क्षयरोग भएको कसरी थाहा पाउने, कस्ता हुन्छन् लक्षण ?

हेल्थ टिभी अनलाइन : क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । क्षयरोग जुनसुकै उमेरकालाई र जुनसुकै समूहका व्यक्तिलाई पनि हुनसक्छ । तर बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी जसको रोगसँग लड्ने क्षमता कम हुन्छ उनीहरु, बढी भिडभाडमा बसोबास गर्ने व्यक्ति, परिवारमा कसैलाई क्षयरोग भएमा, पोषणको कमी भएका व्यक्तिमा अझ बढी यो रोग लाग्ने सम्भावना हुन्छ ।
क्षयरोग खासमा दुई किसिमको हुन्छ । पहिलो पल्मोनरी ट्युबरकुलोसिस, जुन फोक्सोमा लाग्छ । यसलाई फोक्सोको क्षयरोग भनिन्छ । सबैभन्दा धेरै ७० देखि ८० प्रतिशत फोक्सोको क्षयरोग भएको पाइन्छ । जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । अर्को एक्स्ट्रा पल्मोनरी ट्युबरकुलोसिस, फोक्सो बाहेकका अंगमा लाग्ने क्षयरोग जुन मस्तिष्क, फोक्सोको बाहिरी झिल्ली, ग्लान्ड आदीमा देखिन्छ । यस्ता क्षयरोगीको संख्या २० देखि ३० प्रतिशत छ । यो क्षयरोग भने एक अर्कोमा सर्दैन ।
क्षयरोगका लक्षण कसरी थाहा पाउने ?
फोक्सोको क्षयरोग हुँदा निम्न लक्षण देखिन सक्छन्। अन्य क्षयरोगको लक्षण कुन अंगको क्षयरोग हो त्यसमा भर पर्छ । अर्को कुरा ७० प्रतिशत क्षयरोगमा लक्षण नै नदेखिन पनि सक्छ । धेरैमा फोक्सोकै क्षयरोग हुने भएकाले फोक्सोमा लाग्ने क्षयरोगको लक्षण यस प्रकार हुन्छन्
-दुई हप्तादेखि लगातार खोकी लाग्नु
-खोक्दा छाती दुख्नु
-साँझपख ज्वरो आउनु
-दुब्लाउँदै जानु
-शरीरको तौल घट्दै जानु
-खकारमा रगत देखिनु
-राति पसिना आउनु
-कमजोर हुँदै जानु
-खान मन नलाग्नु
-सास फेर्न गाह्रो हुनु
यस्ता लक्षण देखिएमा क्षयरोगको शंका गरेर स्वास्थ्य संस्थामा गएर क्षयरोग भए नभएको जाँच गर्न आवश्यक हुन्छ । यदि हड्डीमा क्षयरोग भएको खण्डमा हड्डी दुख्ने, सुन्निने, छाला रातो हुने हुन सक्छ भने पेटको क्षयरोग भएमा पखाला लागिरहने, दिमागको क्षयरोग भएमा वाकवाकी लागिरहने आन्द्रामा भएको भएमा खाना कम रुच्ने, कब्जियत हुने जस्ता लक्षण देखिन थाल्छन् । क्षयरोग नियमित औषधी खाएमा निको हुने रोग हो । त्यसैले शंका लागेमा जाँच गरेर औषधी सेवन गरेर रोगबाट मुक्त हुन सकिन्छ ।
डा नविन प्रकाश शाहसँग कुराकानीमा आधारित :
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै