Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्तनपान नगराएका बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ

स्तनपान नगराएका बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ

डा आरपी चौधरी

हरेक वर्ष अगस्ट १ देखि ७ गतेसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपालमा पनि यो सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाउने गरिएको छ । स्तनपानको महत्वकोबारेमा कुरा गर्दा बच्चाका लागि स्तनपान भनेको अमृत समान हो । भर्खर जन्मेको बच्चाले रोग प्रतिरोधी क्षमता आफै विकास गर्न नसक्ने भएकाले पनि ६ महिनासम्म आमाको दूध मात्र खुवाउँदा त्यही आमाको दूधबाट नै बच्चाले रोगसँग लड्ने क्षमता प्राप्त गर्छ । त्यसैले हरेक आमाले आफनो बच्चालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्छ । अर्को कुरा आमाको दूधमा प्राकृतिक रुपमै बच्चालाई चाहिने मात्रामा फ्याट, प्रोटिन लगायतका सम्पूर्ण सुक्ष्म तत्वहरु पाइन्छन् जुन अन्य फर्मुला दूधमा पाइँदैन्। त्यसैले पनि आमाले प्रकृतिले नै दिएको र बच्चालाई विभिन्न रोग लाग्नबाट जोगाउनका लागि स्तनपान गराउन आवश्यक छ ।

पछिल्लो समय शहरी क्षेत्रहरुमा केही आमाहरूले शिशुलाई स्तनपान नगराउने वा गराएपनि थप खानेकुरा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा समस्या देखिने क्रम बढेको पाइन्छ । शरीर बिग्रने डरले पनि आमाहरुले स्तनपान गराउन हिच्किचाएको पाइन्छ । तर यो सरासर भ्रम मात्र हो । कुनै पनि आमाले बच्चालाई स्तनपान गराउँदा शरीर बिग्रने वा स्तन झोलिने समस्या हुँदैन । स्तनपान गराउन छोडेपछि पुन: स्तन आफनो पहिलेकै सेपमा आउँछ । यो प्राकृतिक कुरा हो । तर धेरैले यो कुरा नबुझेको जस्तो लाग्छ ।

उता स्तनपान गराउँदा आमा र बच्चाको सम्बन्ध पनि निकै मजबुत हुने गर्छ । साथै बालबालिकाले आफुलाई सुरक्षित महसुश गर्छन । आमाहरुले के कुरामा ख्याल गर्नुपर्छ भने स्तनपान गर्न पाउनु बच्चाको पनि हक हो । यसले उसलाई भविष्यमा स्वस्थ रहन सहयोग गर्छ । स्तानपान गराएका र नगराएका बच्चाको तुलना गर्ने हो भने स्तनपान नगरेका बच्चाहरुलाई सानो हुँदै बिरामी परिरहने त छँदैछ पछि ठूलो भइसकेपछि पनि रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा छिटै रोगले समात्ने हुन्छ । उनीहरु शारीरिक रुपमा कमजोर हुन्छन्। बच्चालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुलाई पूर्ण स्तनपान भन्ने गरिन्छ । यो बेला लिटो वा अन्य कुनै पनि दूध खुवाउनुपर्दैन । तर ६ महिनापछि भने आमाको दूधसँगै अन्य खानेकुराहरु पनि खुवाउँदै लैजानुपर्छ । साथै स्तनपान पनि गराउन जरुरी हुन्छ ।

आमाले स्तनपान गराउँदा परिवारमा आर्थिक भार पनि कम हुन्छ । बच्चाका लागि बनाइएको फर्मुला दूध महंगा छन् । यसले यो किनेर खुवाउँदा पैसाको नास त छँदैछ यसले बच्चालाई रोगी समेत बनाइरहेको हुन्छ किन की यस्ता दूधमा चिनीको मात्रा बढी हुने गर्छ । यसले गर्दा बच्चा मोटोपनको शिकार बन्न पुग्छन्।

स्तनपान गराएका आमाहरुमा स्तन क्यान्सरको जोखिम कम हुने कुरा विभिन्न अध्ययनहरुले देखाइसकेका छन्। महिलाले पूर्ण स्तनपान गराउँदा यो समयमा परिवार नियोजनको समेत काम गर्छ । अर्थात गर्भ रहने सम्भावना कम हुन्छ । त्यसैले पनि स्तनपानले बच्चालाई मात्र हैन आमालाई पनि स्वस्थ रहनका लागि सहयोग पुग्ने हुँदा आफनो बच्चाका लागि अमृत सरहको दूध खुवाउन कन्जुस्याइँ नगरौं ।

(डा चौधरी वरिष्ठ बाल रोग विशेषज्ञ तथा ईशान बाल तथा महिला अस्पतालका कार्यकारी निर्देशक हुन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।