूले चिनी, स्वाद र रङ्ग मिसाउँछन् ती अत्यधिक प्रशोधित ब्रेकफास्टका खानेकुरा बन्छन्।

सादा दही आंशिक रूपमा प्रशोधन गरिएको हुन्छ। तर गुलियोपन, त्यसलाई संरक्षण पदार्थ वा रङ मिसाएपछि त्यो अधिक प्रशोधित हुन्छन्।

जब खानाको प्रशोधन हुन्छ अध्ययनहरूले देखाएअनुसार त्यसको पोषण कम हुँदै जान्छ। भोक लाग्ने क्रम बिगार्नुका साथै रगतमा हुने चिनीको मात्रामा नकारात्मक असर पार्छ।

जब महत्त्वपूर्ण पोषण तत्त्वहरू हुने अप्रशोधित वा प्रशोधित खानालाई अधिक प्रशोधित खानाले विस्थापित गर्छ तब विभिन्न समस्याहरू शुरु हुन थाल्छन्।

उदाहरणका लागि ब्रिटेनमा एक जना औसत मानिसले खाने ५६ प्रतिशतभन्दा बढी क्यालोरी अत्यधिक प्रशोधित हुने खानाबाट आउँछ।

बीबीसी नेपालीबाट